Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

सांसदको प्रश्न : लोक सेवा, प्रहरी र सेनाले सक्ने शिक्षक आयोगले किन नसक्ने ?

आइतबार, ३१ भदौ २०७५

काठमाडौं - शिक्षक सेवा आयोगले लिन लागेको खुल्ला शिक्षकको परीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै हुम्लाका सांसद छक्कबहादुर लामाले विरोध गरेका छन् । आईतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद लामाले पिछडिएको क्षेत्रको विशेष अवस्थालाई ध्यान दिएर परीक्षा सीमकोटमै हुने ब्यवस्था मिलाउन माग गरेका हुन् । 

आगामी असोज ११, १२ र १३ गते आयोगले लिन लागेको परीक्षाका लागि हुम्लाको केन्द्र सुर्खेत तोकिएको छ । जस अनुसार आयोगले आवश्यकीय तयारी सकेको जनाएको छ । तर यो केन्द्र निर्धारण हुम्लाका परीक्षार्थीका लागि सहज नभएको लामाको तर्क छ । सडक सञ्जालले नजोडिएको अवस्थामा भारतीय पर्यटकहरुको चाप धेरै भएकोले हुम्लाका परीक्षार्थी सुर्खेत सम्म आउने सम्भावना नै नभएको उनले बताए । 

'लोक सेवा आयोग, प्रहरी सेना सबैले जाँच लिन सक्ने शिक्षा आयोगले किन मिलाउन नसक्ने ?' प्रश्न गर्दै उनले माग गरे, 'लाग्ने खर्च हामी आफैंले बेहोर्छु हेलिकोप्टरको भाडा हामी आफैंले बेहोर्छु शान्ति सुरक्षाको काम पनि गर्छु भन्दा खेरी पनि शिक्षा आयोगले मानेको छैन यसमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस् ।' 

पिछडिएको क्षेत्र र वर्गको हितको निम्ति वामपन्थी सरकारले काम गर्नै पर्ने उनको माग छ । 

हुम्लामा ५५९ परीक्षार्थी रहेको आयोगले जनाएको छ । यस अघि पनि हुम्लाकी सांसद रंगमती शाहीले पनि संसद बैठकमा उक्त माग गरेकी थिईन् । सांसदहरुले यसबारेमा आयोगका पदाधिकारीलाई भेरेरै लविङ् गरेका छन् । तर आयोगले सुरक्षा र हुम्लामा अन्य जिल्लाबाट पनि फारम भर्ने विद्यार्थी भएकोले त्यहाँ केन्द्र राख्न नसकिने तर्क गर्दै आएको छ ।  

 

प्रतिक्रिया