Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

शून्य दरबन्दीमै निरन्तर उत्कृष्ट

सोमबार, ०१ असोज २०७५

काठमाडौं १ असोज / कतिपय विद्यालयले बन्द हड्तालको खबर सुन्नेबित्तिकै विद्यालय सञ्चालन गर्दैनन् । तर प्यूठानको झिमरुक गाउँपालिका ३ आहालखोलास्थित प्रभात माविका शिक्षकलाई बन्द, हड्तालको खबर सुन्दा चिन्ता हुन्छ । उनीहरू सकभर विद्यालय बन्द गर्ने पक्षमा उभिँदैनन् । 

अन्नपूर्ण पोष्टमा जिल्लाकै अब्बल बन्यो प्रभात मावि शिर्षकमा छापिएको खबर अनुसार एकदिन पनि विद्यालय नखुल्दा पठनपाठनमा धेरै असर पर्ने उनीहरूको अनुभव छ । विद्यालयको सामान्य पक्षलाई समेत ख्याल नगर्दा धेरैजसो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कने गरेको छ ।

शिक्षकहरूले ‘सुत्केरी स्याहार’ विदा लिएर घरमा बस्दैनन् । उनीहरूलाई घरकै भन्दा धेरै पिरलो विद्यालय परिवारकै हुने गर्छ । ‘१५ दिन विद्यालयले सुत्केरी विदा दिएको थियो’, शिक्षक सिद्धिमान खड्काले भने, ‘तर मलाई बस्न मन लागेन ।’ घर परिवारलाई श्रीमतीको हेरचाह गर्न लगाएर आफू निरन्तर विद्यालय हाजिर हुने गरेको उनले सुनाए । शिक्षकहरू आफूले पाउने वार्षिक विदा फ्रिज गरेरै पढाउने गर्छन् ।

त्रैमासिक परीक्षामा विद्यार्थीहरूले लिएको प्राप्तांकको आधारमा विद्यालयले रोल नम्बर कायम गर्ने गर्छ । यसले विद्यार्थीमा थप मेहनत गरेर पढ्ने बानीको विकास गराएको छ । विद्यार्थी अनुपस्थित प्रायः शून्यजस्तै छ । ‘कारणवश विद्यार्थी स्कुल नआए घरमा फोन गरिहाल्छौं’, प्रधानाध्यापक खोड्सबहादुर केसीले भने, ‘सबै अभिभावकको फोन नम्बर राखेका छौं ।’ वार्षिक परीक्षा नजिक हुँदा घरघरमै पुगेर शिक्षकहरूले विद्यार्थीको अवस्था बुझ्ने गर्छन् । घर पुगेपछि विद्यार्थीले गर्ने क्रियाकलाप, सुत्ने कोठामा शैक्षिक सामग्रीको व्यवस्थापन र शारीरीक अवस्थाको विषयमा बुझ्ने गरिएको छ ।

‘सबै कुरा बुझेर अभिभावकलाई सुझाव दिन्छौं’, केसी भन्छन्, ‘सबैको साथले विद्यालयलाई राम्रो बनाउन सकिएको छ ।’ विद्यार्थीलाई पढ्ने वातावरण घरबाटै हुनुपर्ने उनको बुझाइ छ । विद्यालयले मोवाइल फोन निषेधलाई पूर्णरूपमा कार्यान्वयन गराएको छ । शिक्षक, अभिभावक, व्यवस्थापन समिति र विद्यार्थीकै लगनशीलताले विद्यालयले सयौंको भीडमा जिल्लामा आफ्नो अलग पहिचान कायम गराइरहेको छ ।

आहालखोला, स्याउला, बेहोरे, दारीमचौर, कैरलपाटा, आप्रेखोला, रोटेपानी, हल्दै, लामासेरा र ढाँडका विद्यार्थी पढ्न प्रभातमै आउँछन् । तुषारा, लिवाङ, नारीकोट लगायत टाढाका गाउँबाट पनि विद्यार्थी भर्ना हुन आएका छन् तर आवास नहुँदा व्यवस्थापन गर्न समस्या परेको छ । तुषारा खोलापारीको गाउँ भएकाले वर्षाको समयमा समस्या पर्ने हुँदा भर्ना गराउन असक्षम भएको उनको भनाइ छ । एसईई परीक्षाको नजिकै एक महिना होस्टेल सञ्चालन गर्ने गरिएको उनले बताए । अति विपन्न १२ जना दलित विद्यार्थीलाई विद्यालयले निःशुल्क पढाइरहेको छ । हाल चार सय ३१ जना विद्यार्थी अध्ययनरत छन् ।

‘प्रभात मावि जिल्लामा नमूना विद्यालयमा पर्छ’, शिक्षा विकास तथा सम्वन्य इकाइ प्यूठानका विद्यालय निरीक्षक दुर्गा खड्काले भने, ‘अरू विद्यालय पुगेर सिक्ने थलो बनेको छ ।’ विद्यालय व्यवस्थापन समितिको अनुगमनको पक्ष, शिक्षकको निरन्तर खटाइ र विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना भएकाले उत्कृष्टको सूचीमा परेको उनले बताए ।

अन्नपूर्ण पोष्टमा केशर रोकाले  लेखेको खबर  ।

प्रतिक्रिया