Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षक कर्मचारी पेन्सन चुनौती, निवृत्तिभरण शिर्षकमा बजेट माग

मंगलबार, ०२ असोज २०७५

काठमाडौं - आन्तरिक श्रोतबाट उठेको रकम शिक्षक कर्मचारीको पेन्सनमा खर्चिनु पर्दा प्राज्ञिक तथा अनुसन्धान कार्यमा समस्या भएको भन्दै  त्रिभुवन विश्वविद्यालयले निवृत्तिभरण शिर्षकमा बजेटको ब्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । 

मंगलबार बसेको विश्वविद्यालय सभामा रजिष्ट्रार डिल्लीराम उप्रेतीद्धारा प्रस्तुत आर्थिक बर्ष २०७५ ७६ को बजेट बक्तब्यमा उप्रेतीले उपदान, निवृत्तिभरण, संचित विदा र औषधी उपचार जस्ता शिर्षकका रकम चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उक्त शिर्षकको रकम ब्यवस्था गर्न विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी ओली समक्ष माग गरेका हुन् । 

'आन्तरिक श्रोतबाट उठेको रकम उपदान तथा निवृत्तिभरण, संचित विदा र औषधी उपचार अर्च जस्ता शिर्षकमा खर्च गर्नु परेकोले प्राज्ञिक तथा अनुसन्धान कार्य गर्न आर्थिक अभाव रहेको छ, यसले त्रिविलाई दिनानुदिन समस्यामा पार्दै लगेको छ' उप्रेतीले सभामा प्रस्तुत गरेको लिखित भाषणमा भनेका छन् ।

यसबाट त्रिविलाई 'मुक्ति दिलाउन' उनले प्रधानमन्त्री एवं त्रिविका कुलपतिज्यू मार्फत् नेपाल सरकार समक्ष निवृतिभरण शिर्षकमा बजेटको ब्यवस्था गरिदिनु माग गरेका हुन् । 

उक्त शिर्षकका लागि भार बढेर चालु आर्थिक बर्षमा २ अर्ब ५२ करोड ७२ लाख ८ हजार लाग्ने त्रिविले अनुमान गरेको छ । 

निवृत्त शिक्षक कर्मचारीको संख्या बढ्दै गएपछि त्रिविले २०७० ०७१ सालबाट स्वायत्त उपदान तथा निवृत्तिभरण कोष स्थापना गरेको थियो । उक्त कोषमा २ अर्ब ५३ लाख रुपैंया सञ्चित भएको विश्वविद्यालयले जनाएको छ । 

गत आर्थिक बर्षको लागि निवृत्तिभरण तथा उपदानमा १ अर्ब ४७ करोड ६ हजार ९ सय, औषधी उपचारका लागि २५ करोड ८० लाख  ७ हजार ९ सय, विशेष अवकास कोषका लागि ६ करोड ७४ लाख र सञ्चित विदाका लागि ४६ करोड ३९ लाख गरी कूल २ अर्ब २६ करोड ७० लाख १४ हजार ८ सय खर्च भएको विश्वविद्यालयले जनाएको छ । 

सभा सम्बन्धि खबर पढ्नुहोस् : साउनमै पास हुनु पर्ने बजेट बल्ल ! प्रधानमन्त्री भन्छन् 'पोलिटिक्स' को भारी नबोक्नु

प्रतिक्रिया