Edukhabar
मंगलबार, ११ बैशाख २०८१
अन्तैवाट

सामुदायिक सुध्रिँदा बोर्डिङ बन्द

मंगलबार, ०९ असोज २०७५

काठमाडौं ९ असोज / सामुदायिक विद्यालयले शैक्षिकस्तर सुधार्दा विद्यार्थीको आकर्षण त्यतातिरै बढेको छ । यही कारण गर्दा ‘व्यावसायिक’ उद्देश्य बोकेका कतिपय निजी विद्यालय (बोर्डिङ) बन्द पनि भएका छन् ।
सल्यानको पिसजोन एकेडेमी त्यस्तैमध्येको एक निजी विद्यालय हो । विद्यार्थी अभावले विद्यालय नै बन्द गर्नुपरेको सञ्चालक बताउँछन् । ‘सरकारी विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ सुरु गरे, स्तर पनि सुधारे,’ एक सञ्चालकले भने, ‘त्यसको असर हाम्रोमा पर्‍यो । हामीतिर आउने विद्यार्थी उतै जान थाले, अनि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आयो ।’

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि निजीलाई धेरै असर परेको शारदा नगरपालिकाका शिक्षा संयोजक वीरबहादुर सेजुवाल बताउँछन् । खलंगामा सञ्चालित त्रिज मावि लुहापिङ, शिजवन मावि शीतलपाटी, शिव मावि मूलडाँडा, शारदा प्राविमा विद्यार्थी भरिभराउ छन् । उनका अनुसार पछिल्लो ४ शैक्षिक सत्रमा यी विद्यालयमा वार्षिक करिब २ सयका दरले निजी विद्यालयका विद्यार्थी आइरहेका छन् । ‘सामुदायिक विद्यालयले शैक्षिकस्तर सुधार्दा निजी बोर्डिङहरू अत्तालिएको अवस्था देखिन्छ,’ शिक्षा संयोजक सेजुवालले भने, ‘यसरी सामुदायिक विद्यालयको अवस्था सुध्रिनु निकै राम्रो हो ।’
विद्यार्थी अभावकै कारण कतिपय बोर्डिङ आपसमा मर्ज भएका छन् । केहीले आफ्नो तह घटाएका छन् । ८ कक्षासम्म सञ्चालन भइरहेको शारदा नगरपालिका २, खलंगास्थित क्रिएटिभ एकेडेमी ५ मा झरेको छ । एकेडेमीका एक शिक्षकले सामुदायिकले अंग्रेजी माध्यमबाट पढाउन थालेपछि आफ्नो विद्यालयलाई असर परेको बताए । उनका अनुसार यस वर्षमात्र क्रिएटिभका ६० विद्यार्थी त्रिज माविमा भर्ना छन् ।

नजिकै रहेका सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन थालेपछि त्यसको असर क्रिएटिभमा परेको हुनसक्ने सेजुवालको भनाइ छ । उनका अनुसार बागचौर नगरपालिकामा रहेका शारदा टप र ब्राइट रोजल्यान्ड समायोजन भएका छन् । विद्यार्थी अभावकै कारण खर्च धान्न मुस्किल भएपछि २ विद्यालय समायोजन भएका हुन् ।

अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि शारदा नगरपालिका, बागचौर नगरपालिका, त्रिवेणी गाउँपालिका र कपुरकोट गाउँपालिकाका निजी विद्यालय बढी प्रभावित भएका छन् । पछिल्लो समय निजीमा विद्यार्थीको संख्या घटिरहँदा सल्यानमा अझ धेरै निजी विद्यालय संकटमा परेको बुझन सकिन्छ । त्रिवेणी गाउँपालिकामा रहेका निजी विद्यालयमा विद्यार्थी संख्या घटेका छन् ।

गाउँपालिकाका शिक्षा संयोजक दामोदर शर्माका अनुसार गत वर्ष ३ सय ३७ विद्यार्थी रहेको सल्यानी पब्लिकमा यो वर्ष २ सय ७८ विद्यार्थी छन् । त्यस्तै गत वर्ष २ सय ५२ विद्यार्थी रहेको हिमपर्वतमा १ सय ७७, २ सय २९ विद्यार्थी रहेको नमुना बाल एकेडेमीमा १ सय र २ सय ६१ विद्यार्थी रहेको मेरिगोल्डमा १ सय ८३ छन् । हीरा बोर्डिङ र मिडवेस्टर्नमा भने विद्यार्थी संख्या नघटेको बताइन्छ । ‘बोर्डिङका विद्यार्थी घट्नु भनेको सामुदायिकमा बढ्नु हो,’ शर्माले भने, ‘विद्यार्थी संख्या घट्दै जाँदा निजी विद्यालय संकटमा परिरहेका छन् ।’

गाउँपालिकाले नै बन्द गरायो

कालिकोटको पलाता गाउँपालिकाले निजी विद्यालयका कारण सामुदायिकको गुणस्तर खस्किएको निष्कर्षसहित बोर्डिङ स्कुल बन्द गराएको छ । गाउँपालिकाको वडा ४ खिनस्थित यज्ञदीप बोर्डिङ बन्द गराइएको हो ।

निजी जमिन भाडामा लिएर सञ्चालन गरिएको ३ कक्षासम्म सञ्चालित विद्यालयमा खिन र धौलागोहका सय बालबालिका भर्ना भएका थिए । ‘गाउँमै अंग्रेजी भाषामा गुणस्तरीय शिक्षा दिन विद्यालय खोलेका हौं,’ सञ्चालक कुम्भ बुढाले भने, ‘गाउँपालिकाले ठीक मानेन, त्यसपछि बन्द गर्नुपर्‍यो ।’ २०७२ मा जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिई सञ्चालन भएको विद्यालय जनप्रतिनिधि आएपछि स्वीकृति नपाउँदा समस्यामा परेको उनले बताए ।

बोर्डिङ बन्द भएपछि हुने खानेका छोराछोरी सदरमुकाम मान्मका साथै सुर्खेत, नेपालगन्ज, काठमाडौं गएका छन् भने बाहिर पठाउन नसक्नेले गाउँकै सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । गाउँपालिका अध्यक्ष लक्ष्मण बमले सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्दै अनिवार्य तथा नि:शुल्क शिक्षा प्रदान गर्ने र निजी शिक्षालाई निरुत्साहित गर्ने नीति रहेको बताए । पलातामा सार्वजनिक शिक्षा सुधार्न भौतिक पूर्वाधार, क्षमता विकास तथा बालअनुदानमार्फत लगानी गरिएको उनको भनाइ छ ।

जनप्रतिनिधिकै छोराछोरी बोर्डिङमा

पलाता गाउँपालिकाले गाउँमा खुलेको निजी विद्यालय बन्द गराए पनि जनप्रतिनिधिको छोराछोरी भने सहरका महँगा बोर्डिङमा पढिरहेका छन् । यज्ञदीप रहेको वडाका वडाध्यक्ष ऐनराज महताराका छोरा कोहलपुरको निजी विद्यालयमा पढिरहेका छन् । त्यस्तै, गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमका छोराछोरी सुर्खेतमा पढिरहेका छन् । अम्मराज बुढा र चन्द्रराज बुढाका छोराछोरी पनि कोहलपुरस्थित निजी विद्यालयमा पढिरहेका स्थानीयको भनाइ छ ।

कान्तिपुरमा विप्लव महर्जन र तुलाराम पाण्डेले लेखेका छन् । 

प्रतिक्रिया