Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

शिक्षकको परिभाषा दिदैं गृह मन्त्री, जान्ने टोपलिएको भान परे क्षमा पाउँ !

मंगलबार, ०९ असोज २०७५

काठमाडौं - गृह मन्त्री रामबहादुर थापाले शिक्षकको परिभाषा दिदैं 'जान्ने टोपलिएको' भान परे क्षमा दिन भनेका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा शिक्षकको परिभाषा दिदैं उनले सांसदहरुले सोधेका प्रश्नको उत्तर दिएका हुन् । 

देशको समसामयिक अवस्थाका बारेमा संसद बैठकमा सम्बोधन गरेका मन्त्री थापाले आफ्नो प्रस्तुतीमा चित्त नबुझाएका सांसदहरुले गरेको प्रश्नमा उल्लेख भएको प्रसंगमा उक्त परिभाषा गरेका हुन् । 
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद धनकुमारी खतिवडाले गृह मन्त्रीको जवाफ सुन्दा आफूहरु विद्यार्थी गृहमन्त्री सर जस्तो लागेको टीप्पणी गरेकी थिईन् । 

कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्याकाण्ड विचित्र रहेको उल्लेख गर्दै छ उनले घटनामा एसपी र उनको छोराको संलग्नताको कुरा उठेको तर्फ ध्यानाकर्षण गराईन् । नागरिकले सुरक्षा नपाउने हो भने गृह संयन्त्र किन आवश्यक पर्यो ? उनको प्रश्न  थियो । 

पहिलो चरण बैठकमा सम्बोधन गरे पछि सांसदहरुले उठाएका पूरक प्रश्नको जवाफ दिन आएका थापाले शिक्षकको प्रसंग उठाएका हुन् । आफ्नो प्रस्तुतीमा त्यस्तो छ भने क्षमा चाहने उल्लेख गर्दै थापाले शुरुमै सांसदहरुलाई शिक्षकको रुपमा स्विकार गरिसकेको बताए । 

'तपाई हामी सबै शिक्षक तपाई हामी सबै विद्यार्थी हौं, मैले शुरुमै तपाईहरुलाई शिक्षकको रुपमा स्विकार गरिसकेको हुँ, माननीयहरुले जो सुझाव दिनु भयो, जो ज्ञान दिनु भयो ध्यानाकर्षण गराउनु भयो, शिक्षक भनेको त्यसलाई भनिन्छ जसले ज्ञान दिन्छ । जसले जानकारी दिन्छ । त्यसलाई शिक्षक भनिन्छ' थापाले मुसुमुसु हाँस्दै भने 'विद्यार्थी त्यसलाई भनिन्छ जसले त्यो ज्ञान आर्जन गर्छ जानकारी लिन्छ त्यो विद्यार्थी हो । कैयौं विषयहरुमा म सँग भएको ज्ञान म सँग भएको जानकारी मैले माननीयजी हरुलाई दिन्छु तपाईहरुले माग गर्नु भयो । त्यताबाट हेर्दा म शिक्षक जस्तो भएँ म संग भएको ज्ञान र जानकारी तपाईहरुलाई दिएँ
यताबाट हेर्दा त त्यो देखिन्छ तर उताबाट हेर्दा तपाईहरुले जुन ज्ञान दिनु भयो जुन जानकारी दिनु भयो त्यताबाट हेर्दा तपार्इंहरु शिक्षक देखिनु भयो, म विद्यार्थी हुँ ।' 

शिक्षक विद्यार्थीको विषयमा धेरै विवाद गर्ने भन्दा आफ्नो शैलीमा कतै डोमिनेसन वा अहँकार र जान्ने टोपलिएको भन्ने जस्तो भान आयो भने क्षमा याचना गर्ने समेत थापाले उल्लेख गरे ।  

कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्त, प्रहरी हिरासतमै मृत्यु भएका राममहनोहर यादवको मृत्युको छानविन, देश टुक्र्याउने अभिब्यक्ति दिएका सिके राउतका कृयाकलाप लगायतका घटना बारे भईरहेको अनुसन्धान र यसमा भएको प्रगतीबारे थापाले सम्बोधन गरेका थिए । पन्त हत्याकाण्डमा जोडिएका एसपी र उनका छोराको बारेमा ठोस प्रमाण आए हिरासतमा जाने पनि उनले बताए । 

पन्तको हत्याबारे छानबिन गर्न सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले मंगलबार नै गृहमन्त्री थापालाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन भने सार्वजनिक गरिएको छैन । 

 

प्रतिक्रिया