Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

बुधबार, १० असोज २०७५

काठमाडौं १० असोज / कर्मचारी नियुक्तिमा अनियमितता गरेको भन्दै अनेरास्ववियु र नेविसंघले पूर्वाञ्चल विश्वविद्यालयमा छुट्टाछुट्टै तालाबन्दी गरेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले एक महिनादेखि र नेविसंघले एक सातादेखि तालाबन्दी गरेका हुन् ।

नयाँ पत्रिकाका अनुसार कर्मचारी नियुक्तिमा धाँधली भएको भन्दै अनेरास्ववियु र अखिल क्रान्तिकारीले सेवा आयोग र उपकुलपति कार्यालयमा तालाबन्दी गरेका छन् । नेविसंघले भने उच्च तहका कर्मचारी नियुक्तिमा नातावाद लगाएको भन्दै उपकुलपति, रजिस्ट्रार, आर्थिक प्रशासन र सबै संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीले कर्मचारी खुल्ला नियुक्ति गर्न आवेदनबापत लिएको पैसा फिर्ता गर्नुपर्ने, जथाभावी कर्मचारी नियुक्तिको छानबिन हुनुपर्ने, विद्यार्थी नै नभएको कार्यक्रममा भएको कर्मचारी नियुक्ति खारेज हुनुपर्ने माग राखेका छन् । नेविसंघले चिकित्सा संकायका डिन डा. शैलेशमणि पोखरेल र गोठगाउँस्थित शिक्षण अस्पतालका निर्देशक डा. विपेस आचार्यको नियुक्ति खारेज हुनुपर्ने माग गरेको छ ।

तालाबन्दी गर्ने संगठनहरूसँग विश्वविद्यालयले पटक–पटक वार्ताको प्रयास गरे पनि सफल भएको छैन । ‘अनियमितता भएमा विधि र प्रक्रियाअनुसार न्याय खोज्न सकिने भए पनि राजनीतिक पूर्वाग्रहले तालाबन्दी गरेर विश्वविद्यालयलाई बदनाम गराउने प्रयास भएको छ,’ एक कर्मचारीले भने ।

तालाबन्दी भए पनि उपकुलपति, रजिस्ट्रार र डिनहरूले बाहिरै बसेर काम गरिरहेको केन्द्रीय कार्यालयका प्रवक्ता तथा समन्वय महाशाखा प्रमुख राजेश झाले बताए । तालाबन्दीले कामकाजमा असर नपरे पनि विश्वविद्यालयको बदनाम भएको उनको भनाइ छ । झाले भने, ‘महत्वपूर्ण काम सम्पन्न गर्ने वेलामा पदाधिकारी, आर्थिक प्रशासन शाखा र डिनको कार्यालयमा तालाबन्दी हुँदा राम्रो सन्देश जाँदैन ।’

०५२ सालमा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालय प्रायः पदाधिकारी, कर्मचारी र विद्यार्थीको झगडा र आन्दोलनमै रुमल्लिएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पस गोठगाउँ सार्ने वा नसार्ने विवादमा स्थानीयले पनि आन्दोलन गरेका थिए ।

यता उपकुलपति प्राडा घनश्यामलाल दासले भने आफू नियुक्त भएर आएको तीन वर्षभित्र पूर्वाञ्चल विश्वविद्यालयमा धेरै परिवर्तन आइसकेको बताएका छन् । विश्वविद्यालयले शैक्षिक गुणस्तर वृद्धिका लागि मंगलबारदेखि विराटनगरमा गरेको दुईदिने कार्यशालामा बोल्दै उनले चाँडै अन्य परिवर्तनहरू पनि देखिने बताए । उनका अनुसार चालू आवभित्रै मोरंगको गोठगाउँमा सुविधा सम्पन्न शिक्षण अस्पतालसहितको मेडिकल कलेज सञ्चालनमा आइसक्नेछ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयलाई परम्परागत ज्ञान हस्तान्तरण गर्ने नभई अनुसन्धानात्मक थलो बनाउनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयले गरेको दुईदिने कार्यशालाको उद्घाटन गर्दै पोखरेलले विश्वविद्यालयलाई जागिर खानका लागि पढ्ने ठाउँका रूपमा विकास गर्न नहुने बताए ।

नयाँ पत्रिकामा गणेश लम्सालले लेखेका छन् । 

प्रतिक्रिया