Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षा मन्त्री 'जुहारी'मा, दुई सहसचिव मार्फत् बचाउको प्रयास

शनिबार, १३ असोज २०७५

काठमाडौं - चिकित्सा शिक्षाको वेथिती विरुद्ध सत्याग्रह गर्दै आएका प्रा.डा. गोविन्द केसीसँग शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले 'जुहारी' शुरु गरेका छन् । पोखरेलकै कारण चिकित्सा शिक्षा विधेयक पास नभई संसदको अधिबेशन अन्त्य भएको आरोप लगाउँदै केसीले पोखरेल पदमा रहिरहनु 'अशोभनीय’ भएको सार्वजनिक अभिब्यक्ति दिए पछि पोखरेलले दुई सहसचिव मार्फत् बचाउको प्रयास समेत गरेका छन् ।

शनिबार विदाको दिन भए पनि पोखरेलले मन्त्रालयको प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखाका प्रमुख डा. हरीप्रसाद लम्साल र प्रवक्ता समेत रहेका सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई छुट्टा छुट्टै विज्ञप्ति जारी गर्न लगाएर बचाउको प्रयास गरेका हुन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केसीले शिक्षा मन्त्रीले आफूलाई 'ब्ल्याकमेलिङ्' गरेको उल्लेख गरेको खबर शनिबारका छापामा प्रकाशित भए पछि मन्त्रीले दुई सहसचिव मार्फत् उक्त कुराको खण्डन गर्ने प्रयास गरेका हुन् ।

'डा. केसीसँग नेपाल सरकारले सहमती गरे पश्चात डा.केसी र सम्बद्ध पक्षहरुसँग सम्पर्क र छलफल गर्ने प्रयत्न भएको भए पनि हाल सम्म कुनै छलफल र सञ्चार सम्पर्क भएको छैन' यस विचमा केसी सँग मन्त्री पोखरेलको कुनै छलफल नै नभएको आशय ब्यक्त गर्ने गरी मन्त्रालयका प्रवक्ता अर्यालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

केसीसँग छलफलको वातावरण बनाउने जिम्मा सहसचिव लम्साललाई दिईएको पनि उक्त विज्ञप्तिमा उल्लेख छ ।

अर्यालद्धारा जारी विज्ञप्तिमा विधेयक पारित गर्न गरिएका प्रयासका बारेमा उल्लेख गरिएको छ भने लम्सालद्धारा जारी विज्ञप्तिमा सहमती पछि केसीसँग छलफल गर्न खोजे पनि सफल नभएको भन्दै बचाउको प्रयास गरिएको छ ।

गत असोज ११ गते भएको संसदीय समितिको बैठकमा शिक्षा मन्त्रीबाट सरकारी वार्ता टोली र केसीसँग भएको सहमती अनुसार नै विधेयक अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको ब्यहोरा उल्लेख गर्दै लम्सालद्धारा जारी विज्ञप्तिमा उपसमितिलाई छिटो टुगोंमा पुगिदिन अनुरोध भएको स्मरण गरिएको छ । मन्त्रीबाट असोज १२ गते विहान साढे ८ बजे छलफलका लागि बोलाउन निर्देश भए अनुसार प्रयास गरे पनि सफल नभएको विज्ञप्तिमा लम्सालले उल्लेख गरेका छन् ।

असोज ११ गते बेलुका प्रा.डा. केसीलाई सम्पर्क गर्ने प्रयास गरेको तर सम्पर्क हुन नसके पछि केसीका समर्थक ओमप्रकाश अर्याल र अभिषेक सिंहसँग भेटघाटका लागि समय मिलाउन आग्रह गर्दा पनि उनीहरुले उक्त काम गर्न नसक्ने बताएको उल्लेख छ ।  

उत्पन्न परिस्थितीका विषयका सन्दर्भमा छलफल र सम्बादबाटै अघि बढ्न मन्त्रालय निरन्तर प्रयत्नरत रहेको अर्यालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । तर केसीसँग भएको सहमती कार्यान्वयनका लागि कुनै छलफल र सम्बाद जरुरी नभएको कार्यान्वयन गर्नु मात्रै आवश्यक रहेको केसी निकटस्थहरुको तर्क छ ।

आफूसँग प्रधानमन्त्रीले गरेको सम्झौता विरुद्ध मन्त्री पोखरेल लागेको केसीको आरोप छ । चिकित्सा शिक्षा विधेयक पारित नभईकन संघीय संसद्को वर्षे अधिवेशन अन्त्य भएको भोलिपल्ट शुक्रबार केसीले उक्त आरोप लगाएका थिए ।

पढ्नुहोस् : शिक्षा मन्त्री अवरोधक, पदमा रहिरहनु 'अशोभनीय'

केसीले शुक्रबार उक्त आरोप लगाए लगत्तै पनि अर्याललाई मन्त्री पोखरेलले विज्ञप्ति जारी गर्न लगाएका थिए । उक्त विज्ञप्तिमा विधेयक पास गर्न सरकारले गरेको प्रयास भन्दै सात बुँदा सहितको स्पष्टिकरण समेटिएको थियो । तर समय छउञ्जेल वास्ता नगर्दा संसद बैठक सकिएको र उक्त सहमती अलपत्र पारेको भन्दै मन्त्री पोखरेलको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया