Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

शिक्षा आयोगका सदस्यकै गुनासो, यही कर्ताले परिवर्तनको छाँट छैन

सोमबार, १५ असोज २०७५

काठमाडौं - उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य डा. मीनबहादुर विष्टले राम्रो भएको छ भन्ने कुरा सुन्न नपाएको भन्दै गुनासो गरेका छन् । आयोगको कामको शिलशिलामा भेटिएका प्राय सबैले एक अर्कालाई गाली मात्रै गरेको फेला पारेको भन्दै उनले उक्त गुनासो गरेका हुन् ।

आयोगलाई ठोस सुझाव दिन शिक्षाका लागि राष्ट्रिय अभियान एनसीई नेपाल र ग्लोवल एक्सन नेपालले संयुक्त रुपमा आईतबार आयोजना गरेको जीवनपर्यन्त सिकाइ र अनौपचारिक शिक्षा विषयको छलफलमा सहभागी विष्टले स्थानीय स्तरमा भएका कामको बारेमा बुझ्न चाहे पनि प्राय सबैले केही नभएको भन्दै गुनासै गरेको बताए । 

कार्यक्रममा सहभागी स्वयम्भु सामुदायिक सिकाइ केन्द्रकी रचना लामाले आफ्नो केन्द्रमा भएका राम्रा अभ्यासका बारेमा चर्चा गरे लगत्तै विष्टले भने यति राम्रा काम पनि भएका रहेछन् बल्ल आज हामीले राम्रो भएको छ भन्ने कुरा सुन्न पायौं ।  

आयोगमा बसेर काम गर्दा राम्रो भएको छ भन्ने कुरा सुन्न निकै कम मात्रै पाएका उल्लेख गर्दै उनले स्थानीय स्तरमा भएका अभ्यास र त्यसबाट भएको उपलब्धि बुझ्न चाहेको बताए । 

'ती अभ्यास थाह पाएपछि मात्रै हामी कता गएका छौं भन्ने तय गर्न सजिलो हुन्छ, अहिले रचना जीका कुरा सुन्दा राम्रो पनि भएको रहेछ भन्ने थाह पायौं, जुन कुराले खुसी बनाएको छ' लामो समय विश्वका विभिन्न देशमा कार्य गरेर स्वदेश फर्के पछि आयोगका सदस्य भएका विष्टले भने, 'यहाँ त सबैले गाली मात्रै गरेका फेला पार्छौं – शिक्षकलाई, निजीलाई सबैलाई गाली मात्रै गरेका छन् मान्छेहरु ।'

यस अघि लामाले सामुदायिक सिकाइ केन्द्रको महत्वका बारेमा स्थानीय निकायले कुरा बुझेको र केन्द्रका लागि आर्थिक सहयोग पनि छुट्याएको उल्लेख गरेकी थिईन् ।  केन्द्रमा जेष्ठ नागरिक समाज, युवा समाज, आमा समूह र बाल समूह गरी छुट्टा छुट्टै समाज निर्माण गरिएको जसले गर्दा समाज र राज्यविचको पुल को रुपमा केन्द्र स्थापित भएको उल्लेख गरिन् । 

'हाम्रो केन्द्रमा बुढाबुढीका कुरा बालबालिकाले सुन्छन्, बालबालिकाले बुढाबुढीको भोगाई थाह पाउँछन्, यसले गर्दा पुस्तान्तरको समस्या कम छ हाम्रो समाजमा' आयोगका सदस्यलाई आग्रह गर्दै उनले भनिन्, 'समाज र राज्यविचको पुल हो केन्द्र, तपाईहरुले प्रतिवेदन लेख्ने बेलामा यसको महत्वलाई बुझाईदिनु होला, यसलाई कसरी ब्यवस्थित गर्ने भन्ने काम राज्यको हो, राज्यलाई सुझाव दिने काम आयोगको हो हामीले गरेको काम हेर्न आउनुहोस् अनी सुझाव दिनु होला ।'

कार्यक्रममा उपस्थित आयोगका अर्का सदस्य डा. कृष्ण पौडेलले शिक्षा सुधारका लागि विद्यमान मान्यता र काम गराईबाट सम्भव नभएको भन्दै यसमा निकै फरक तरिकाले सोच्न आवश्यक रहेको बताए । 

'यही कर्ताले शिक्षा क्षेत्र परिवर्तन हुने छाँट छैन, नयाँ कर्ता आवश्यक छ' त्यो कर्ता कुन हो र कस्तो कर्ता खोजिएको को भन्ने स्पष्ट नपारिकन संक्षिप्त प्रतिकृया दिदैं उनले सहभागीहरुसँग आग्रह गरे 'ईमान्दार र सहयोगी कर्ता आवश्यक छ तपाईहरु यस क्षेत्रको जानकार हुनुहुन्छ त्यो कर्ता बन्ने कोशिस गरेर आयोगलाई सहयोग गरिदिनुस्  ।'

अर्का सदस्य डा. बाबुराम अधिकारीले आगोगले गर्न खोजेको परिवर्तन नै भएकोले विद्यमान सोचाईको निश्चित बाकस भित्रबाट बाहिर निस्केर धारणा बनाउन सहभागीहरुलाई आग्रह गरे ।

'हिजो के थियो बाट बाहिर ननिस्केसम्म आउने सुझाव पुरानै हुन्छ' उनले भने 'हामीले गर्न खोजेको काम आजका लागि हैन, २५ /३० बर्ष पछिको पुस्ताका लागि हो, त्यही अनुसार परिवर्तनका लागि सुझावको खाँचो छ, भएन भन्ने भन्दा पनि यसो गरौं भन्ने सुझावको अपेक्षा गरेको छ आयोगले ।'

यस्तै आयोगका सदस्य तथा आयोग भित्र निर्माण गरिएको जीवनपर्यन्त र अनौपचारिक शिक्षा समूहका संयोजक विमल फुयालले जीवनपर्यन्त र अनौपचारिक शिक्षाका बारेमा आवश्यक नीति र संयन्त्र कस्तो हुनु पर्ने हो विषय केन्द्रित सुझावको अपेक्षा गरेको बताए । सुझावका लागि चाँडैनै मन्त्रालयमा हेल्लो आयोग संयन्त्र निर्माण गर्ने योजना रहेको पनि उनले बताए । 

'आयोगको म्याद अब २ महिना बाँकी छ । धेरै सुझाव संकलनका लागि हेल्लो आयोगको अवधारणा आएको छ, हामी निकट भविष्यमै त्यो लागू गछौं जसमा फोन गरेर आफ्ना सुझाव रेकर्ड गराउन सक्नुहुनेछ' उनले भने, 'सुझावका लागि वेभसाईटको विकास गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।'

सरोकारवालाहरुले दिन चाहेको लिखित मौखिक सुझाव दिन सक्ने गरी उक्त संयन्त्र निर्माण गर्न लागेको उनले बताए । 

कार्यक्रममा सहभागी विभिन्न सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, सरकारी अधिकारी, शिक्षाकर्मी, राजनीतिक ब्यक्ति लगायतको लगभग समान निष्कर्श थियो – देशको संरचनागत परिवर्तन भएको आधारमा शिक्षा सुधार गर्नु पर्ने छ । त्यस दिशामा आयोगले काम केन्द्रित गरेर प्रतिबेदन तयार पार्ने छ ।  

कार्यक्रममा सुजात श्रामणेरले जीवनपर्यन्त तथा अनौपचारिक शिक्षाको अवस्था, विश्व परिवेश, अब गर्नु पर्ने कार्य लगायतका बारेमा प्रस्तुती गरेका थिए । 

प्रतिक्रिया