Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

जिल्लाका शिक्षा कार्यालय प्रशासनबाट झिक्ने, संघीय र प्रदेशको साझा

बुधबार, १७ असोज २०७५

ललितपुर - जिल्ला प्रशासन कार्यालय मातहत राखिएका जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईलाई संघीय र प्रदेश सरकारको साझा कार्यक्रमहरु लागू गर्ने इकाईका रुपमा निर्माण गर्ने सरकारले तयारी गरेको छ । यसबारेमा शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन सहित अन्य मन्त्रालयहरुसंग  छलफल गरिरहेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । 

'शिक्षा विकास तथा समन्वय इकाई जुन परिस्थितीमा संघीय सरकारको इकाईको रुपमा राखियो त्यो परिस्थिती स्मरण गर्न म सबैलाई अनुरोध गर्छु' शिक्षक महासंघद्धारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने, 'प्राप्त सुझावको आधारमा संघीय सरकार र प्रदेश सरकारको साझा कार्यक्रमहरु लागू गर्ने इकाईका रुपमा त्यसलाई अघि बढाउन संघीय र अन्य मन्त्रालयसँग छलफल चलिरहेको जानकारी गराउँछु ।' 

विद्यालय शिक्षा सम्मको अधिकार स्थानीय सरकार मातहत भएसँगै साविकका जिल्ला शिक्षा कार्यालयलाई हटाउनु पर्नेमा सरकारले गृह मन्त्रालय अन्र्तगत रहेको प्रमुख जिल्ला अधिकारी मातहत राखेको थियो । शिक्षाको इकाई गृह मन्त्रालय अन्र्तगत राखिएको भन्दै आलोचना हुँदै आएको छ ।

शिक्षा कार्यालयले गर्ने सबै काम पालिका अन्र्तगत भएकोले स्थानीय सरकार मातहत संयन्त्र निर्माण गर्नु पर्ने विज्ञहरुले सुझाव दिदैं आएका छन् । शिक्षा मन्त्रालयका कर्मचारी ब्यवस्थापन गर्ने मनशायले शिक्षाका उच्च कर्मचारीको प्रभावमा सरकारले प्रशासन अन्र्तगतै राखेर भएपनि जिल्लामा उक्त निकाय बचाई राखेको  भन्दै आलोचना हुँदै आएको छ । 

यही आलोचनाका विचमा शिक्षा मन्त्रीले उक्त निकायलाई प्रदेश र संघीय सरकारका कार्यक्रम लागू गर्ने निकायका रुपमा स्थापना गर्ने योजना रहेको सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा मन्त्री पोखरेलले मन्त्रालय र अन्र्तगतका निकायहरु प्रदेश सरकार अन्र्तगत रहने संरचनाहरु र स्थानीय तहमा रहने शिक्षाको संरचना यस विचमा निर्माण भएको पनि उल्लेख गरे ।  

उक्त कार्यक्रमबारे यो खबर पढ्नुहोस् : शिक्षक महासंघलाई आयोगमा सहभागी गराईने 

 

प्रतिक्रिया