शिक्षाको अधिकार: गुणस्तरीय शिक्षकबाट सिक्न पाउने अधिकार


हामी चारैतिर परिवर्तन नै परिवर्तन मात्रै देखी-भोगी रहेका छौं I पुराना सबै आस्था, मूल्य, विश्वास, परम्परा, संस्कृति, संरचना सबै भत्किएका र भत्काइएका छन् I तर नयाँ निर्माण गर्न सकिएको छैन I

नयाँ बनाउन खोज्यो त्यो बन्दा नबन्दै  असान्दर्भिक बनिसकेको हुन्छ I ढल्ने अवस्थामा पुगीसक्दछ I 

यस्ता अभूतपूर्व परिवर्तन र अराजक अनिश्चिततायुक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा हाम्रो तयारी के हुने ?

हाम्रा केटाकेटीहरूलाई  हामीले कस्तो भविष्यको लागि तयारी गर्ने ?

शिक्षाको सबै भन्दा ठूलो चुनौती नै त्यही बनेको छ I

परिवर्तनका लहरहरू यस्तो तीब्र बेगले गतिमान भइरहेको  समयमा विश्व विख्यात इजरायली इतिहासकार र उत्कृष्ट लेखक युभाल नोहा हरारीको प्रश्न छ -आजको मितिमा जन्मिएको कुनै बालक यो सताव्दीको मध्यसम्ममा ३० बर्षको हुने छ I

सबै कुरा अनुकूल रह्यो भने ऊ बाइसौं  सताव्दी शुरू हुँदा पनि जीवित नै रहने छ I अब एक्काइसौं सताव्दीको यो बिन्दुमा उभिएर २०५० मा ३० बर्षे लक्का जवान हुने र बाइसौं सताव्दीसम्म क्रियाशील रहने आजको मितिमा जन्मिएको बालकलाई  बाँच्न, उन्नति गर्न र समयसँग सामन्जस्य गर्न कस्तो ज्ञान ,  कस्तो मूल्य, संस्कार , आशा र विश्वास उसलाई दिने ?

 उसलाई रोजगारीको लागि कस्तो शीप प्रदान गर्ने ? (१)

यो  आजको सबैभन्दा ठूलो  शैक्षिक प्रश्न र चुनौती मात्र होइन आजको र भोलीको सबैभन्दा ठूलो राजनीतिक, सामाजिक, आर्थिक र  सांस्कृतिक प्रश्न पनि यही हो I

हामी कसैसँग हरारीको प्रश्नको उत्तर छैन I सन् २०५० र २१०० मा संसार कस्तो होला ? नेपाल कस्तो होला ? हामी उत्तर विहीन छौं I

 त्यस्तो उत्तर खोजी गर्नु नै मूर्खतापूर्ण कुरो हुने छ I

खास गरेर बीसौं सताव्दीको उत्तरार्धदेखि शुरूभएका  परिवर्तनका यस्ता तीब्र बेगहरू  एक्काइसौं सताव्दीको पूर्व सन्ध्यादेखि आएर आकल्पनिय र अनियन्त्रित गतिमा हुइक्किरहेका छन् I तिनको बेग  साविकका ज्ञान, विज्ञान, प्रविधि राज्य, सरकार र सँस्थाका सीमा र क्षमता भन्दा कुरै छोडौं अनुमान भन्दा पनि पर छन् I

तर  बिडम्बना के छ भने, शिक्षा सुधारकी अभियन्ताको समेत छवि बनाएकी अमेरिकी शिक्षामंत्री बेट्सी  डेभोसले हालै एउटा सन्दर्भमा संसारमा धेरै ठूलो परिवर्तन भइसकेको  भए पनि  संसारका धेरै मुलुकका विद्यालयमा शिक्षण-सिकाईका कार्यक्रमहरूहरू एक सय बर्ष पहिलाका  जस्तै गरी संचालनमा छन्  भनेर बताएर हाम्रा सामू विद्यमान त्राषद चुनौतीलाई प्रष्ट गरेकी  छिन I (२)

.जसले कल्पना गर्न सक्दछ उसैले विश्व विजय गर्न सक्दछ ! कल्पना गर्न र सपना देख्न सघाउने शिक्षा नै गुणस्तरीय शिक्षा हो I

नेपोलियन बोनापार्टको एउटा विख्यात भनाई  छ -- जसले कल्पना गर्दछ, जसले सपना देख्दछ उसले  नै  विश्व विजय गर्न सक्दछ I

पूर्व भारतीय राष्ट्रपति एपीजे कलामको त्यस्तै एउटा प्रेरक भनाई  छ - निदाउँदा जे देखिन्छ त्यो सपना होइन, जे ले निदाउन नै दिंदैन त्यो सपना हो I 

अल्बर्ट आइन्स्टाइनले भनेका छन् - ज्ञान भनेको  कल्पनाशीलता हो I 

तर बस्तुत: कल्पनाशीलता ज्ञानभन्दा पनि धेरै शक्तिशाली हुन्छ I 

सपनाहरू यथार्थभन्दा शक्तिशाली हुन्छन् I

कल्पनाशीलता  ज्ञानको स्रोत हो I सपनाहरू यथार्थतालाई बदल्ने सामर्थ्य राख्दछन I

 तर निदाउन नै नदिने सपनाहरू मात्र यथार्थतालाई बदल्न र नयाँ यथार्थताहरू निर्माण गर्ने शक्ति राख्दछन् I

विद्यार्थीहरूलाई  कल्पनाशील बनाउने, सपना देख्ने बनाउने र आफ्ना सपनाहरूलाई  विपनामा बदल्ने ज्ञान , शीप र विश्वास भर्ने, सिर्जनशील बनाइदिने I समय फेरिएसँगै समयको आवश्यकता अनुरूप  ज्ञान र शीपको स्वआर्जनगर्ने र खोजगर्ने अभ्यास गराइदिने र त्यसको बानी  बसाइदिने चुनौती हाम्रा सामू छन् I

आज  सही के हो ? र गलत के हो ? भन्ने कुराले नै अर्थ र महत्व राख्न छोडेको  छ I ती कुराहरू सिकाइनुको माने नै लाग्न छोडेको छ I किन कि आजको सही भोली गलत हुन सक्दछ र आज जेलाई गलत भनिएको छ भोली त्यही सही सावित हुन सक्दछ I

त्यसैले आफ्नो समयको आवश्यकता अनुसार सही र गलत छुट्याउने कसीहरू के हुन सक्दछन - त्यसबारे विद्यार्थीलाई सहयोग गर्ने शिक्षण सिकाई कार्यक्रम आजको आवश्यकता हो I

आफैं सही र गलत छुट्याउने-खोजी गर्ने विधि र कौशल के हुन सक्दछ उनीहरूलाई आफ्नै अभ्यासबाट   त्यस्तो सिकाईमा सहयोग गर्ने शिक्षा नै गुणस्तरीय हो I

हरेक बालक  अपार सम्भावना लिएर जन्मिएको हुन्छ I

त्यो सम्भावना कुनै जात, वर्ण, लिङ्ग,क्षेत्र, कूल र बंशको बन्दी हुँदैन I   ऊसँग अत्यन्त उर्वर मस्तिष्क हुन्छ I त्यो मस्तिष्कको उर्वरतालाई संरक्षण गरिदिने, प्रोत्साहित गर्ने र सिर्जनशील बनाइदिने कार्य शिक्षा को हो I त्यो गर्ने भनेको उसका बाबु आमा, अभिभावक र  शिक्षकहरूले हो  I उसका उत्सुकताहरूलाई सुनिदिने, सम्मान गर्ने, उसका हरेक प्रश्नका उत्तर दिने, प्रश्न सोध्न प्रोत्साहन गर्ने र प्रश्नका उत्तर खोज्न सघाउने  गरिदिएमा ऊ झन् झन् कल्पनाशील र सिर्जनशील बन्दै जान्छ I(३)

निष्कर्षमा भन्नु पर्दा, विद्यार्थीलाई बढीभन्दा बढी कल्पनाशील र सिर्जनशील बनाउने शिक्षा नै गुणस्तरीय शिक्षा हो I 

कलामका अनुसार विभिन्न नयाँ नयाँ कुरा आविष्कार गर्ने, खोज अनुषन्धान गर्ने, आविष्कारहरूमा  परिमार्जन र सुधार गर्ने, परिवर्तनलाई ग्रहण गर्ने,  नयाँ नयाँ विचारलाई ग्रहण गर्ने-सम्मान गर्ने आदि सबै कुराहरू सिर्जनशीलताका परिणाम हुन् I नयाँ नयाँ चिन्तन र विचारहरू निर्माण गर्ने, परिमार्जन गर्ने, साझेदारीगर्ने,  उन्नत बनाउने कार्य पनि सिर्जनशीलताका पक्षहरू हुन् I नयाँ नयाँ विचार र चिन्तन भनेकै प्रगति हो र विचारहीनता नै व्यक्ति, संगठन,समाज र राष्ट्रको मृत्यु हो I(४)

. जुन शिक्षा जीवन र जीविकाको साधन बन्न सक्दछ त्यो नै गुणस्तरीय शिक्षा हो !

इशा पूर्व चौथो सताव्दीमा नै प्लेटोले राज्यलाई मूलत: एउटा शैक्षिक सँस्था उल्लेख गरेका थिए I(५)   आजभन्दा हजारौं बर्ष पुराना वेद, पुराण, उपनिषद्   रामायण, महाभारत लगायतका हिन्दु ग्रन्थहरूले  गुरू -शिष्य  परम्परा र शिक्षण -सिकाई कार्य र शिक्षाप्रतिको राज्य दायित्वबारे पर्याप्त  उल्लेख गरेका छन् I सबैको निष्कर्षमा  शिक्षालाई   राष्ट्र र समाजको शान्ति, एकता र समृद्धिको मूख्य आधारको रूपमा उल्लेख गरिएको छ  I  

अध्ययनहरुले बताए अनुसार थप एक बर्षको राम्रो औपचारिक शिक्षा प्राप्त गरेका व्यक्तिको आयमा कम्तीमा १० प्रतिशत वृद्धि हुने कुरा  अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त अर्थशास्त्री निकोलस स्टर्नले करीव  दुइ दशक अघिनै उल्लेख गरेका थिए I(६)

बेलायत, अमेरिका,जापान, जर्मनी, डेनमार्क, नर्वे आदि विकसित मुलुकहरूले १९ सौं सताव्दीको आरम्भ देखिनै सबैकालागि गुणस्तरीय आधुनिक शिक्षामा  दिएको प्राथमिकताको परिणाम उनीहरूको आजको शक्ति र समृद्धि हो I  पूर्वी एसियाका एसियन टाइगर्स  भनिने  दक्षिण कोरिया, सिंगापुर, ताइवान , हंगकंगहरू  र नेपालको आर्थिक स्थितिमा १९६० को  दशकको आरम्भसम्ममा  खासै अन्तर थिएन I तर साठीको दशक मै उनीहरूले शिक्षा सुधारद्वारा  प्राविधिक ज्ञानको विकास र वृद्धिमा  ठूलो राज्य प्राथमिकता प्रदान गरे I()

उच्च किसिमका प्रविधिको विकास र आयातमा राज्यले  विराटस्तरको लगानी असाधारण प्राथमिकताकै परिणाम  छोटो अवधिमा नै उनीहरू क्षेत्रका मात्र नभएर विश्वकै प्रमुख आर्थिक शक्ति बन्न सफल भए I युरोपको गरीव र पिछडिएको तथा सोभियत सङ्घको हैकम अन्तर्गत दविएको फिनल्याण्ड १९७०को दशकमा आएर आधुनिक शिक्षामा आक्रामक तरिकाले प्रवेश गर्यो I आफ्नो मुलुकको  शिक्षालाई  दुनियाँकै उत्कृष्ट बनाउन सफल भयो  I त्यो सफलताको पछाडिको मूल कारण विद्यार्थीले मुलुकमा उपलव्ध भए मध्येका सबैभन्दा योग्य शिक्षकबाट पढ्न पाउनु पर्दछ भन्ने मान्यता थियो I

 त्यसैलाई चरितार्थ गर्न उनीहरूले  शिक्षक तयारी, नियुक्ति र व्यवस्थापनमा उच्चतम राज्य प्राथमिकता र प्रतिवद्धता प्रमाणित गरे I आधुनिक वैज्ञानिक र प्राविधिक शिक्षामा I सम्पूर्ण लक्ष केन्द्रित गरे I

असाधारण सफलता, समृद्धि र सामर्थ्य प्राप्त गर्न सकिएन भने सोभियत सङ्घबाट  फिनल्याण्डको स्वतन्त्रताको सुरक्षा गरिरहन सकिन्न भन्ने चिन्ताले पनि उनीहरूलाई गाँजेको थियो I त्यहाँको शिक्षाले छोटो अवधिमा मारेको फड्कोले नै आज फिनल्याण्ड दुनियाँको विकसित राष्ट्रको कोटीमा पुगेको छ I आजको चीन र भारतको उपलव्धिमा पनि शिक्षाको योगदान निर्णायक रहेको छ I    

दी इकोनोमिस्टले गरेको एक अध्ययन अनुसार त एक बर्षको थप शिक्षाले कसैको पारिश्रमिकमा प्रति घण्टाको हिसावले मात्रै पनि १३ प्रतिशत वृद्धि हुने उल्लेख गरेको छ I(८)

अव शिक्षकको कार्य भनेको विद्यार्थीमा आशा जगाउनु, उनीहरूको कल्पनाशीलतामा उर्जा र विश्वास भर्नु, ज्ञानको भोक जगाउनु र शीप आर्जनगर्न उत्प्रेरित गरिरहनु हो I 

मूख्य कुरो विद्यार्थीहरूलाई सपना देख्ने बनाउनु हो I आफ्ना सपनाहरूलाई यथार्थतामा रूपान्तरणगर्ने शक्ति र विश्वास भरिदिनु हो I 

खाने पानी भन्नुको अर्थ  पिउन योग्य सुरक्षित पानी हो I भैंसी आहाल बस्ने पोखरीको पानी होइन भन्ने अर्थ लाग्दछ I  त्यसरी नै शिक्षा भन्ने बित्तिकै त्यो गुणस्तरीय हुन्छ र हुनु पर्दछ भनेर बुझ्नु पर्ने हुन आउँछ I

शिक्षा सबै मानिसको मूलभूत मानव अधिकार भएको  र  सार्वजनिक कल्याण तथा व्यक्ति, राष्ट्र, समाज र विश्वकोको शान्ति, सुरक्षा र समृद्धिको आधार रहेकोले यो कुनै व्यक्ति तथा समूहको निजी उदारता,दायित्व वा दान , पुण्य  वा धर्मको विषय नै होइन I  यो सार्वजनिक विषय हो त्यसैले सार्वजनिक वा राज्यको दायित्व हो र राज्य कोषबाट नै शिक्षाको अधिकार सुनिश्चित गराइनु पर्दछ भन्नेमा युनेस्को, युनिसेफ, एजुकेसन इन्टर नेसनल लगायतका सँस्थाहरू र कतिपय मुलुकहरू एक मत छन् I 

शिक्षा बालबालिकाको जन्मबाट नै आरम्भ हुन्छ I त्यसैले जन्मदेखिनै उनीहरूको गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित हुनुपर्दछ भन्ने एजुकेसन इन्टरनेसनलको मान्यता रहेको छ I(९)

मानिसलाई मानिसकोरूपमा आफ्नो अस्तित्व वोध गराउने र सोही अनुरूप वाँच्न सिकाउने र सघाउने भएकोले पनि  शिक्षा मूलभूत मानव अधिकार  मात्र होइन, अन्य त्यस्ता मानव अधिकारहरूपनि शिक्षाको अधिकारमा नै आधारित हुने भएकाले शिक्षाको अधिकार विना अन्य मानव अधिकारहरू  र संवैधानिक स्वीकृतिका अन्य मौलिक अधिकारहरू अर्थहीन हुन्छन I राज्यले अनुमोदन गरेको मूलभूत मानव अधिकारको मर्म, आशय र अक्षर अनुरूप नै उसले शिक्षा सम्वन्धी मानव अधिकारलाई  प्रचलन गराउनु पर्दछ भन्ने मतले विश्वव्यापी अनुमोदन प्राप्त गरेको छ I   त्यसैले शिक्षालाई मौलिक अधिकारको पनि मूल मान्नु पर्दछ I

माथि उल्लेख गरिए जस्तै शिक्षाको अधिकारले मात्र अन्य अधिकारहरूको   उपभोग तथा प्रचलनका अवशरलाई  समेत सार्थक र गुणस्तरीय बनाउने भएकोले शिक्षा गुणस्तरीय, अनिवार्य, निशुल्क र सर्वसुलभ हुनुपर्दछ भनिएको हो I यसमा राज्य दायित्व निर्माण हुनै पर्दछ I कुनै सरकारले आफूलाई सरकार दावी गर्दछ र राज्यको प्रतिनिधित्व गरेको स्वीकार गर्दछ भने ऊ नागरिकको शिक्षाको अधिकार उपभोग र प्रचलन गराउनबाट कुनै पनि नाऊ र निहुँमा  उम्किन पाउदैन I

मौलिक अधिकार र मूलभूत मानव अधिकारको रूपमा स्वीकारिएको मानिसको व्यक्तित्व विकासको अपरिहार्य आधार मानिएको  शिक्षाको अधिकारको उपभोग र प्रचलनमा जुनसुकै  जात, धर्म, वर्ण,लिङ्ग, आर्थिक अवस्थाका विद्यार्थीलाई समान रूपमा उपलव्ध छैनन् भने त्यो  मूलभूत मानव अधिकार  तथा मौलिक अधिकारको नाममा ढोंग र आडम्बर मात्रै हो I

सङ्क्षेपमा

जुन शिक्षाले निरन्तर सिक्न इच्छुक गराउँछ,

आजीवन सिकाइकालागि अभिप्रेरित गर्दछ ,

सिकाइका प्रति स्वचालित अभिप्रेरणा निर्माण गर्दछ ,

समूह प्रतिवद्ध, समूह संचार सम्प्रेषण कौशल प्रदान गर्दछ  ,

आत्म नियन्त्रण र आत्म अनुशासन सिकाउँछ ,

मूलभूत जीवन मूल्यहरूप्रति प्रतिवद्धता निर्माण गर्दछ ,

आवेगात्मक सुरक्षाको भावना पैदा गर्दछ,

व्यक्ति, समाज, राष्ट्र र विश्वबारे जानकार गराउँछ - तिनकाप्रति जिम्मेवारी वोध गराउँछ,

विद्यार्थीका आफ्ना आन्तरिक प्रतिभा र क्षमतालाई  प्रस्फुटन गराउन, विकास गराउन र  राष्ट्र र समाज सामू तिनलाई अनुभूत गराउन  सक्दछ

 र विद्यार्थीमा जीविका आर्जन सम्वन्धी  उत्तम  ज्ञान , शीप र अभिप्रेरणा निर्माण गर्दछ,

त्यो शिक्षा नै गुणस्तरीय  शिक्षा हो I 

. शिक्षाको अधिकार, गुणस्तरीय शिक्षक पाउने अधिकार र राज्य दायित्व

शिक्षाको अधिकार भनेको नै  गुणस्तरीय शिक्षा प्राप्त गर्ने हरेक बालबालिका , किशोर-किशोरी र युवा युवतीहरूको अधिकार हो  उच्च क्षमता र  निष्ठाका शिक्षक बेगर शिक्षाको मूल लक्ष प्राप्त गर्न र विद्यार्थीमा  माथि उल्लेख गरिए  जस्ता ज्ञान, शीप र प्रेरणाहरू भर्न सकिदै सकिन्न I 

शिक्षाको अर्थ भनेको नै एउटा सचेत, जागरुक र जिम्मेवार समाज निर्माण  हो I शिक्षकहरू नै  त्यस्तो समाजका निर्माता हुन् I आफ्ना विद्यार्थीहरू मार्फत शिक्षकहरूले त्यस्तो समाज निर्माण गर्दछन्  I

असल शिक्षक आफैंमा आजीवन विद्यार्थी हो I ज्ञान -विज्ञानको क्षेत्रको अविराम यात्री हो I शिक्षक नयाँ नयाँ ज्ञान, सूचना तथा जानकारी, शीप र प्रविधिमा निरन्तर  जिज्ञाशु र आफ्नो पेशा  र विद्यार्थीप्रति  समर्पित र प्रतिवद्ध छैन भने ऊ  वास्तवमा शिक्षक होइन I

 त्यसैले शिक्षक तयारी र व्यवस्थापन राज्यको प्रमुख प्राथमिकता हुनु पर्दछ I  त्यो भनेको शिक्षकहरूको तयारी , चयन, शिफारिस, नियुक्ति र अभिप्रेरणाका नीति र संरचना हुन् I

विद्यार्थीहरूको  गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारलाई  सुनिश्चित गर्ने कार्यको आरम्भ शिक्षकहरूको तयारीबाट हुनुपर्दछ  I

त्यो भनेको योग्य , सक्षम र प्रतिवद्ध शिक्षक तयारीको कार्य  शिक्षाशास्त्र पढाइ हुने विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरूमा ध्यान केन्द्रित गर्नु जरूरी हुन्छ  I

देशलाई र समाजलाई योग्य शिक्षक दिने सामर्थ्य ती विद्यालय महाविद्यालय र विश्वविद्यालयहरूले राखेनन् वा राख्न सकेनन  भने शिक्षा शुरुदेखि नै खण्डित र अधुरो हुन पुग्दछ I

हाम्रो शिक्षाको समस्या यहाँबाट शुरु भएको छ  I   

त्यस पछि समस्या शिक्षकहरुको छनौटमा छ I

योग्य , सक्षम, प्रतिवद्ध र स्वाभाविक र स्वचालित रुपमा नै  निरन्तर अभिप्रेरित शिक्षकको छनौट हाम्रो राष्ट्रिय प्राथमिकता नै बन्न सकेन I

सक्षम, स्वाभिमानी र उत्साही युवाहरूलाई शिक्षण पेशामा प्रवेश गर्न प्रोत्साहन दिन सकिएको छैन I  उनीहरुको आशा, अपेक्षा, भावनालाई सम्मानगर्न सकेको छैन शिक्षा क्षेत्रले I

नीतिमा र व्यवहारमा पनि प्रतिभा, निष्ठा र प्रतिवद्धता प्रतिवन्धित हुने क्षेत्र बनेको छ शिक्षा I  त्यस्तो क्षेत्रले राष्ट्र र समाजको स्नेह र सम्मान आर्जन गर्न सक्दैन I

राष्ट्रको उर्जा र क्षमताको नेतृत्व गर्न सक्दैन I

त्यसैले शिक्षा क्षेत्रले शिक्षकहरुको सामूहिक उर्जा, शक्ति र विश्वास पाउन सकेको छैन I

त्यसैले मुलुकको शिक्षा पराजित, निरिह र लाचार  छ I

अनि शिक्षाको त्यही पराजय, निरीहता र लाचारी मुलुकको पराजय, निरीहता र लाचारीमा रुपान्तरण भइरहेको छ I

त्यसैले नेपालको वर्तमान शिक्षाको समस्या तथा चुनौतीको सामना गर्न एकै पटक सरकार, विश्वविद्यालय प्रणालीहरूमा ब्यापक सुधार र परिवर्तन आवश्यक छ I यसमा फिनल्याण्डबाट  धेरै सिक्न सकिन्छ I

. गुणस्तरीय शिक्षक सुनिश्चित गराउने सम्वन्धी प्रस्तावित मार्गचित्र 

.१. शिक्षा शास्त्र सम्वन्धी विद्यालय, महाविद्यालय र विश्वविद्यालय सम्वन्धी व्यवस्था

शिक्षाशास्त्र पढाइ हुने सबै विद्यालय ,महाविद्यालय र  विश्वविद्यालयहरूको पाठ्यक्रम, शिक्षण-सिकाई र सिकाई परियोजनाहरुको गुणस्तर निर्धारण, मापन र अनुगमन गर्ने एउटा निर्णायक राष्ट्रिय संरचना आवश्यक देखिन्छ I

शिक्षा शास्त्र सम्वन्धी कक्षा र  सङ्काय संचालन गर्ने सबै विद्यालय , महाविद्यालय र

अत्यन्त स्तरीय र कडा  पेशागत अनुमति परिक्षा (लाइसेन्स)मा निश्चित  प्रतिशत भन्दा कम उत्तीर्ण भए भने त्यस्ता स्कूल र कलेजहरुको स्वीकृतिलाई नै  रद्ध गर्ने व्यवस्था आवश्यक हुन्छ I I

.२. शिक्षकहरूको छनौट व्यवस्था

शिक्षण पेशाको सम्मान र मर्यादा पेशामा  प्रवेशगर्नेहरुको योग्यता र क्षमताले निर्धारण गर्ने भएकोले  माथि उल्लेखित प्रक्रियाबाट विश्वविद्यालयको अध्ययन पुरा गरेका व्यक्तिहरू मध्ये पनि सबैभन्दा योग्य, सक्षम, प्रतिवद्ध र अभिप्रेरित सेवा प्रवेशार्थीहरूलाई विद्यालयमा प्रवेश गराउने व्यवस्था गरिनु पर्दछ I I  

तसर्थ, अत्यन्त कडा  छनौट परीक्षा , पेशागत  प्रशिक्षण  अनि  कक्षा कोठामा योग्य सावित भएकालाई मात्रै सेवामा  प्रवेश पाँउने व्यवस्था हुनु पर्दछ I 

हाल शिक्षक सेवा आयोगले शिक्षकहरुलाई शिक्षण  अनुमति पत्र दिने र शिक्षक छनौट गर्ने दुवै कार्य गरिरहेको छ I

एउटा त शिक्षक सेवा आयोग शिक्षा मन्त्रालय मातहतको एउटा संरचनाको रुपमा रहेकोले उसले विभिन्न  चरित्रका जायज-नाजायज राजनीतिक दवाव बेहोरिरहनु परेकोले  स्वतन्त्र ढङ्गले  योग्यतम शिक्षकहरुलाई चयन गर्ने दायित्वमा आयोग प्रभावकारी हुन सकिरहेको छैन I

अर्को, आयोगद्वारा चयन भै  शिफारिस भएका शिक्षकहरुको नियुक्तिमा समेत विभिन्न अनुचित दवावहरू परिरहने गरेकोले यसले स्वयम् आयोग र नियुक्तिकोलागि  शिफारिस भएका व्यक्तिहरुको मनोबलमा समेत नकारात्मक असर परिरहेको  कुरालाई अस्विकार गर्न सकिंदैन I

त्यसैले आयोग संवैधानिक वा संवैधानिक चरित्रको स्वतन्त्र र स्वायत्त हुनुपर्नेबारे नेपालका शिक्षकहरूका सँस्थाहरूले  शुरु देखिनै माग गर्दै आएका हुन् I

अर्को विद्यालय तहका हजारौं –हजार शिक्षकहरुको शिक्षण अनुमति पत्रको परीक्षा र शिक्षक छनौटको परीक्षा संचालन गर्नु परेकोले शिक्षक सेवा आयोग कार्य बोझको कारणले पनि सक्षम र प्रभावकारी हुन सकेको  छैन I

त्यसैले शिक्षण अनुमति पत्रकोलागि अलग्गै स्वतन्त्र र स्वायत्त संरचना गठन गर्न सकिन्छ I

शिक्षक सेवा आयोग लोक सेवा आयोगको चरित्रको संवैधानिक नै हुनुपर्दछ  वा लोक सेवा आयोगलाई नै शिक्षकहरूको छनौट गरी शिफारिस गर्ने वा वर्तमान शिक्षक सेवा आयोगलाई लोक सेवा आयोगको मार्गदर्शनमा काम गर्ने गरी संवैधानिक प्रवन्ध मिलाउन पनि सकिन्छ I

आयोगले शिफारिस गरेका शिक्षकहरूलाई बढीमा ४५ दिन भित्र नियुक्ति प्रदान गरी कामकाज नगराएमा त्यस्त  व्यक्ति विरुद्ध कानूनी कारवाही हुने र त्यस अवस्थामा  सम्वन्धित अधिकारी तत्काल निलम्वित हुने व्यवस्था गरिनु पर्दछ I

.३. शिक्षकहरुको नियुक्ति, सेवा–सुविधा सम्वन्धी  व्यवस्था 

उपरोक्त बमोजिम शिक्षण अनुमति प्राप्त गरी शिक्षक सेवा आयोगबाट शिफारिस भइ कक्षा शिक्षण परीक्षणमा उतीर्ण  व्यक्तिलाई नियुक्ति दिनु नेपाल सरकारको कर्तव्य हुने र सरकारले निर्णय गरी  स्थानीय तहको  कुनै अधिकारीलाई त्यस्तो नियुक्ति दिने अधिकारीको रुपमा तोक्नसक्ने व्यवस्था गर्न सकिन्छ I

उपरोक्त प्रक्रिया अवलम्वन गरी नियुक्त भएका शिक्षकहरुको तलव लगायतका सुविधा र सेवा उप्रान्तका सबै सुविधाको दायित्व नेपाल सरकारको हुनु पर्दछ I

प्रान्त वा स्थानीय निकायले पनि आफ्नो दायित्व अन्तर्गत विद्यालय सन्चालन गर्नसक्ने व्यवस्था गर्न सकिन्छ तर  त्यस्ता  विद्यालयहरुमा नियुक्त गरिने शिक्षक माथि उल्लेख गरिए अनुसार शिक्षण अनुमति पत्र लिएका व्यक्तिहरु मध्येबाट हुनु पर्दछ र नियुक्ति सम्वन्धी व्यवस्था शिक्षक सेवा आयोगको परामर्श अनुसार हुनु पर्दछ I

.४. शिक्षण पेशा, शिक्षक युनियन र सिंगो शैक्षिक प्रणालीको स्वास्थ्य

विगतका वर्षहरुमा धेरै मुलुकहरुले शैक्षिक प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याएका छन । गुणस्तरमा आमूल सुधार ल्याएका छन ।

तर ती कुनै पनि मुलुकमा त्यस्तो सुधार आन्दोलन, धर्ना, हड्ताल, अनसन, वन्द र जुलुसहरुबाट भएको  छैन ।

आपसी सहमति, सद्भाव र विश्वास साझेदारीबाट मात्र भएका छन् I यही मान्यतामा दृढ रहेर करीव एक दशक अघि देखि शिक्षकहरूका सँस्था  र शिक्षा मन्त्रालयवीच सामाजिक संवादको सार्थक अभ्यास र अनुभव नेपालले गरिरहेको छ I

शिक्षामा सुधारका प्रयाशहरूले शिक्षण पेशा, शिक्षक युनियन र सिंगो शैक्षिक प्रणालीको स्वास्थ्यबीचको सम्वन्धको  परिभाषा भने माग गर्दछ । अत्यन्त महत्वपूर्ण सवाल चाँही कुनै कामै नलाग्ने शिक्षकलाई शिक्षा प्रणालीले कति सजिलै अवकाश दिनसक्छ भन्ने मात्र  होइन शिक्षकहरुसंगकै सहमति र विश्वासको वातावरण निर्माण गरेर सिंगो प्रणालीलाई कसरी माथि उठाउँन सक्छ भन्ने हो ।

सेवापूर्व नै शिक्षक तयारी र प्रशिक्षणलाई  कडा भन्दा कडा बनाउने, शिक्षकहरुलाई पेशागत स्वअनुशासन र स्वविवेक प्रयोग हुने वातावरण निर्माण गरेर उनीहरुमा स्वाभिमान र आत्म-विश्वास रोप्ने काम  शिक्षा प्रणालीको प्रमुख चुनौती हो I

शिक्षामा जवाफदेहीता, विद्यालयमा जवाफदेहीता र हरेक विद्यार्थी र उनिहरुको सिकाई प्रतिको परिभाषित र प्रष्ट जवाफदेहीता बेगर शिक्षा उठ्न सक्दैन ।

त्यस्तो जवाफदेहिता बारेको आफ्नो हिस्साको  जिम्मेवारीले मात्रै शिक्षकहरूको सँस्थाले पुनर्जीवन पाउन सक्छ I

अन्य सबै कुरा यथावत रहेर  पनि शिक्षकहरूलाई  जवाफदेही र उत्तरदायी बनाउन  उनीहरूलाई  स्वप्रेरित गराउन सकियो मात्रै पनि शिक्षण सिकाई कार्यक्रममा गतिला उपलव्धिहरू प्राप्त भएको विभिन्न सफल अनुभव  र अध्ययनहरुले बताएका छन् I(१०)

.५. कस्तो कक्षा, कस्ता शिक्षक र कस्ता सिकाई अभ्यास

सानो कक्षा छ भने  शिक्षकले हरेक विद्यार्थीलाई व्यक्तिगत आधारमा चिन्ने, उसका एकएक सिकाइ उपलव्धिको गहन समीक्षा गर्ने,  कसैको सिकाइमा कुनै समस्या देखिए आफैं वा सहकर्मीहरुको परामर्शमा अन्य विधिहरु प्रयोग गर्न सकिन्छ  । 

सानो कक्षा भए मात्र कोही पढाइमा – सिकाइमा पछि नपर्ने र  कमजोर भन्दा कमजोर विद्यार्थीलाई बढी भन्दा बढी ध्यान दिन  सकिन्छ I त्यो  बुझ्नै पर्दछ  र गर्नै पर्दछ ।

अर्को कुरा विद्यार्थीहरुलाई अंक र आंकडाले मात्र  परीक्षण गरिँदैन I त्यो सिकाईको प्राविधिक पक्ष मात्र हो I शिक्षा र सिकाईको  मानवीय पक्षजगाउनु पनि त्यत्तिकै महत्वपूर्ण छ I 

आजको भूमण्डलीकरणको युगमा  शिक्षामा गाउँ र शहर हुँदैन I जात, वर्ण, धर्म, वर्ग र सम्प्रदाय हुँदैन I त्यहाँ व्यक्ति, परिवार, समाज, राष्ट्र  र विश्व मात्र हुन्छ I

हरेक विद्यालयलाई एउटै राष्ट्रिय लक्षबाट परिचालित गराएर  मुलुकका सबै कुनाका विद्यार्थीहरु माझको क्षमता र उपलव्धिमा कम भन्दा कम अन्तर हुनु पर्दछ  ।

.६. शिक्षा :न्यायपूर्ण, समावेशी  र समतामूलक समाज निर्माणको आधार

शिक्षाबाट बाहेक अन्य कुनै पनि बाटो हिंडेर  न्यायपूर्ण, समावेशी  र समतामूलक समाज निर्माणको  गर्न सकिंदैन I

शिक्षकहरु एउटै स्तरका कलेज, विश्वविद्यालयको परिक्षण पद्धतिबाट सेवामा प्रवेश गराउने गरेर मात्र त्यो सम्भव हुन्छ  ।

.७. शिक्षक र पाठ्यक्रम निर्माण र व्यवस्थापन 

विद्यार्थीको सिकाइ उपलव्धिको परीक्षा भनेको विद्यार्थीको नभएर मूलतः शिक्षकको हो I त्यसैले शिक्षकलाई त्यो मर्म आत्मसात गराउने शैक्षिक प्रणालीमा प्रवेश नगराई हामी हाम्रा राष्ट्रिय शैक्षिक लक्ष हाँसिल गर्न  सक्दैनौ I

मूख्य कुरो विद्यार्थीहरुलाई  सिक्न तयार पर्ने अनि  सिकाउने  हो I

त्यसको लागि शिक्षकले आफैं पाठ्यक्रम निर्माण गर्ने व्यवस्था हुनु पर्दछ I

सबै विषयमा सबै तहका विद्यार्थीहरुका लागि राष्ट्रको सामान्य मार्गदर्शन अन्तर्गत रहेर  हरेक शिक्षकले  आफ्ना विद्यार्थीहरुका लागि आफैंले पाठ्यक्रम निर्माण गर्ने, पाठ्यक्रममा आधारित भएर आफैं त्यसको पाठ्य सामग्री तयार गरेर विद्यार्थीलाई दैनिक रूपमा उपलव्ध गराउन सकिन्छ I यसो गर्न सकियो भने निशुल्क पाठ्य पुस्तकको नाउमा अहिले भैरहेका भद्रगोल हट्ने , राज्यको ठूलो व्ययभार कम हुने र त्यो रकम मध्येबाट हरेक शिक्षकलाई ल्यापटप र विद्यालयलाई प्रिन्टर र अन्य पूर्वाधार निर्माण गर्न सकिन्छ I  

निरन्तर पाठ्यक्रमको प्रभावकारिता र विद्यार्थीको  सिकाई उपलव्धिको मुल्यांकन गरेर आफ्नो पाठ्यक्रममा पुनः संसोधन र परिमार्जन गर्ने काम शिक्षक बाहेक कसैबाट हुन सक्दैन I

.८. विद्यार्थीहरू माझको सहकार्यात्मक सिकाई उपलव्धिका अभ्यासहरू

बेलायतको न्यू क्यासल युनिभर्सिटीकी अनुषन्धानकर्ता सुगाता मित्राले गरीव घरपरिवारका  बालबालिका हरुले आफैंले निर्माण गरेका  सिकाइका वातावरणमा आफैंले विभिन्न प्रविधि प्रयोग गरेर परस्पर सहकार्यात्मक सिकाइबाट उल्लेख्य उपलव्धी हाँसिल गरेको र भारतका कतिपय राज्यहरूमा पनि त्यसको सफल प्रयोग भइरहेकोबारे लरेन्स  म्याकक्विलनले उल्लेख गरेका छन् I (११)

.९. विद्यार्थीको  परीक्षा

परीक्षालाई रमाइलो र उत्सुकतापूर्ण  खेलको रुपमा कसरी विकास गर्ने र राष्ट्रिय र अन्तर्राष्ट्रिय मानकमा कसरी सन्तुलनमा राख्ने त्यसको दायित्व शिक्षकलाई नै सुम्पनु पर्दछ I  राज्यले  विद्यालय तहको मध्य र अन्त्यमा मात्र विद्यार्थी र स्वयम् शिक्षकहरुको समेत मूल्यांकनको उद्देस्यले गराइनु पर्दछ I

प्राथमिक र माध्यमिक तहमा बढी मा २० र ३० विद्यार्थी बराबर एक शिक्षकको दरवन्दी र  विद्यालय समयको आधा समय कक्षा  शिक्षणमा र अर्को आधा समय विद्यार्थीहरुको मूल्यांकन, अनुगमन , पृष्ठ पोषण र पाठ्यक्रम निर्माण र समायोजनको लागि दिनु पर्दछ I

शुरुमा विद्यालय तहमा हरेक शिक्षक शिक्षाशास्त्रमा  स्नातक हुनै पर्ने र अर्को  १० वर्ष पछि  हरेक शिक्षक स्नातकोत्तर योग्यताको हुने व्यवस्था आवश्यक छ I

.१०. शिक्षामा निरीक्षण र अनुगमन

उपरोक्त अनुसार गरिने हो, शिक्षकहरुमा आत्मसम्मान र स्वाभिमान जगाउने हो, शिक्षणमा उनीहरुको लगाव बढाउन सकियो , शिक्षण पेशालाई प्रिय बनाउन सकियो र आन्तरिक अभिप्रेरणा निर्माण गर्न सकियो भने   भने शिक्षामा  सरकारी निरीक्षण चाहिंदैन I उत्तरदायित्व व्यवस्थापन र निरिक्षणको जिम्मेवारीका लागि वरिष्ट शिक्षक र प्रधानाध्यापकनै  पर्याप्त हुन्छन I

माथि उल्लेखित पद्धति र प्रक्रियाबाट शिक्षकहरू तयार गरेर , छनौट गरेर स्कूललाई दिने हो भने पाठ्यक्रम –पाठ्य सामग्री , परीक्षण, मूल्यांकन सबै कार्य शिक्षकले नै गर्न सक्छन I

स्कूलहरुलाई शिक्षकको अर्थमा शिक्षक दिए पुग्छ I

४.११. गुणस्तरीय शिक्षा र प्रभावकारी  शिक्षणकालागि हरेक शिक्षकका लागि अलग कक्ष र सोही कक्षमा सम्वन्धित विषयको शिक्षण -सिकाई  क्रियाकलाप

राष्ट्रको भविष्य  भनेको भनेको सुन्दर आशा र सपना बोकेका माथि उल्लेख गरिए  जस्ता कल्पनाशील र सिर्जनशील  बिद्यार्थीहरु हुन  र त्यस्तो आशा र सपना बिद्यालयका कक्षा कोठाहरुबाट बुनिन र आकार लिन  शुरु हुन्छ ।

तर दुर्भाग्यबस नेपालका अधिकांश  बिद्यालयका कक्षा कोठाहरु फोहर, आकर्षण हीन र अव्यवस्थित रहन्छन I

शिक्षा सुधार भनेको कक्षा कोठा सुधार हो, कक्षाकोठाको स्वामित्व निर्माण हो । यसको थालनीका मूख्य  दुइ पक्ष छन - पहिलो शिक्षक तयारी र दोश्रो  विद्यार्थीको सिकाई आवश्यकता र चुनौतीलाई राम्ररी सम्वोधन गर्न सक्ने व्यवस्थित कक्ष अर्थात हरेक विषय पढाउने सम्वन्धित शिक्षकलाई एउटा  ठूलो, राम्रो र सुरुचिपूर्ण कक्ष, जहाँ शिक्षकहरु आफ्ना बिद्यार्थीहरुलाई आफ्नो विषय पढाउन सकुन ।

शिक्षकको आफ्नै कक्ष भएपछि शिक्षकले सो कक्षको व्यवस्थापन, रेख-देख , मरम्मत र सम्भार र त्यही कोठामा सम्वन्धित सबै  शिक्षण सामग्रीलाई समेत हरेक समय र हरेक कक्षाको आवश्यकता अनुरुप मिलाएर  राख्न सक्ने भएकोले उक्त कक्ष सँधै व्यवस्थित सफा - सुग्घर रहिरहने छ ।

यसरी शिक्षकहरुलाई एउटा एउटा शिक्षक कक्ष भएपछि शिक्षकहरुलॆ कक्षाको आवश्यकता अनुरुप बिद्यार्थी प्रवेश गर्नु अघि नै आफ्नो कक्षमा शिक्षण सामग्री संयोजन गर्न सक्ने छन ।

यसले सबै भन्दा ठूलो कुरो बिद्यालयका कक्षा कोठाहरुले शिक्षकहरुको स्वामित्व र नेतृत्व पाउने छन , बिद्यार्थीहरुले व्यवस्थित र सुरुचिपूर्ण अध्यन कक्ष पाउने छन । शिक्षकहरुले आफ्ना बिद्यार्थीहरुका अभिभावकसंग भेट-घाट गर्न र आफू र विद्यार्थीसंग सम्वन्धित बिषयमा छल-फल गर्न र अन्य बिद्यालयका सम्वन्धित बिषय शिक्षकहरु संग विद्यार्थी सिकाईबारे परामर्श गर्न, नमूना कक्षा संचालन गर्न पनि  त्यही कोठा प्रयोग हुनसक्ने छ । यसले बिद्यालयमा एउटा नवीन र सघन शैक्षिक क्रियाकलाप प्रारम्भ गरी सिकाइ उपलव्धि निर्माणमा ठूलो सहयोग पुग्ने बारे आश्वस्त हुन् सकिन्छ ।

कुरा उठ्न सक्छ यसरि हरेक शिक्षकलाई एउटा शिक्षक कक्ष सम्भव छैन  -  स्थानाभाव र बजेट अभाव ठूलो सवाल बनेर आउन सक्छ l  देखाइन सक्छ l  तर साविकका कक्षा कोठाहरुलाई नै शिक्षक कक्षमा रुपान्तर गर्न सकिन्छ  l केही रकमको व्यवस्था गरी संवन्धित शिक्षकलाई नै आफ्नो कक्षलाई आवश्यकता अनुसार मरम्मत सम्भार गरी त्यसलाई नया रुपमा ल्याउने कार्य भार सुम्पन सकिन्छ l

तर त्यसरी शिक्षक कक्षको व्यवस्थागर्न शुरुमा एक चोटी  केही थप रकम आवश्यक पर्ने भए पनि साविकका वारेसविहीन जस्ता लाग्ने कक्षा कोठाको नियमित मरम्मतको खर्च हिसाव गर्ने हो भने यो बढी हुँदैन l अधिकांश ग्रामीण र सहरी क्षेत्रका सार्वजनिक विद्यालयका शिक्षक संख्या हेर्दा अहिले भै रहेको कोठा भन्दा धेरै बढी कोठा जरुरी पर्ने देखिन्न मात्र होइन धेरै विद्यालयहरुमा त भएकै कक्षा कोठाहरु बढी हुने अवस्था पनि देखिन्छ l

मूख्य कुरा शिक्षण र सिकाईको  गुणस्तर हो l  शिक्षा दिनेले राम्रो शिक्षा र श्रोत व्यवस्था गर्नेले  राम्रो श्रोत व्यवस्था गर्नै पर्दछ र विद्यार्थीले राम्रो सिकाइको अवशर प्राप्त गर्नै पर्दछ त्यो उनिहरुको मौलिक अधिकार हो l

त्यसैले सवाल सम्भव - असम्भवको होइन सवाल आवश्यकता, दृष्टि, दर्शन  ईच्छाशक्ति र प्रतिवद्धताको हो  l सवाल बिद्द्यार्थीले गुणस्तरीय सिकाईको अवशर - जुन उनीहरुको मौलिक अधिकार हो पाउने कि नपाउने र त्यो अधिकारको प्रचलनको लागि शिक्षक र सिकाई कक्षको राम्रो तयारी गर्ने - नगर्ने  भन्ने हो l

सबै जिम्मेवार व्यक्ति र संस्थाले चाहेमा र  इमान्दारिता देखाएमा हरेक बिद्द्यार्थीको गुणस्तरीय सिकाईको अधिकारलाई प्रचलन गराउन “हरेक शिक्षकका लागि एउटा शिक्षक कक्ष” चांडै नै एउटा सुन्दर, सरल र जिम्मेदार प्रयाश बन्न पुग्नेछ l

********

सन्दर्भ सूची

  1. युभाल नोहा हरारी: ट्वेन्टी वन लेसन्स् फर ट्वेन्टी फस्ट सेन्चुरी,जोनाथन केप , लन्डन, २०१८, पृष्ठ २५९ l
  2. क्याटलिस्ट, सेप्टेम्बर २४, २०१८     
  3. ए पी जे अब्दुल कलाम : इन्डोमिटेबल  स्पिरिट, राजपाल, २००९, पृष्ठ ६५.
  4. कलाम  ऐजन l
  5. जी. एच. सेबाइन : अ हिस्टोरी  अफ पोलिटिकल थट,१९७३, पृष्ठ ५९.
  6. निकोलस स्टर्न : स्ट्रेटेजी फर डिभेलपमेन्ट, वर्ल्ड बैंक, २००२पृष्ठ -९३-९४.
  7. ब्रुस क्युर्री -अल्डर,रवि कन्बर, डेभिड एम मलोन र रोहितन मेढोरा : इन्टरनेसनल डिभेलपमेन्ट - आइडियाज , एक्स्पिरियन्स  एण्ड प्रोस्पेक्टस्, अक्सफोर्ड युनिभर्सिटी प्रेस,२०१४,पृष्ठ-५५५-५६०.     
  8. लर्निङ एण्ड अर्निङ: स्पेसल रिपोर्ट - लाइफ लङ्ग एजुकेसन, दी इकोनोमिस्ट, जनवरी २०१७ पृष्ठ २.
  9. युनाइट फर क्वालिटी एजुकेसन  इआइ पोलिसी ब्रिफ, मिति उल्लेख नभएको l
  10. बार्बरा ब्रन्स,डिओन फिल्मर  र ह्यारी एन्थोनी पेट्रिनोस : मेकिङ् स्कूल वर्क - न्यू  एभिडेन्स अन  एकाउन्टिबिलिटी  रिफर्म्स , वर्ल्ड बैंक,२०११, पृष्ठ १४१-२१०
  11. क्याटलिस्ट, सेप्टेम्बर २४, २०१८     

विश्व शिक्षक दिवसका सन्दर्भमा नेपाल शिक्षक महासंघद्धारा बुधबार आयोजित कार्यक्रममा नेपाल शिक्षक सङ्घ र नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष भट्टराई द्धारा प्रस्तुत कार्यपत्र ।