Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

अर्कै प्रणालीबाट मापन, लक्ष्य भन्दा पहिल्यै सफलता !

शनिबार, २० असोज २०७५

काठमाडौं - विगत बर्षहरुमा हुँदै आएको भन्दा भिन्न प्रणालीबाट गरिएको मापनमा त्रिभुवन विश्वविद्यालय उत्कृष्ट एक हजारमा पर्न सफल भएको छ । बेलायत स्थित टाईम हाईयर एजुकेशनले गरेको सर्वेक्षणले त्रिविलाई उत्कृष्ट एह हजार विश्वविद्यालय भित्र रहेको देखाएको हो ।

यस अघि सन् २०१७ मा वेभ र्याङ्कले गरेको मापनमा विश्वविद्यालयको स्तर ३ हजार ८ सय ४१ थियो । यही र्याङ्किङ्को प्रतिस्पर्धामा विश्वविद्यालयले आफूलाई सन् २०३० भित्र उत्कृष्ट एक हजारमा पार्ने लक्ष्य तय गरेको थियो । तर, टाईम हाईयर एजुकेशनले गत सेप्टेम्बर २५ देखि २७ सम्म सिंगापुरमा आयोजना गरेको कार्यक्रममा त्रिविको र्याङ्किङ् हजार भित्र भएको सार्वजनिक गरिएको छ । यस अघि हुने गरेका सर्वेक्षणहरु वेभसाईटमा आधारित हुने र त्यहाँ विश्वविद्यालयको कुनै पनि सहभागिता नहुने तर्क गर्दै त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाले यस पटक त्रिविले संस्थागत रुपमा उपलब्ध गराएको तथ्याङ्क विश्लेषण गरेर उक्त संस्थाले स्तर निर्धारण गरेको दावि गरे । उक्त कार्यक्रममा सहभागि भएर फर्के पछि खनियाले यो विश्वविद्यालयको ठूलो उपलब्धि भएको पनि उल्लेख गरे ।  

'त्रिविले आफ्नो कार्यक्रम बनाएरै प्रतिस्पर्धामा संस्थागत रुपमा प्रवेश गरेको हो, प्रतिस्पर्धामा गएर ठिक गर्यौं, गरेनौ भन्ने तर्फ म जान चाहन्न' उक्त उपलब्धिको खुसीयाली मनाउन भन्दै विश्वविद्यालयद्धारा शुक्रबार साँझ आयोजित कार्यक्रममा खनियाले भने 'पोजिसन जे सुकै होस् भनेर हामी उत्रिएका थियौं, हाम्रो स्टाटस ठिक रहेछ भन्ने प्रमाणित भयो ।'

यस अघि विश्वविद्यालयको स्तरका बारेमा अरुले बताईदिएकै आधारमा विश्वास मानेर बस्दै आएकोमा यस पटक विश्वविख्यात संस्था मार्फत् आफ्नो स्तर यकिन भएको उनले बताए । विश्वविद्यालयको वेभसाईट हेरेर मात्रै उत्कृष्टता पहिचान हुँदै आएको उनको दावि छ ।

'कसैले तँ त पुड्को छस् नी भन्देकै भरमा, हो म त पुड्कै हुँ ! भनेर अझै कुप्रिदैं हिँड्ने जस्तो हिनभावनाले काम गरेको रहेछ, यस पटक हामीले  हाम्रो स्तर कस्तो हो विश्लेषण गरेर बताईदिने विश्वविख्यात संस्था मार्फत् यकिन गरेका छौं' उनले भने 'संयोगमै सही यसपटक हामी त्यहाँ पुग्यौं, अब ब्यवस्थित तरिकाले योजनावद्ध भएर कार्य गर्ने छौं ।'

यस्ता र्याङ्किङ्को प्रतिस्पर्धामा आफैं जाने हो की, निवेदन हाल्ने हो की, भन्ने जस्ता कुरै थाह नहुँदा नहुँदै पनि विश्वविद्यालयलाई गुणस्तरको कसीमा हालिएको उनले बताए ।  

'हामीले गर्दै आएका काम निकै स्तरीय रहेछन्, यहाँका प्राध्यापपकहरुले गरेका अनुसन्धानलाई हामीले ब्यवस्थित गर्न सकेका रहेनछौं' उनले भने, 'भईरहेकै कामलाई ब्यवस्थित गर्ने र विश्वविद्यालयको पहुँच तथा सेवा क्षेत्रका बारेमा ब्यवस्थित डाटा उपलब्ध गराउने हो भने अहिल्यै हाम्रो स्तर अझ माथि हुने रहेछ, आउँदा दिनमा थप ब्यवस्थित गर्दै अघि जाने योजना बनाउँछौं ।'

उक्त संस्थाले सन् २००४ देखि विश्वविद्यालयको तह निर्धारण गर्दै आएको छ । सर्वेक्षणमा विभिन्न १३ वटा सूचकाँकहलाई पाँच समूहमा विभाजन गरी अँक प्रदान गरिएको थियो । जसमा त्रिविले टिचिङ् र रिसर्चमा ६ दशमलब ६, साईटेसनमा ३५ दशमलब ७, ईण्डस्ट्रि ईनकममा ३४, ईन्टरनेशनल आउटलुकमा ४५ दशमलब २ गरी औसतमा १९ देखि २५ दशमलब ९ अंक प्राप्त गरेको विश्वविद्यालयले जनाएको छ ।

आउँदै गरेको दशैं, तिहार, नेपाल सम्बत, ईद र छठ पर्वको शुभकामना दिन तथा उक्त खुसीयाली मनाउन भन्दै आोजित सो कार्यक्रममा रजिष्टार डा. डील्लीराम उप्रेतीले यो उपलब्धिले विश्वविद्यालयलाई सम्भावनाको सागरमा पुर्याएको बताए । देशका विभिन्न एनजीओ आईएनजीओ र सरकारले विश्वविद्यालयका प्राध्यापकहरु मार्फत् गराउने अनुसन्धानलाई विश्वविद्यालयकै सम्पत्ति बनाउने हो भने यो र्याङ्किङ्मा अझै सुधार हुने उनको दावि छ ।

'देशमा भएका ९९ प्रतिशत अनुसन्धान त्रिविका प्राध्यापकहरुले गरेका छन्, तर करले समात्छ भन्ने डरले त्राहीमाम छन्, त्यसैले विश्वविद्यालयको साईटेसन हुँदैन' उनले भने 'यस्तो विषयमा नीतिगत सुधार गर्ने वित्तिकै हाम्रो स्तर अझ सुधार हुन्छ ।'

कार्यक्रममा उपस्थित विश्वविद्यालय अन्र्तगत निकायका प्रमुख, विभिन्न संकायका डीन तथा प्राध्यापकहरुले विश्वविद्यालयको स्तर उत्कृष्ट नै रहेको बरु यसको आन्तरिक ब्यवस्थापनमा सुधार गर्नु पर्ने बताएका थिए । प्राध्यापकहरुको भूमिका र जिम्मेवारीलाई ब्यवस्थित गर्ने तथा वृत्तिविकासमा ध्यान दिने तर्फ विश्वविद्यालय गम्भिर हुन आवश्यक रहेको उनीहरुको भनाई थियो ।

७७ जिल्ला मध्ये ७६ जिल्लामा विश्वविद्यालयको पहुँच छ । पाँचवटा अध्ययन संस्थान र ४ वटा संकाय अन्र्तगत त्रिविमा ३ लाख ७६ हजार ४ सय २७ विद्यार्थी अध्ययनरत छन् । स्नताक र स्नातकोत्तर तहमा गरी २ सय ९२ वटा शैक्षिक कार्यक्रम ७ हजार ९ सय २० शिक्षक र ८ हजार ९४ कर्मचारी रहेको विश्वविद्यालयले जनाएको छ । 

प्रतिक्रिया