फरक क्षमताका बीच सपांग विद्यार्थी


काठमाडौं २३ असोज / मनीषा पाठक सुन्न–बोल्न सक्छिन् । तर, उनी कक्षा १० मा समावेशी शिक्षाअन्तर्गत फरक क्षमता भएका साथीहरूसँग पढ्छिन् ।

यसरी पढ्दा उनलाई दुई प्रकारको फाइदा भएको छ । आर्थिक रूपमा कमजोर भएकाले परिवारले नि:शुल्क खाने, बस्ने व्यवस्थासहित पढाउन पाएको छ । साधारण पढाइसँगै उनले सांकेतिक भाषा पनि जान्ने मौका पाएकी छन् । यसबाट दोभाषे भएर काम गर्न र आफ्नो क्षमताले अन्य जागिर खान उनलाई दुईवटा विकल्प प्राप्त भयो ।

कक्षा ९ देखि उनले कम्प्युटर इन्जिनियरिङ पढेकी छन् । यसले प्राविधिक ज्ञान पनि थप्दा उनलाई बजारमा सहजै जागिर पाउने आस छ । कक्षा १२ सम्मको पढाइ हुने बाग्लुङ्को धौलागिरि बहिरा माविमा हरेक कक्षामा पाठकजस्तै एक/दुईजना सपांग विद्यार्थी अध्ययनरत छन् । यो पढाइले उनीहरूको भविष्यको रोजगारी सुरक्षित बन्दै गएको प्रधानाध्यापक मधुसुदन निउरे बताउँछन् । कक्षा १२ पढ्ने बहिरा सुनीता शर्माले पनि कम्प्युटरसम्बन्धी धेरै ज्ञान पाएकाले स्वरोजगारमूलक व्यवसाय गर्न सक्ने बताइन् । उनले यो शिक्षाबाहेक गुडिया बनाउने र सिलाइ कटाइ सीप पनि सिकेकी छन् ।
सुरु–सुरुमा निजी स्रोतबाट सञ्चालित उक्त विद्यालय पछिल्लो समय पूर्णसरकारी स्वामित्वको भएको छ । हाल यहाँ २ सय ५० बहिरा बालबालिका पढ्छन् । साथै १० प्रतिशत सामान्य बालबालिकालाई पढाउने व्यवस्था गरिएको व्यवस्थापन समिति सदस्य केबी रानाले बताए । ‘समावेशी शिक्षा भनेको साधारण विद्यार्थीको भीडमा एक/दुई फरक क्षमताका पनि राख्ने सरकारी मान्यता हामीले परिवर्तन गरेका छौं,’ उनले भने, ‘धेरै अपांगता भएकाको भीडमा सामान्य विद्यार्थीलाई पनि पढाउन सकिन्छ भन्ने यो उदाहरण हो ।’ अन्य समावेशी शिक्षामा मिसाइएका अपांगताबाट तथ्यांकमात्र देखाउने काम भएको उनले टिप्पणी गरे ।

बहिरा विद्यालयमा पढेका सामान्य विद्यार्थी भने भाषाको ज्ञान, प्राविधिक शिक्षा र आर्थिक अभावबाट मुक्त भएको उनले दाबी गरे । यो विद्यालयका सबै बालबालिकाले सांकेतिक भाषामा पढ्छन् । नेपाल र संसारभर लागू हुने सांकेतिक भाषा पढदा रोजगारीका लागि विदेश गएर पनि सहजै काम गर्न सक्ने बनेको प्रधानाध्यापक निउरेले बताए । ‘अपांगता भए पनि बहिराले सामान्य नागरिकसरह काम गर्न सक्छन्,’ उनले भने, ‘विशेष प्रकारको मेसिन जडान गर्दा कान पनि सुन्न थालिएको छ ।’ लामो समयसम्म अभ्यस्त भइसकेकाले अधिकांशले मेसिन लगाउन मान्दैनन् । केहीले भने लगाएका छन् ।

नृत्य, खेलकुद र चित्रकलामा बहिराले राम्रो प्रगति गरिसकेका छन् । यहाँका विद्यार्थीले कक्षा १२ उत्तीर्ण गर्दा सिलाइ कटाइ, पम्बिङ र हाउस वायरिङ जस्ता सीप सिकेर बाहिरिएका छन् । कक्षा ९ देखि नै विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गरेर प्राविधिक शिक्षाको पहल गरेको हो । कम्प्युटर शिक्षासहित व्यावसायिक सीपहरू सिकेर बाहिरिँदा उनीहरूलाई बजारमा काम पाउन सहज भएको हो ।

बागलुङ बजारका होटल र रेस्टुरेन्ट, व्यावसायिक फर्ममा उनीहरूले रोजगारी पाएका छन् । केहीले मेसिनरी सामानको मर्मत केन्द्र खोलेका छन् । केहीले प्लम्बिङको काम गर्छन् । ‘लोकसेवा दिएर जागिर पाउन हामीलाई कठिन छ,’ तनहँुका शिशिर गुरुङले भने, ‘प्लम्बिङमा भने जसले पनि बोलाउँछ, राम्रो कमाइ पनि छ ।’ सामान्य शिक्षासँगै पाएको सीपमूलक तालिमले यो रोजागारीको अवसर दिएको हो ।’ गुरुङलाई खानेपानीको पाइप जडान गर्नेदेखि धेरै काममा बोलाउँछन् । यसबाट मासिक ३० हजारदेखि ४० हजार रुपैयाँसम्म कमाउन सकिने उनको अनुभव छ ।

जिल्लामा समावेशी शिक्षाका लागि केही विद्यालय सञ्चालित छन् । बलेवास्थित जनताधन माविमा दृष्टिविहीन विद्यार्थी सामान्य विद्यार्थीसँग मिलेर पढ्छन् । गलकोट माविमा पनि बहिराको पढाइ हुन्छ । शारीरिक अपांगता भएकालाई सबै स्थानमा खुला छ । तर, भौगोलिक कठिनाइले उनीहरू पढ्न सकेका छैनन् । ‘सामान्य विद्यार्थीसँगै अपांगतालाई पढाउने काम समावेशी हो,’ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कुश्मराज उपाध्यायले भने, ‘बहिरा विद्यालय भने त्योभन्दा फरक छ । उसले गरिब र जेहेन्दार विद्यार्थीलाई बहिरासँगै समावेश गरेको छ ।’

कान्तिपुरमा प्रकाश बरालले लेखेका छन् ।