Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकको नतिजा दशैं अघि नआउने, खुल्लामा ८० प्रतिशत सहभागि

मंगलबार, २३ असोज २०७५

भक्तपुर - अस्थायी शिक्षकको परीक्षाफल दशैं अघि सार्वजनिक नहुने पक्का भएको छ । गत असार २९ र ३० गते भएको परीक्षा पश्चात आयोगले दशैं अघि नतिजा सार्वजनिक गर्ने बताएको थियो । 

तर, आयोगले अहिले सम्म सबै कापी परीक्षण समेत सकेको छैन । परीक्षण पछि रुजु गर्ने, ईण्ट्रि गर्ने र पुन रुजु गर्ने प्रकृया बाँकी हुन्छ । उक्त चरणमै नपुगेको आयोग श्रोतले जनाएको छ । 

यही बीचमा परेको खुल्लाको परीक्षा ब्यवस्थापन गर्नु परेकाले पनि नतिजा प्रकाशनको पूर्व योजना पुरा हुन नसकेको आयोगका अध्यक्ष ताना गौतमको तर्क छ । 

यही विचमा शिक्षा मन्त्रालयले कर्मचारीको सरुवा गरिदिदाँ पनि काममा प्रभाव परेको उनले बताए । आयोगमा रहेका सात जना उपसचिव मध्ये ५ जना नयाँ आएका छन् । 

'जसले पहिले काम गरिरहेका थिए उनीहरुका ठाउँमा नयाँ ब्यक्ति आएपछि स्वभाविक रुपमा केही अलमल हुनु सामान्य नै भयो' उनले भने, 'परीक्षाफल प्रकाशनको काम भनेको निकै संवेदनशील त हुँदै हो, सानो मात्रै त्रुटी भएमा पनि सच्याउनै पर्यो, त्यसले समय धेरै लिन सक्छ, त्यस माथि यही बीचमा खुल्लाको पनि परीक्षा सम्पन्न गर्नु परेकाले दशैं अघि नतिजा सार्वजनिक गर्ने सम्भावना कम भयो ।'  

एकै पटक गर्न नसके पनि यस अघि आयोगले नतिजा सार्वजनिक गर्ने प्रचलन जस्तै केही तह र जिल्लाको मात्रै भए पनि गर्न सकिन्छ की भन्ने सोचे पनि त्यसको समेत अवस्था नभएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलिया बताउँछन् । 

'जनशक्ति यही हो, भएको पुरै शक्ति खुल्लामा लगाएर परीक्षा सम्पन्न गरिएको छ' उनले भने, 'यसले गर्दा दशैं अघि नतिजा निकाल्ने पूर्व योजना सफल हुन सकेन ।' 

कूल २२ हजार ७६ पदका लागि भएको अस्थायी शिक्षकको परीक्षाको तिनै तहमा गरी २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए । जसमा  प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए । निमाविका लागि आवश्यक ३ हजार २ सय ३४ पदका लागि ३ हजार ५ सय ७५ जनाले प्रतिस्पर्धा गरेका छन् । यस्तै २ हजार ३ सय १० पद रहेको मावि तहमा २ हजार ९ सय ७० जनाले प्रतिस्पर्धा गरेका छन् । 

यसैविच गत असोज ११, १२ र १३ गते भएको खुल्लाको परीक्षामा फारम भरेका मध्ये लगभग ८० प्रतिशत सहभागि भएको थपलियाले जानकारी दिए । 

'अन्तिम तथ्याङ्क संकलनको काम त जारी नै छ, तर मोटामोटी आँकलन गर्दा ८० प्रतिशत परीक्षार्थी सहभागि भएको देखिन्छ' उनले भने । सबै केन्द्रका परीक्षार्थीको कापी आयोगमा आईसकेको पनि उनले बताए  ।

विज्ञापनमा २ लाख ८२ हजारले आवेदन गरेका थिए । उक्त परीक्षाका लागि आयोगले ३४ जिल्लामा परीक्षा केन्द्र निर्धारण गरेको थियो । 

आयोगले गत जेठ ३१ गते प्रावि र असार १ गते निमावि तथा माविको खुल्ला विज्ञापन गरेको थियो । प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ पदमा विज्ञापन गरिएको छ । उक्त विज्ञापन अन्र्तगत असोज ११ गते माविको, १२ गते निमाविको र १३ गते प्राविको परीक्षा भएको थियो । 

प्रतिक्रिया