स्कुल बनाउन सत्तल मासिंदै


काठमाडौं २६ असोज / राजधानीको एक स्कुलले धार्मिक महत्त्वको सत्तल मासेर विद्यालयको थप भवन बनाउने योजना बनाएको छ । कालिमाटीस्थित निलबाराही मन्दिर क्षेत्रको नाममा रहेको एउटा सत्तल मासेर नयाँ भवन बनाउने योजना अघि बढेको हो । त्यहाँ तीन सत्तल छन् ।

मन्दिरका गुठियारको विरोधका कारण विद्यालयको योजना सफल भने भएको छैन । ‘स्कुलमा विद्यार्थी बढ्दै गए,’ विद्यालयकी प्रधानाध्यापक डा. जानुका नेपालले भनिन्, ‘कतै ठाउँ पाइएन । म पनि सम्पदाप्रेमी हुँ । मास्न मन त छैन । केही नलागेपछि के गर्नु ? सम्पदाभन्दा त स्कुलै महत्त्वपूर्ण हो नि । कतै ठाउँ पाइयो भने अन्तै बनाउँछौं । यसका लागि विद्यालय व्यवस्थापन समितिसँग कुरा राख्छु ।’

२०१० सालमा वकिल मुक्तिनाथ झाले खोलेका हुन् यो विद्यालय । टोलमा स्कुलको आवश्यकता महसुस गरेर गुठियारले यहाँका तीनवटै सत्तलमा पढाउन अनुमति दिएका थिए । ‘सत्तलभन्दा स्कुलै महत्त्वपूर्ण ठानेर पढाउने अनुमति दिए हाम्रा पुर्खाले,’ स्थानीयबासी अनिल तुलाधर भन्छन्, ‘पहिला सत्तलमा पढाइयो । सत्तल उनीहरूकै भयो । पछि स्कुलमा मावि संचालन भयो । हामीले हाम्रो सांस्कृतिक गतिविधि हुने चौर दियौं । चौरमा भवन बनाउँदा केही भनेनौं । अहिले त सत्तलै भत्काइदिने कुरा पो गर्छन् । यो हाम्रो संस्कृतिमाथि ठाडो अतिक्रमण हो ।’

नीलबाराही मन्दिरको उत्तर, दक्षिण र पश्चिमतिर सत्तल छन् । त्यसमध्ये दक्षिणको एक तला मन्दिरका गुठियारलाई दिइएको छ । अरू सत्तल अहिले पनि विद्यालयले प्रयोग गरिराखेको छ । उत्तरको सत्तलको माथिल्लो तलामा पुस्तकालय संचालन गरिएको छ । तल्लो तला भने भाडामा दिइएको छ । भाडामा दिइएको कोठामा क्यान्टिन चलाइएका छन् ।

विद्यालयले यही सत्तल भत्काएर स्कुल बनाउने योजना बनाएको हो । सत्तल भत्काएर स्कुल बनाउन पुनर्निर्माण प्राधिकरणले बजेट समेत दिएको प्राधानाध्यापक नेपालले जानकारी दिइन् । ‘६ कोठे भवन बनाउन बजेट स्वीकृत भइसकेको छ,’ उनले भनिन्, ‘यो योजना दुई वर्षका लागि हो । दुई वर्षभित्रमा भवन बनाउन सकिएन भने रकम फिर्ता जान्छ । फेरि पैसा जुटाएर भवन बनाउन मुस्किल हुन्छ । त्यही भएर यो सत्तल भत्काएर अर्काे बनाउने, अनि त्यसको तल्लो तलाचाहिँ गुठियारलाई नै प्रयोग गर्न दिने योजना बनाएका छौं । तर गुठियार मानेका छैनन् ।’

विद्यालयले यो सत्तल भत्काउन नदिने भए पश्चिमतिरको चौरमा भए पनि बनाउन तयार भएको बताएको छ । चौर पनि गुठियारले दिन मानेका छैनन् । चौरमा नेवार समुदायका थुप्रै जातीको कुलपूजा गर्ने ठाउँ भएकाले यसलाई पनि मास्न गुठियार मानेका छैनन् । ‘यहाँ धेरैको शक्तिपिठ छ,’ नीलबाराही गुठीका सचिव त्रिरत्न महर्जन भन्छन्, ‘२० नम्बर वडाबाट देउता ल्याएर विराजमान गर्ने ठाउँ हो यो । यहाँ धेरै जातीले देवाली गर्छन् । यस्तो महत्त्वपूर्ण ठाउँ मास्नु ? यस्तो हुन हामी दिंदैनौं ।’ यहाँ महर्जन, शाक्य, रन्जितकार, नापित, नकर्मी लगायतका कुलदेवता छन् ।

यहाँ दसैं र पाहाचर्‍ये पर्वमा ठूलो मेला लाग्छ । दसैंमा नवमीको दिनमा खड्ग जात्रा लाग्छ । क्वहिटीको आगमघरबाट खटमा राखेर देवता यहाँ ल्याइन्छ । देवताको खट विष्णुमती नदीबाट तार्नुपर्छ । रथ त्यहाँबाट तारिए पनि अघिपछि हिंड्ने सबैजना नदी तर्न सक्दैनन् । त्यही भएर उनीहरूका लागि काठको अस्थायी पुल बनाउने चलन छ ।

जात्रा सकिएपछि काठको पुल झिक्ने झलन छ । ‘यसरी झिकेको काठ दक्षिणतिरको सत्तलको माथिल्लो तलामा राख्ने चलन थियो,’ महर्जन भन्छन्, ‘त्यो ठाउँमा अहिले स्कुलको प्रशासनिक काम हुन्छ ।’ अहिले काठको पुल राख्ने चलन भने हराएको छ । त्यो ठाउँमा फलामको पक्की पुल बनेको छ ।

कान्तिपुरमा दामोदर न्यौपानेले लेखेका छन् ।