Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षक 'लाईसेन्स' पालिकाबाटै, देशभरकाले आवेदन गर्न सक्ने

शुक्रबार, २६ असोज २०७५

सिन्धुपाल्चोक - आफ्नो क्षेत्र भित्रका विद्यालयमा शिक्षकको अभाव नहोस् भनेर जुगल गाउँपालिकाले अस्थायी अध्यापन अनुमती पत्र  'लाईसेन्स' को परीक्षा सञ्चालनको तयारी गरेको छ । माध्यमिक तथा आधारभूत तहका अँग्रेजी, गणित र विज्ञान विषयको पठन पाठनलाई सहज बनाउने भन्दै यस अघिनै जारी शिक्षा ऐनका आधारमा विज्ञापन गरेको पालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । 

संविधानले विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत गरेको अवस्थामा शिक्षा सुधारको दायित्व आफ्नो मुख्य प्राथमिकता पुरा गर्न योग्य शिक्षक आवश्यक हुने भएकोले लाईसेन्सको परीक्षा सञ्चालन गर्न लागेको उनले बताए । देशका जुनसुकै क्षेत्रका नेपाली  नागरिकले कात्तिक १२ गते सम्म दरखास्त दिन सक्ने छन् । परीक्षा मिति भने दरखास्त दिने मिति सकिए पछि तय गर्ने योजना छ । 

उक्त परीक्षाबाट प्राप्त लाईसेन्सको म्याद २ बर्षको हुने छ । दुई बर्ष भित्र पालिकाका कुनै पनि विद्यालयमा शिक्षक आवश्यक परेमा त्यही अध्यापन अनुमति पत्र प्राप्त मध्येबाट छनौट गर्ने श्रेष्ठले बताए । शिक्षक सेवा आयोगको नयाँ पाठ्यक्रम बमोजिम परीक्षा सञ्चालन हुने र यसका लागि पालिकाले यस अघि अनौपचारिक रुपमा नियुक्त गरेका पालिका भित्रकै विज्ञहरुले प्रश्नपत्र बनाउने श्रेष्ठले बताए ।  

माध्यमिक तह सम्मका शिक्षकका लागि स्नातक वा सो सरह र आधारभूतका लागि कक्षा १२ वा प्रविणता प्रमाण पत्र तह उत्र्तीण विद्यार्थीले  दरखास्त दिन सक्ने छन् । दरखास्त दस्तुर माविलाई रु. ५ सय र आधारभूतलाई रु.२ सय तोकिएको छ । आवेदन साथ शैक्षिक योग्यताको प्रमाणपत्र र नेपाली नागरिकताको प्रतिलिपि बुझाउनु पर्ने छ । 

'विद्यालय शिक्षाको दायित्व स्थानीय सरकार अन्र्तगत हुने संवैधानिक ब्यवस्था कार्यान्वयनका लागि आवश्यक परेकाले यो प्रकृया शुरु गरिएको हो' श्रेष्ठले भने, 'शिक्षा सुधार भएन भने जिम्मेवार पक्ष हामी नै हुने भए पछि सुधारका लागि पनि त काम गर्नु पर्यो नी, हामी त्यही सुधारको बाटोमा अघि बढिरहेका छौं ।' 

समयावधि पुगेर शिक्षकको अवकास भयो वा अन्य विभिध कारणले शिक्षकको पद खाली भयो भने विद्यार्थीले पढ्न नपाउने अवस्थाको अन्त्य हुने अपेक्षा श्रेष्ठको छ । देशका विभिन्न विद्यालयमा शैक्षिक सत्र भरी शिक्षक नआएरै विद्यार्थीको कक्षा सकिने उदाहरण धेरै पाहिन्छ । 

'हामी त शिक्षक खाली हुनासाथ नियुक्त गरिहहाल्छौं, हाम्रा क्षेत्रका विद्यालयमा शिक्षक अभाव भन्ने कुरै हुन्न' उनले भने, 'अव लाईसेन्स लिएर तयार शिक्षक बाँकी भएपछि चाँडै मात्रै हैन योग्य शिक्षक कक्षा कोठामा पुग्ने छन्, शिक्षाको गुणस्तर सुधार हुने छ ।' 

पालिका भित्रका ४५ सामुदायिक विद्यालयमा १ सय ६७ शिक्षक कार्यरत छन् । 

स्थानीय सरकार गठन हुनासाथ शिक्षा सुधारमा जुगल गाउँपालिकाले विभिन्न प्रयास गर्दै आएको छ । पालिकाले तत्कालिन जिल्ला शिक्षा कार्यालयलाई शिक्षक सरुवा नगर्न चेतावनी दिएको थियो । 

पढ्नुहोस् : अधिकार क्षेत्र हस्तक्षेप नगर्न शिक्षा कार्यालयलाई गाउँपालिका प्रमुखको पत्र

त्यस पछि शिक्षा ऐन नियमावलि निर्माण, शैक्षिक सम्मेलन आयोजना गर्दै पालिकाले शिक्षा सुधारको प्रयास गरिरहेको छ । 

यो पनि पढ्नुहोस् : शिक्षकको तलबमा सय रुपैंया थप, महिला शिक्षकलाई सय दिने सुत्केरी विदा

पालिकाका अध्यक्ष श्रेष्ठसँग एक बर्ष अघि गरिएको अन्र्तवार्ता पनि पढ्नुहोस् : पुग्ने दरबन्दी नभए, विशेषज्ञ शिक्षक

फाईल फोटो 

प्रतिक्रिया