मर्यादित शैक्षिक वातावरण र नौ 'एम’


शिक्षण संस्थालाई शिक्षा आर्जन गर्ने उत्कृष्ट मर्यादित थलोको रुपमा स्थापित गर्न  विविध पक्षमा ध्यान दिनुपर्ने हुन्छ । भविष्यदर्शी शैक्षिक योजना, समसामयिक पाठ्यक्रम, पेशा प्रति समर्पित जवाफदेही योग्य शिक्षक, कुशल शैक्षिक नेतृत्व, उत्साही निष्पक्ष व्यवस्थापन समिति, अनुशासित विद्यार्थी, सचेत अभिभावक, जागरुक समुदाय, पर्याप्त स्रोतसाधान, सहयोगी सरकारी निकाय गुणस्तरीय शिक्षाका लागि वर्दान हुन । पारदर्शिता, सहभागितामूलक निर्णय, सदाचार र शिष्टताले शिक्षणसंस्थामा सु्शासन र मर्यादित वातावरण कायम गर्न बल पुग्दछ ।

विद्यार्थीको उपलब्धीस्तरको आधारमा शिक्षणसंस्थाको छबी कायम हुने तथ्यलाई आत्मसात गर्दै शिक्षाको नीति नियम तथा योजना विद्यार्थीलाई सर्वोपरि केन्द्रबिन्दु मानेर तर्जुमा गर्नु बुद्धिमानी ठहर्छ । भनिन्छ, बालीनालीको लागि एक बर्ष, फलफूलको लागि दश बर्ष र मानिसलाई सुशिक्षित गर्न कम्तीमा एकसय बर्षको योजना बनाउनु पर्दछ । विद्यार्थीको संख्यात्मक र गुणात्मक अवस्था  शिक्षाका जागिरेहरुको आधार हो । अर्थात विद्यार्थी वास्तवमा शैक्षिक क्षेत्रमा कार्यरत पदाधिकारीहरुका अभिभावक हुन,  किनकि उनीहरुकै कारणले पदिय हैसियत र रोजगारी प्राप्त भएको छ । कस्मेटिक कुरा र कोरा क्युरियो आस्था एवं सिद्धान्तबाट जीवनोपयोगी गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिन्न ।

बालबालिकाको शारीरिक मानसिक तथा संवेगात्मक विकास दु्रत गतिमा भइराखेको हुन्छ । उनीहरुको विकासका गतिलाई सकारात्मक संवोधन गर्ने खालको पढने विषय र पढाउने विधि अवलम्बन गरिनुपर्दछ । बालबालिका स्वभावैले चञ्चले हुने भएकोले उनीहरुको योग्यता, क्षमता र आवश्यकतालाई संवोधन गर्ने गरी शिक्षण सिकाइ क्रियाकलापको तर्जुमा गर्नु निश्चयनै चुनौतिपूर्ण भए पनि असम्भव छैन् । शिक्षणसंस्थामा मर्यादित वातावरण बनाउन कुशल व्यवस्थापन र भविष्यदर्शी योजनाको खाँचो पर्दछ। शिक्षण संस्थामा अनुशासन कायम राख्दै सामाजिक, धार्मिक मुल्य मान्यतालाई आत्मासात गर्दै एक सभ्य सुशिल र प्रतिष्पर्धि जनशक्ति उत्पादन गर्ने उर्जाशील, मर्यादित एवं चित्ताआकर्षक र शैक्षिक वातावरण हुनुपर्दछ । वर्तमानमा माध्यामिक र उच्चमाध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीको उमेर र चाहना अनुसार सही शिक्षा दिने वातावरण बनाउनु चुनौती पूर्ण भएको छ ।

कतिपय अनपेक्षित विकृति, विसंगति र अपसंस्कृति विद्यालयमा अभ्यास गर्ने थलो हुन्छ कि भन्ने चिन्ता र चासो आम शिक्षाप्रेमीमा भएको पाइन्छ ।  भविष्यमा एक सभ्य सुशिल र दक्ष नागरिक उत्पादन गर्न विद्यामान शिक्षा क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई संवोधन गर्नुको विकल्प छैन । खासगरी माध्यामिक र उच्चमाध्यमिक तहका अल्लारे उमेरका विद्यार्थीमा देखिएको विकृतिका कारण र निराकरणका उपायहरुलाई ‘नौ एम’ (9M) मा सुत्रबद्धरुपमा व्याख्या र विश्लेषण गर्ने जमर्को गरिएको छ ।


Management (व्यवस्थापन)

विद्यार्थीलाई गुणस्तरीय शिक्षा हासिल गर्ने उत्कृष्ट थलोको रुपमा स्थापित गर्न त्यहाँ प्रयोग हुने सामग्री, भौतिक संरचना तथा मानवीय व्यवस्थापन प्रभावकारी र रोचक हुनुको विकल्प छैन ।

शिक्षकहरुको बानी व्यहोरा आहार विहार र आचरण बाट पनि धेरै कुराहरु विद्यार्थीले अनुसरण गर्दछन् । शिक्षकहरुले गरेका हरेक कुरा व्यवहार राम्रो हुन्छ भन्ने विश्वास विद्यार्थीले गर्दछन, तसर्थ शिक्षकले जे गर्छ त्यो बोल्नु पर्दछ र जे बोल्छ त्यो गर्नुपर्दछ । विद्यार्थीले लिखित पाठ्यपुस्तक मात्र नभएर अलिखित पाठ्यक्रम (Hidden curriculum) बाट पनि धेरै कुरा सिक्छन् । यसबाट पनि कतिपय जीवनोपयोगी बानी व्यहोरा र आचरण सिक्न सक्दछन् । धेरै कुरा सिकिन्छ ।  विद्यालयमा गरिने हरेक गतिविधि र कार्यक्रमको व्यवस्थापन गर्दा त्यसको असर विद्यार्थीको पठनपाठन र चरित्रमा कस्तो पर्ला भन्ने पूर्व आंकलन गरेर मात्र लागू गरिनुपर्दछ । शिक्षक, अभिभावक व्यवस्थापन लगायतका सरोकार व्यक्ति एवं पदाधिकारीको उदाहरणीय व्यक्तित्व  (Model & Moral) उच्च नैतिकताबाट प्रेरित, सकारात्मक, उदाहरणीय र अनुकरणीय हुनुपर्दछ । जसको लागि व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सेवाभावबाट निर्देशित हुनु पर्दछ ।

Monitoring (अनुगमन)

विद्यार्थीहरुको चालचलन र गतिविधी निरन्तर अनुगमन र निग्रानि राखिनु पर्दछ । उनीहरुमा आउने बानी व्यहोराको परिवर्तनलाई मुल्यांकन गरी अग्रिम सुधारका लागि नीति र रणनीति बनाउनु पर्दछ । यसरी अनुगमन कक्षा शिक्षक र अनुशासन इन्चार्ज (DI) ले विद्यालयमा र अभिभावकले घरमा गर्नुपर्दछ । विद्यार्थीको इच्छा चाहना रुची र क्षमता तथा विद्यमान घर परिवार समाज र समग्र राष्ट्रको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने खालका दूर दृष्टि राखेर शैक्षिक क्रियाकलाप सञ्चालन गरिनुपर्दछ । साथै निरन्तर बस्तुनिष्ठ अनुगमन पश्चात आवश्यकता अनुसार सल्लाह सुझाव प्रदान गरिनुपर्दछ ।

Motivation (उत्प्रेरणा)

विद्यालयका गतिवीधिलाई रोचक बनाएर सिकारु मैत्री बनाउन सकिएमा विद्यार्थीले रमाइलो साथ पुरा समय विद्यालयमानै बिताउन रहर गर्छन । अत.बालबालिका स्कुलबाट भागेर घर वा अन्यन्त्र जाने पुरानो परम्परालाई तोड्दै घरबाट भागेर विद्यालय आउने वातारवरण सफल विद्यालयको सूचक हो । विद्यार्थीको वैयक्तिक विभिन्नता अनुसारको चाहना आवश्यकता अनुसार विषयवस्तु तथा शिक्षण विधि छनौट गरिनुपर्दछ । विद्यार्थी सोही अनुरुप भविष्यमा के वन्ने बारे स्वयंलाई नै छनौट गर्ने मौका दिनुपर्दंछ। नकि अभिभाकहरुको चाहना अनुसार दवावमा पढ्न वाधा बनाउनु हुन्न । तसर्थ विद्यालयमा रुची क्षमता र चाहना  तथा समयको माग अनुसारको विषय अध्ययन गर्ने वातावरण हुनुपर्छ भन्ने यथार्थता विर्सनु हुदैन । अतः कहरले नभई रहरले पढ्ने विषय, विधि र विद्यालय वातावरणको व्यवस्था भएमा विद्यार्थी लगनशील भै अध्ययन गर्ने छन् भन्ने कुरामा दुइमत हुन सक्दैन ।

Morality (नैतिकता)

विद्यार्थीलाइ पाठ्यपुस्तकमा भएका विषयवस्तुका अतिरिक्त सदाचार, शीष्टता, सभ्यता, सामाजिक, सांस्कृतिक, धार्मिक मूल्य र मान्यताको महत्व र त्यसलाई अवलम्वन किन, कहिले कसरी गर्नुपर्छ भन्ने बारेमा धक फुकाएर छलफल गरी विद्यार्थीकै सहभागितामा आचारसंहिता बनाएर परिपालना गर्ने वातावरण बनाउदा शैक्षिक वातावरण अनुशासित एवं मर्यादित हुने यथार्थतालाई नकार्न सकिन्न । आधुनिकीकरण को नाममा दूरगामी परीणामको लेखाजोखा नगरीकन सदाचार र शिष्टाचारलाइ वेवास्ता गरेर कतिपय नकारात्मक बानी व्यहोरालाई अन्धानुकरण गर्ने प्रवृतिलाई बेलैमा सच्याउन चनाखो हुनुपर्छ । विद्यालय चाटुककार भन्दा चारित्रिक, अराजक भन्दा अनुशासित,मनपरी भन्दा मर्यादित, भ्रष्टाचार भन्दा सदाचार, परिक्रमा भन्दा पराक्रमलाई आफ्नो जीवन पद्दतिमा उतार्ने तथा मुठ्ठी कस्ने र चिल्लो घस्ने संस्कारलाई घृणा गर्ने जनशक्ति आजको माग हो। तसर्थ विद्यार्थीको चरित्रलाई उदाहरणीय र अनुकरणीय वनाउदै कम्तिमा पनि नाना, छाना र खानाको लागि अरुको मुख नताक्ने पौरखी नागरिक उत्पादन गर्ने तर्फ सरोकार पक्ष सदैव प्रयत्नशील रहनुपर्दछ ।

Mobile (मोवाइल)

सञ्चारको सशक्त उपकरणको रुपमा मोवाइल प्रयोग हुँदै आएको छ । लगभग उच्च कक्षाका सबै विद्यार्थीहरुमा मोवाइल प्रयोग गर्ने क्रम बढ्दैछ । कक्षाकोठामा समेत पठनपाठनको वखत मोवाइलबाट एसएम्एस (SMS) मिसकलले एकाग्रता भंग गर्ने मात्र नभएर कतिपय अश्लिल तथा अशोभनीय गतिविधि भएको उदाहरण पर्याप्त पाइन्छ । यस्ता गतिविधीबाट तत्कालका लागि  पठनपाठन र पछि समाज समुदायमा समेत असर पर्न जाने यर्थाथता हो। कक्षाकोठाको शिक्षण सिकाइ क्रियाकलापमा मोवाइलबाट एकाग्रता भङ्ग हुने गरेको पाइन्छ । मोवाइलको  दुरुपयोगबाट उत्ताउला र यौनिक विकृतिलाई प्रश्रय दिने खालका संदेश प्रवाह गर्ने माध्यम बनेको देखिन्छ । जसको  कारण समाजमा समेत विकृति विसंगति फैलिने यथार्थतालाई नकार्न सकिन्न । तसर्थ शिक्षक र विद्यार्थीलाई कमसेकम कक्षाकोठा भित्र मोबाइल प्रयोग गर्न निषेध गर्दै

Motorcycle (मोटरसाइकल)

माध्यमिक र उच्चमाध्यमिक तहमा अध्ययन गर्ने मध्यम वर्गीय विद्यार्थीले अभिभावकलाई वाध्य वनाएर ईन्जिन क्षमता धेरै भएका मोटरसाइकल किन्ने र जथाभावि चलाउने नकारात्मक प्रवृत्तिको प्रतिस्पर्धा भएको पाईन्छ । ट्राफिक नियम पालन नगरी तिव्र गतिमा मोटरसाइकल हाँक्दा दुर्घटना भै ज्यान समेत गएको समाचार सुन्न र देख्न पाईन्छ । मोटरसाइकलका कारण स्कुल कलेज नगईकन घुम्ने कारणबाट उनीहरुको शैक्षिक प्रगति ह्रास हुँदै गएको परीक्षाको नतिजाले देखाएको छ । तसर्थ यो चञ्चले उमेरमा अभिभावक तथा विद्यालय स्वयंले मोटरसाइकल विद्यार्थीलाई नचढ्ने सल्लाह दिंदै निगरानी बढाउनु बुद्धिमानी हुन्छ ।

Muscles (वाहुवल प्रदर्शन)

मनोवैज्ञानिकहरुका भनाई अनुसार पनि १४–१८ वर्ष सम्मका उमेर असाध्यनै जोखिमपूर्ण हुने, परिपक्वता नआउने, चाडैं रिसाउने र खुशी हुने, आवेसमा आएर काम गरिहाल्ने, भविष्यमा हुने प्रतिफलको बारेमा नसोच्ने कारणले गर्दा कतिपय सांघातिक घटना घटेको समाचार बन्ने गरेकोछ । उनीहरुमा ग्याङ्क फाइट गर्ने, डन बन्ने र दादागिरी देखाउने जस्ता अशोभनीय गतिविधिलाई निरुत्साहित बनाउने खालका आचारसंहिता बनाएर अनुगमन गरी निरुत्साहित गरिनुपर्दछ । विद्यार्थीको आहार, विहार, विचार र व्यवहारबारे अभिभावक र विद्यालय बीच निरन्तर सम्बन्ध र सम्वाद हुनुपर्दछ । उनीहरुको शारीरिक, मानसिक तथा संवेगात्मक विकासलाई सन्तुलित पार्दै रचनात्मक एवं सिर्जनात्मक भावनाको विकास गर्ने तथा सामाजिक एवं परोपकारी काममा लगाउने नीति र रणनीति वनाउनुपर्छ । विद्यार्थीको ऊर्जाशील शारीरिक तथा मानसिक शक्तिलाई परोपकारी र सामाजिक काममा अभ्यास गराएर जमिन र जगतबारे अनुभूति गर्ने तर्फ उन्मुख हुनुपर्दछ ।

Money (पैसा)

कतिपय अध्ययन र अनुभवले धनी र संभ्रान्त परिवारका बालबालिका फजुल खर्च गर्ने, पठनपाठन भन्दा पनि रमाइलोका लागि र डिस्को, रेस्टुरेन्ट घुम्ने गरेको पाइन्छ । केही त दुर्वेशन र कुलतमा फसेर जीवननै बरबाद भएको पनि उदाहरण छन् । बेलैमा बुद्धि नपु¥याउदा पछी उनीहरु परिवार समाज र देशकै अभिशाप र बोझ बन्न पुग्नु स्वभाविकै हो । तसर्थ खासगरि अभिभावकहरुले आफ्ना बालबालिकाको लागि आवश्यक पर्ने खर्च मात्र दिनुपर्दछ । चाहिदो भन्दा बढी पुलपुल्याइनाले  बाटो विराएर भविष्यामा निराशाको जीवन जीउन विवश हुन्छन् । उनीहरुमा गरीखाने भन्दा पनि मागीखाने र ठगीखाने प्रबृतिको विकास नहोला भन्न सकिन्न। हाम्रो शिक्षा नीति जागिर खाने भन्दा पनि जागिर दिने लक्ष्यबाट निर्देशित हुनुपर्दछ। विद्यालयमा विद्यार्थीले देखाउने बानीव्यबहार र गतिविधि बारे विशेष चनाखो भएर अभिभावकहरुलाई जानकारी गराउने नीति लिनुपर्दछ ।

Miniskirt (छोटो घाँगर)

छात्राहरुको पहिरनले पनि कतिपय यौनजन्य विकृति आएको आक्षेप शिक्षण संस्थालाई आउने गरेको छ । विद्यार्थी स्कुल समयमा डिस्को जाने, डेटिङ जाने गरेको देख्न र सुन्न पाइन्छ । अंग प्रर्दशनबाट आउने विकृतिलाई रोक्न मिनिस्कटको सट्टा मिडिस्कट वा सर्ट पाइन्ट लगाउने नीति विद्यालयले लिनु सकारात्मक हुन्छ । अल्लारे उमेरका विद्यार्थीको चञ्चले र अशोभनीय उत्ताउलो स्वभावलाई सभ्य, सुशिल, जिम्मेवार नागरिक बनाउन विद्यालय तथा घरपरिवार एवं समुदाय संवेदनशील भएर चिन्ता र चासो लिई उनीहरुको वैयक्तिक विभिन्नता अनुसार संस्कारयुक्त शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्छ । शारीरिक मानसिक विकास गर्ने खालका शिक्षण सिकाई क्रियाकलापलाई प्रत्यक्ष..परोक्ष रुपमा प्रभाव पार्ने उल्लेखित नकारात्मक अवस्थालाई निरुत्साहित गर्न निम्न केही पक्षहरुले सघाउ पु¥याउने कुरालाई नकार्न सकिन्न ।

अतः घरपरिवार र विद्यालयमा विद्यार्थीको शिक्षा हांसिल गर्ने अवसरलाई सहज एवं सर्वसुलभ पारेर उनीहरुको शैक्षिक उपलब्धीस्तर उच्च बनाउदै एक सभ्य, सुशिल, स्वाभिमानी तथा विश्व श्रम बजारमा खरो प्रतिस्पर्धा गर्नसक्ने सकारात्मक सोच र शक्ति भएको जिम्मेवार तथा उत्साही पौरखी जनशक्ति उत्पादन गर्ने लक्ष्यबाट शिक्षण संस्था निर्देशित हुनुपर्दछ । शिक्षक कर्मचारीको योग्यता एवं कार्यक्षमताको मूल्यांकन विद्यार्थीको नतिजाको उपलब्धीको आधारमा निष्पक्ष एवं वस्तुनिष्ठ रुपमा गर्ने आधार बनाएर परिपालन गर्ने अठोटबाट मात्र शिक्षण संस्था मर्यादित रुपमा सञ्चालन हुनसक्ने वास्तविकता हो ।

कार्की शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् ।