Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

अभिभावकको लगानीमा स्कुल बस

आइतबार, २८ असोज २०७५

काठमाडौं २८ असोज / विद्यालय परिसरमा डाकिएको भेलामा दलबहादुर सुनारले स्व.पत्नी कमलादेवीको सम्झनामा विद्यालयलाई एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोगको घोषणा गरे। ब्यानरमा दसैंको शुभकामना आदानप्रदान कार्यक्रम लेखिएको भए पनि कार्यक्रमको उद्देश्य विद्यालयलाई बस जुटाउने थियो।

अन्नपूर्ण पोष्टमा अनुसार सुनारले रकम घोषणामै प्रस्ताव गरे, ‘बस किन्न एक लाख रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको फोटो बसमै राखिनेछ। उनले भने, ‘मेरी पत्नीको फोटो बसमा देख्दा मलाई पनि उनीसँगै भएको महसुस हुनेछ त्यसैले छोराहरूसँग सल्लाह गरेर सहयोग गरेको छु। तपाईंहरू पनि सहयोग गर्न सक्नुहुन्छ।’

पूर्वसभासद् सुनार यस विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन्। उनको घोषणालगत्तै शिक्षक अभिभावक संघका अध्यक्ष कुबेर रिजालले आफूले यस विद्यालयलाई पहिला पनि सहयोग गरेको भन्दै फेरि एक लाख पाँच हजार दुई सय एक रुपैयाँ सहयोगको बाचा गरे।

सुनार र रिजाललगायत बाँकेको बैजनाथ गाउँपालिका–५ अरनिकोनगर जीगाउँको प्रभात माध्यमिक विद्यालयलाई बस किन्न अभिभावकसमेतले स्वतःस्फूर्त सहयोगको घोषणा गरे। ‘दातालाई हुन्न घाटा’ भन्दै भेलामा डाकिएका उद्योगी, व्यवसायी, समाजसेवीले एकपछि अर्को गर्दै सहयोगका लागि तम्सिए। एक दर्जनभन्दा बढी दाताले एक लाख रुपैयाँभन्दा बढी सहयोगको घोषणा गरे। एक साताको अवधिमा २८ लाख ५० हजार रुपैयाँ संकलन पनि भएको अध्यक्ष सुनारले बताए।

एउटा बस किन्ने लक्ष्य राखेको विद्यालयले सहयोग थपिँदै गए दुई वटा किन्न सकिने बतायो। पहिलो भेलामा डाकिएका व्यक्तिमध्ये आधा मात्र कार्यक्रममा सहभागी भएकाले अर्को भेलाबाट पर्याप्त रकम संकलन हुने विद्यालय व्यवस्थापन समितिले आशा व्यक्त गरेको छ।

यो वर्षदेखि नर्सरी कक्षामा अंग्रेजी माध्यमबाट पढाइ सुरु भएकाले विद्यालयमा ६९ जना विद्यार्थी भर्ना भएका थिए। यसैबाट हौसिएको विद्यालय व्यवस्थापन समिति र अभिभावकले बस किन्ने निर्णय गरेको हो।

विद्यालयका प्रधानाध्यापक नगेन्द्रराज सुवेदी भने, ‘हरेक वर्ष अंग्रेजी माध्यमबाट माथिल्ला कक्षामा पनि पढाइने सोच बनाएका छौं।’ सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्ने नीति अख्तियार गर्दै बस किन्न भन्सार छुट दिने यो आर्थिक वर्षको बजेटमै व्यवस्था गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनारले अन्नपूर्णसँग भने, ‘शिक्षा मन्त्रालयबाट बस किन्न भन्सार छुट पाउनुपर्नेलगायत सबै कागजात ल्याइसक्यौं। पैसा अभाव भएकाले अभिभावकसँग स्वतःस्फूर्त सहयोग मागेका हौं।’

अन्नपूर्ण पोष्टमा शंकरप्रसाद खनालले लेखेका छन् । 

प्रतिक्रिया