एक सिकाइ यात्रा


अर्कै काममा सिङ्गापुर गए पनि दुइ डलरको नोटमा झलक्क विद्यार्थी, शिक्षक सहित विद्यालय देख्दा शिक्षामा यो देशको जोड थाहा पाउन बेर लागेन ।

त्यहाँको शिक्षा व्यवस्था बारेमा इण्टरनेटमा थप अध्ययन गरे पछि एक जना शिक्षा व्यवसायी मित्रसँग कमसेकम एउटा विद्यालयमा अवलोकन भ्रमणको बन्दोबस्त गर्न जोड गरें । 

एउटा पुरानो चिनिया मातृभाषा भएको पोइ चाङ विद्यालयमा गएर त्यहाँका निर्देशकसँग छलफल गरियो । २–४ दिन त्यहाँ रहँदा र थप अध्ययन गर्दा नोटका रेखा चित्र बाहेक पनि सिङ्गापुरले शिक्षामा दिएको जोड स्पष्ट नै अनुभव गर्न सकिन्थ्यो । देशमा शिक्षा नीति निर्माणको बहस सघन रहेका बेला यस बारे थप जानकारी राख्नु स्वाभाविक थियो । 

विद्यालय छनोट 

अभिभावक विद्यालय छनोट गर्न स्वतन्त्र छन् । एकै विद्यालयमा धेरै विद्यार्थी थुप्रिन नदिन निम्न आधारहरु लिइने गर्छ यद्यपि अभिभावकको मुख्य छनोटको आधार प्राचार्यको क्षमता हुने रहेछ :

१. त्यस विद्यालयमा अध्ययनरत केटाकेटीका दाजुभाइ, दिदीबहिनी

२. विद्यालयका पूर्व विद्यार्थीका छोराछोरीहरु 

३. विद्यालयको एकदेखि डेढ किलोमिटर भित्र 

क. स्थायी घर भएका वासिन्दाका केटाकेटीहरु 

ख. अरु वासिन्दाहरु 

यी सबै सरकारी विद्यालहरु हुन् । निजी विद्यालयहरु पनि छन् तर ती विद्यालयमा सिङ्गापुरका नागरिकका छोराछोरी भर्ना गर्न शिक्षा मन्त्रालयको विशेष अनुमति चाहिन्छ । त्यहाँ दुनिया भरका विद्यालय र विश्वविद्यालय छन् । त्यहाँ धेरै जसो विदेशी विद्यार्थी नै पढ्छन् । हाम्रो देशमा को कुन विद्यालयमा पढ्ने विद्यालयका विज्ञापन बाहेक कुनै आधार नभएकाले व्यवस्थापकीय समस्याहरू आएका छन् । सरकारी र निजी अनि तिनीहरु बीच नै अनावश्यक प्रतिस्पर्धा भइ रहेको छ ।

यो नगर राज्यको निर्माणमा शिक्षाको ठूलो हात अनुभव गर्न सकिन्छ । थोरैलाई यसको रमझमबाट भित्र पस्ने फुर्सद हुन्छ । 

धार छनोट 

प्राथमिक तह पूरा गर्ना साथ विद्यार्थीले के विषय र कस्तो शिक्षा लिने मोटामोटी निर्धारण हुन्छ । विद्यार्थीको रुचि र क्षमतालाई हेरेर कस्तो विद्यालयमा जान उपयुक्त हुन्छ भनेर पढिरहेको विद्यालयले नै सिफारिश गर्छ । यहाँ मूलतः प्राथमिक पछि तीन धार छन् : 

साधारण,

गतिवान् अर्थात एक्सप्रेस

र प्राविधिक ।

गति छनोटको एक मुख्य आधार चाहिं भाषिक दक्षता हो । अंग्रेजी र मातृभाषामा उच्च दखल राख्ने विद्यार्थी गतिवान् अर्थात् एक्सप्रेस धारमा अध्ययन गर्न र सीधै ए लेभलमा जान सक्छन् ।

अतिरिक्त क्रियाकलापहरु पनि प्रतिस्पर्धाको आधार भए पनि सिङ्खापुरको परीक्षा मुखी कडा शिक्षा प्रणाली विद्यार्थी अत्यधिक भार बोकाउने र मानसिक तनाव दिने देशमा पर्छ । पोइ चाङ विद्यालयका निर्देशकले यसमा परिमार्जन हुँदै गरेको बताए । “पहिला हाम्रो जनशक्तिमा हुने लगानी खेर नजाओस् र देशको जनशक्तिको आवश्यकता पूरा होस् भन्ने थियो । अब हाम्रो जनशक्ति जता पनि जान सक्ने र स्तरीय भइ सक्यो । अब हामी विद्यार्थीका अद्वितीय प्रतिभा उसको रुचि र लगाव अनुसारका विषयमा प्रस्फुटन होस् भन्ने चाहन्छौं ।” 

नेपालको कुरा गर्दा हामी अहिले जुन अवस्थामा छौं  र के आवश्यकता छन् भन्ने हेर्नु जरुरी छ । हामी हाम्रो जनशक्तिको आवश्यकता नै प्रक्षेपण गरिरहेका छैनाँै । पर्याप्त पूर्व जानकारी र पैसा कमाइने मिथ्या प्रलोभनले केटाकेटीहरुको प्राविधिक तालिम खेर गइरहेछ । विशेषगरी कृषि शिक्षामा यो अवस्था देखिन्छ । कृषि प्राविधिक शिक्षा स्वरोजगारीका लागि लक्षित गरिएको हो । तालिम लिएर केही समय जागिर नपाएपछि हाम्रा विद्यार्थी फेरि मानविकी वा वाणिज्य शास्त्र पढ्ने तिर लाग्छन् । अझ कुरा गर्ने हो भने कति प्राविधिक धार तर्फ जान चाहन्छन् तर उनीहरुको प्राथमिक तहको शिक्षा यति कमजोर छ कि व्यवसाय गर्न चाहने विद्यार्थी यी प्राविधिक विषय पढ्न नै सक्दैनन् । 

प्राविधिक शिक्षाको विस्तार गर्नु छ भने पहिले प्राथमिक तहको शिक्षकमा स्तरीयता ल्याउनु आवश्यक छ । यो सिङ्खापुरले फेरेको नीतिबाट सिक्नुपर्ने कुरा हो । तल्ला तहमा विद्यार्थीले स्तरीय शिक्षा पाए भने विद्यार्थी जता पनि जान सक्छन् । 

पुरानो सुपर मार्केट मुस्तफा सेन्टरको मसलन्द खण्डमा राखिएका परीक्षा सहायक सामग्रीहरु

शिक्षक तयारी 

शिक्षकको तयारी सबैभन्दा व्यापक र विस्तृत लाग्यो । जुनसुकै विषयमा स्नातक भइसके पछि शिक्षक हुनका लागि विषय हेरी दुइ देखि एक वर्षको तालिम लिनुपर्छ । तालिम लिनका लागि विद्यालयको सिफारिस चाहिन्छ । विद्यालयमा अन्तर्वार्ता, मनोवैज्ञानिक परीक्षणहरु गरेर शिक्षक हुने गुणहरु छ छैनन् भन्ने निर्धारण गरिन्छ । मन्त्रालयले निर्धारण गरेको एक वर्षको तालिम पछि मिले सम्म सिफारिश गर्ने स्कूलमा नै अन—द—जब—ट्रेनिङ हुन्छ । त्यो सफलता पूर्वक पुरा गरे पछि मात्र उ शिक्षकमा नियुक्त हुन तयार हुन्छ । मिलेसम्म उ त्यही विद्यालयमा नै नियुक्त हुन्छ । त्यस्तो गरे पछि अनुपयुक्त शिक्षकलाई विद्यालयले अगाडी नै बढाउँदैन ।

हामीले कुनै बेला शिक्षा संकायबाट शिक्षक आउने परिकल्पना गर्यौं तर त्यसमा लगानी र ध्यान दिएनौ । जनशक्ति कम भएका अवस्थामा जुन विषयका पनि लिनु अस्वाभाविक थिएन तर यसले शिक्षा संकायको महत्व त गुणस्तर दुवै घटायो । शिक्षा संकायमा भर पर्ने देशहरू पनि छन् । तर त्यसको गुणस्तर नियन्त्रण बलियो छ । हामी कहाँ डिग्री लिइयो भने दाइजो घटी र बढी हुन्छ भन्ने जस्ता आकाङ्क्षा राख्ने, अङग्रेजी थोरै पढ्नु पर्ने जस्ता कारणले शिक्षा संकाय छान्ने प्रवृति हावी भयो । हामी कहाँ पनि यदाकदा यस्ता अभ्यास भए समुदायले उपयुक्त छानेका उम्मेदवारहरुलाई तालिम दिने र शिक्षकमा नियुक्त गर्ने । अझै पनि ती शिक्षक जसमा धेरै जसो महिला थिए अपवादमा पर्ने असल शिक्षकमा पर्छन् । यूएनडीपीको सहयोगमा शिक्षा मन्त्रालय बाहिर समुदायले सञ्चालन गर्ने प्राथमिक शिक्षा परियोजना अर्थात् ‘कोप’ चलेको थियो । 

लेखक भट्टराई, निर्देशकको साथमा । भित्तामा विद्यालयको दूरदृष्टि विशेष योजना विद्यालय बन्ने भन्ने देखिन्छ । यस्ता विद्यालयमा मातृभाषामा पनि अरु विषय पढाउन पाइन्छ । अन्यथा मातृभाषा बाहेकका विषय अंग्रेजी भाषामा पढाउनु पर्छ । अहिलेसम्म मन्दारिन भाषामा मात्र यसो गर्ने विद्यालयहरु छन् । फोटो : यास्मिन अब्दीन

भाषा शिक्षा 

दुई भाषिक शिक्षा सम्भवतः सिङ्गापुरकै शिक्षाको पहिचान हो । सानैदेखि नै अंग्रेजी र मूल वासिन्दाका तीन भाषा चिनियाँ, मलय र तमिल पढाइन्छ । अरु विषयका अतिरिक्त मातृभाषा पनि विद्यालय छनोटको आधार हो यद्यपि आफ्नो मातृभाषा फरक हुने विद्यालयमा पढाउन नपाइने होइन । भाषाका दुवै विषयलाई त्यत्तिकै महत्व दिइन्छ : दुवै आधारभूत विषयमा पर्छन् । यो त्यहाँको सामाजिक बनोटलाई हेरेर गरिएको शिक्षाको माध्यमबाट गरिएको सामाजिक ढाँचा निर्माणको सचित्र उदाहरण हो यद्यपि अङग्रेजी अनिवार्य हुनुमा यसको औपनिवेशिक इतिहासको प्रभाव नरहेको होइन । 

सिङ्गापुर शिक्षाको गुणस्तर नापिने ‘पिसा’ जाँचको विश्व सूचीको अग्र पङ्क्तिमा छ । विद्यार्थी पेल्न झण्डै दक्षिण कोरिया नजीक आइपुग्ने देश कसरि फिनल्याण्डको जस्तो उदार र सहज शिक्षा प्रणाली भएको देश जस्तै छ भन्ने प्रश्न रहिरहेको थियो । केही दिन अगाडि (लेखक त्यही हुँदा नै) शिक्षा मन्त्रीले घोषणा गरे कि अब (सन २०१९ देखि) विद्यार्थीका प्रगति प्रतिवेदनमा उनीहरुका प्राप्ताङ्क लिने र प्रकाशन गरिने छैन । ज्ञान प्रतिस्पर्धाको विषय होइन, ग्रहण गर्ने विषय हो भन्ने अनुभूति विद्यार्थीमा दिनु पर्ने   छ ।

घोकन्ते भनिए पनि केटाकेटीहरु बाहिरी ज्ञानकालागि कक्षा बाहिर लगिन्छन् । विश्वकै व्यवस्थित मानिने सिङ्खापुर चिडिया खानामा विद्यालयका साना केटाकेटीहरु ।

सिङ्गापुर पहिला पहिला गोर्खा सैनिक रहने ठाउँ र पछिका दिनमा त्यस नगर राज्यले हासिल गरेको आर्थिक भौतिक प्रगतिका कारणले नेपालीका लागि परिचित देश हो । विश्वको उपभोगवादी अर्थतन्त्रको पृष्ठपोषकका हिसाबले दिगो विकासको उदाहरण होइन होला । अभैm नेपालले त्यसबाट सीधै लिन सक्ने कुरा कमै होलान् तर त्यस देशले आफ्नो जनशक्ति र क्षमता निर्माणमा शिक्षाको उपयोग गरेको दृष्टिले यो विश्वकै अनुपम उदाहरण हो । 

आखिरमा एउटा भनाइ याद गर्नुस् - एक दिन कहीँ जानेले त्यस बारेमा किताब लेख्छ, एक हप्ता जानेले एउटा पुस्तकको खण्ड, अनि महिनाका लागि जानेले छोटो लेख, त्यस भन्दा बढि जानेले केही लेख्दैन । 

(किनभने जति धेरै बस्यो त्यति धेरै थाहा हुन्छ, अनि के लेख्ने भन्न बहुत अप्ठेरो हुन्छ । यो हप्ता जतिको प्रवासको उपज हो । त्यहाँ अलि धेरै खाइखेलि गरेकाहरुलाई लेख्न आमन्त्रण छ । त्यति बेलै पनि नेपालको शिक्षाका दिग्गज मानिने एक दुइ जना त्यता लाग्दै गरेको देखिएको थियो ।)

भट्टराई सार्वजनिक शिक्षाका क्षेत्रमा सकृय शिक्षाकर्मी हुन्, उनी गैह्र सरकारी संस्था 'शिक्षा नीति तथा अभ्यास केन्द्र'सँग आवद्ध छन् ।