Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

दशैं विदाको अघिल्लो दिन शिक्षाका सहसचिवको सरुवा

सोमबार, २९ असोज २०७५

काठमाडौं - शिक्षा मन्त्रालयले दुई जना सहसचिवको सरुवा गरेको छ । दशैं विदा शुरु हुने अघिल्लो दिन सोमबार दिउँसो अबेर मन्त्री गिरिराजमणि पोखरेलले सरुवाको निर्णय गरेका हुन् । पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्णप्रसाद काप्री र शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्रमुख डा. लेखनाथ पौडेलको सरुवा गरिएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । काप्रीलाई पौडेल र पौडेललाई काप्रीको ठाउँमा फेरबदल गरिएको हो । उनीहरुलाई दशैं विदा सकिए लगत्तै औपचारिक पत्र थमाउने मन्त्री निकट श्रोतले जनाएको छ ।

मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै कक्षा ११ - १२ को पाठ्यक्रममा परिवर्तन गर्न खोजेका मन्त्री पोखरेलको स्प्रिट अनुसार काम गर्न नसकेको भन्दै काप्रीको काम प्रति मन्त्री असन्तुष्ट रहँदै आएको श्रोतको दावी छ । पाठ्यक्रम परिवर्तनका बारेमा पहिले गरिएको निर्णय पछि उल्ट्याईएको थियो ।

लामो समय शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा बसेका पौडेलले पाठ्यक्रममा सरुवा गर्नका लागि प्रधानमन्त्री मार्फत् दवाव दिदैं आएको श्रोतको दावी छ ।

संघीयता संगै शिक्षा मन्त्रालयको संरचनामा भएको परिवर्तन पश्चात पाठ्यक्रम विकास केन्द्र शिक्षा मन्त्रालयको शक्तिशाली अड्डा बनेको छ ।

पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक लेख्ने विज्ञहरुको सूची तयार पार्ने सम्मका कार्यमा ठूलो आर्थिक कारोबार हुने भएकोले केन्द्रलाई शिक्षा मन्त्रालयको भन्सारका रुपमा पनि चित्रण गरिदैं आएको छ ।  

संघीयता संगै कर्मचारी खटनपटनमा शिक्षा मन्त्रालयको सुस्त गतिका कारण स्थानीय तहमा शिक्षाका कर्मचारी अभाव भएको भन्दै आलोचना भए पनि मन्त्री पोखरेलले मन्त्रालय अन्र्तगतका केही सहसचिवहरुलाई फेरबदल गरेर अन्य कर्मचारी सरुवा गर्ने तयारी गरेका थिए ।
तर मन्त्रीको 'स्प्रिट' अनुसार कार्य गर्ने सहसचिवका बारेमा मन्त्रीको सचिवालय भित्रै सहमती हुन नसकेपछि तत्कालका लागि दुई जनाको मात्रै सरुवा गरिएको श्रोतले जनाएको छ ।

यस अघि साविकको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलबाट सोचेजस्तो 'परफरमेन्स' नआएको भन्दै उनलाई मन्त्रालयमा सारेर उनका ठाउँमा सहसचिव सूर्य गौतमलाई लैजाने गृहकार्य भएको थियो । तर गौतम अबको 'लट'मा सचिव बन्ने भएपछि फेरी काममा बाधा पुग्ने शंकाले उक्त कदम अन्तिम समयमा रोकिएको हो ।

केही सहसचिव बैचारिक हिसावमा आफ्नो दल निकट नभएको र आफ्नो स्प्रिट अनुसार काम गराउन पनि नसक्ने शंका गरेर उनीहरुका बारेमा पनि अन्तिममा निर्णय नगरिएको श्रोतको दावी छ ।  

शिक्षा तथा मानव श्रोत विकास केन्द्रका सहसचिव टेकनारायण पाण्डे र मन्त्रालयकै प्राविधिक महाशाखाका सहसचिव डा. हरिप्रसाद लम्सालका बारेमा मन्त्रीको सचिवालयमा तिब्र असन्तुष्टि रहँदै आएको मन्त्रालय श्रोतको दावी छ । उनीहरु दुवै जना नेपाली काँग्रेस निकट रहेको मन्त्रीको सचिवालयको बुझाई छ । शिक्षा ऐनको नवौं संशोधनमा मुख्य भूमिका खेलेको भन्दै लम्सालका बारेमा मन्त्रीको सचिवालय नकारात्मक रहँदै आएको श्रोतको दावी छ ।

'लम्साललाई पनि कतै 'एडजस्ट' गर्न सकिन्छ की भन्ने सम्मको कसरत भएकै हो तर नयाँ महाशाखा र चुनौतीपूर्ण काम गर्नु पर्ने भएकोले उनलाई हटाएर को ल्याउने भन्ने यकिन नभए पछि रोकिएको हो' उक्त श्रोतले भन्यो, 'पाण्डेलाई भने युवा परिषद्मा लैजाने तयारी गरिएको थियो ।'

तर शिक्षाका विषय बुझेको र काम गर्न सक्ने ब्यक्तिलाई शिक्षा बाहेकका निकायमा पठाएर मन्त्रालयको कार्य सम्पादन प्रभावकारी नहुने मन्त्रीको सचिवालयको एक पक्षको तर्क पछि तत्कालका लागि अरुको रोकेर दुई जनाको मात्र सरुवा गरिएको उक्त श्रोतको दावी छ ।

प्रतिक्रिया