Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

शुभकामना कसलाई ? शुरु गरौं कक्षा कोठाबाटै

मंगलबार, ३० असोज २०७५

सन्दर्भलाई दशैं, तिहार, नेपाल सम्बत, छठ, ईद आदी नेपालीका मौलिक चार्डपर्वका अवसरमा प्रदान गरिने प्रसँगसँग जोडेर शुभकामना अर्थात् सद्भावना पूर्वक शुभ अपेक्षा गरिएको छ ।

राम्रो र असलका लागि अथवा बेठीक र दुराचारीको विपक्षमा उभिने कर्म गर्ने संस्कारको कामना गर्नु नै शुभकामना हो । बालबालिकामा राम्रा बानि असल चरित्र निर्माणका लागि शुभकामना दिन खास चार्डपर्व नै कुर्नु पर्छ भन्ने छैन । चाडपर्व, संस्कारसँग जोडिएका दिन र अवसरमा असल नागरिकको पहिचान निर्माण गर्न सफलता मिलोस् भन्ने कामना प्रवाह गर्नु अघिल्लो पुस्ताको कर्तव्य पनि हो ।

शुभ कामना शब्द क्रमशः व्यापक बनेको छ । प्रत्येक काम कारवाहीसँग हाल हरेक ब्यक्ति शुभकामना जोड्न चाहन्छ । कुन काममा कसलाई कस्तो अर्थमा राम्रो भन्ने वा प्रोत्साहन गर्नेतर्फ विश्लेषण गर्ने फुर्सद भने देखिदैंन । प्रत्येक चाडपर्वहरु आंैसी, पूर्णिमा, एकादशी देखि संक्रान्ती हुँदै दशैं, तिहार, छठ, नयाँ वर्ष प्रारम्भ इस्वी सन्, नेपाल सम्वत, विक्रम सम्वत सबैमा शुभकामना सन्देशको वर्षा नै हुन्छ । शुभकामना फेसन नै बनेको छ । व्यक्तिले खाजा खाँदा, खाना खाँदा, चिया खाँदा, नयाँ कपडा लगाउँदा, बजार जाँदा, आफन्त भेट्दा, डुल्न जाँदा, जन्म, तिथि, बार, महिना, गते आउँदा शुभकामना दिने क्रम बढ्दो छ ।

शुभकामना विस्तारै व्यवसाय बनेको छ, आयस्रोत समेत बनेको छ । कसैले जागिर प्रवेश गर्दा, व्यवसाय सुरु गर्दा, जागिर छोड्दा, नयाँ सवारी साधन किन्दा, बेच्दा, घर–जग्गा बेच्दा किन्दा, पढाईमा राम्रो हुदाँ, यस्ता कामको सूची लामो बन्छ , भन्दै जादा अनगिन्ती पर्व र क्षण आउँछन्, शुभकामना व्यक्त गर्ने अवसर ।

तर, शुभकामना भन्नु अघि थोरै सोच्नुपर्छ भन्ने लागेको छ । एउटा भ्रष्ट व्यक्तिलाई शुभकामना भन्दा भ्रष्ट आचरणमा प्रोत्साहन पुग्दैन र ?

एउटा नैतिक पतन, सदाचार हीन व्यक्तिलाई शुभकामना छ है भन्दा ती गलत बेठीकको समर्थन वा सहमति हुन्न र ?

एउटा काम चोरलाई अमूक अवसरको उपलक्ष्यमा शुभकामना भन्दा उक्त प्रवृत्तिको प्रश्रय हैन र ?

नचिनेको, जानकारी नै नभएको व्यक्तिलाई गोलमटोल दशैँ तिहारको शुभेच्छा, शुभकामना भन्दा त्यो व्यक्ति व्यभिचारी, हत्यारा, देश र जनताको दुष्मन, फटाहा, भ्रष्ट चरित्रको रहेछ भने हामीले औपचारिकता पूरा गर्दा त्यसको अर्थले गिज्याउने अवस्थालाई गहिरिएर विश्लेषण गर्नै पर्छ ।

चाकरी, चाप्लुसी एवम् सदाचार हीन संस्कारको अन्त्य हाम्रो ध्येय बन्नु पर्नेमा कोही रिसाएर मेरो व्यवसाय बिग्रन्छ कि !

कतै जागिरमा बाधा पर्छ कि !

मेरो राजनीतिक यात्रा सकिन्छ कि !

यस्ता निरर्थक सोचले गाँजेको हाम्रो परम्परा अब अन्त्य हुनैपर्छ । ठीक र सत्यका पक्षमा उभिने भावनाको अपेक्षा विस्तार गर्नु जरुरी छ । गलत र असत्यको त समाप्ती अर्थात् दुर्दशासँगै व्यापक पीडाको अपेक्षा उपयुक्त हुन्छ ।

बलात्कारी, हत्यारा, लुटाहा, फटाहा, भ्रष्ट, कामचोर, राष्ट्रद्रोही, जन विरोधी, नैतिक चरित्रहीन, शोषक, व्यक्तिगत स्वार्थको आहालमा चुर्लुम्म डुबेकाहरु, शहीदलाई अपमान र तिरस्कार गर्नेहरु, सामाजिक मूल्य मान्यताका बाधकहरु, शिक्षा विरोधीहरु, समाज र राष्ट्रका दुष्मनहरुको चाँडै अन्त्य होस्, तिनीहरुले हदैसम्मको पीडा पाउन्, जसको कारणले पुनः ती गलत भ्रष्ट काम गर्ने त परै जाओस् सोच्न पनि नसक्ने होउन् भन्ने अपेक्षा हामी सबैमा हुनुपर्छ ।

शुभावना र शुभेच्छा ती व्यक्तिमा गर्नु उपयुक्त हुन्छ, जो सधैं सत्यका, न्यायका पक्षमा उभिइरहेका छन् । शुभकामना ती सदाचारी र शिक्षा प्रेमी अनि नैतिक मूल्य मान्यताका पक्षधरलाई दिँदा आत्म सन्तुष्टि मिल्छ कि ! भ्रष्टाचारी र राष्ट्र विरोधीका चाकडी चाप्लुसीबाट मुक्त हुँदा न कि भ्रष्टहरुको देखासिकी गरेर चाडपर्वमा विकृतजन्य क्रियाकलापको शिकार बन्ने अवस्था ।

कुनै पनि चरित्र र प्रवृत्ति जुन अमानवीय हुन्, तिनको सखाप होस् भन्ने अपेक्षासँगै जोड्न सकिन्छ । आफ्नो मेहनतमा विश्वास गर्ने, पसिनामा आश्रित रहने  सदाचारीलाई सहयोग गर्नैपर्छ, तिनलाई प्रोत्साहन गर्नैपर्छ । जनताको रगत पसिनाको उपहास गर्नेलाई शुभकामना हैन सर्वनाशको शुभेच्छा राख्नु पर्छ ।

शुभकामना तथा सद्भाव एवम् शुभेच्छा ती इमान्दार, लगनशील, कर्तव्यनिष्ठ, राष्ट्रभक्त, नैतिक चरित्र उच्च भएको संस्कारयुक्त सहि अर्थका मानव प्रति रहनुर्पछ, कामना गनुर्पछ । जस्तासुकै विपत र पीडालाई पनि सामना गर्दै एक सत्य र निष्ठावान मनुष्य बन्नका लागि उनीहरुले गरेका योगदान र त्यागको निरन्तरताको अपेक्षा गर्नुपर्छ । जसको सिङ्गो जीवन परपीडक रह्यो, अरुलाई सताएर, ठगेर, भ्रष्टाचार, गरेर, राष्ट्र र जनताको दोहनबाट खरी जुका जस्तो ढाडिएर रहेको नर पशुलाई शुभकामना हैन, सर्वनाशको कमना गर्नु पर्दछ ।

शब्दहरुको इज्जत, हुर्मत लुटेर अपमान हुनेगरी दुराचारी, अपराधीलाई शुभकामना कदापि हुनै सक्दैन । परम्परा, संस्कृति, चाडपर्वलाई विकृत बनाएर तिनको मौलिक पहिचानको चिरहरण गर्ने अधिकार कसैलाई छैन । हामी खबरदारी गर्छौ । त्यस्ता विकृति र कुसंस्कारका विरुद्वमा खरो उत्रन शुभेच्छा प्रदान गर्दछौ । सफलता मिलोस् भन्ने कामना गर्दछौ । देशमा व्याप्त अशिक्षा, गरिबी, दूराचार, भ्रष्टाचार, विपन्नताको सर्वनाश होस्, अविलम्ब अन्त्य होस् र समृद्व नेपाल ः सुखी नेपालीको सपना साकार बनोस्, हामी त्यो अपेक्षा राख्दछौं ।

शिक्षा, स्वास्थ्य, राजनीति, विकास निर्माण मात्र हैन राष्ट्रका तमाम पक्ष, विषय र क्षेत्रमा राम्रा अवस्थाको कार्यक्रम, योजनाको उच्च सफलताको शुभकामना व्यक्त गर्नुपर्छ । शिक्षामा मात्र हैन सबै क्षेत्रमा जोडिएका विसंगति, अराजकता, कमजोरी, बेठीक, भ्रष्टाचारको समूल अन्त्यको कामना गर्दै हाम्रा चाडपर्वमा यी परम्परागत मूल्य मान्यताको मौलिक पहिचान स्थापित गर्न आआफ्नो ठाउँबाट सचेत भावना ब्यक्त गर्न जरुरी छ ।  

लक्ष्य प्राप्तीमा कृयाशिल कर्मठ, इमान्दार, कर्तव्यनिष्ठ, सदाचारले युक्त भएकाहरुमा उच्च सफलताको कामना गर्नु पर्छ । शुभकामना सन्दर्भका यी पक्षलाई कक्षा कोठाबाटै शुरुवात गर्ने हो भने, निश्चयनै समाज रुपान्तरण सँगै संस्कृतीको सही जगेर्नामा सहयोगी हुने छ ।

प्रतिक्रिया