दशैँमा होमवर्क आतंक की सिकाइका कुरा !


आफ्नै विगत सम्झने हो भने दशैँमा कहिले स्कुल विदा होला भन्ने व्यग्र प्रतिक्षा हुन्थ्यो । स्कुलको औपचारिक विदा नहुँदै स्कुल जान छोडिन्थ्यो । स्कुल खुले पछि पनि  २, ४ दिन स्कुल नजाने कुरा स्वभाविक नै हुन्थ्यो ।

कामका शिलशिलामा राजधानीको बसाइ भए पछि हरेक वर्ष दशैँमा गाउँमा अवस्थित घर जानु त स्वभाविक भयो । केहि दिन देखि कहिले जाने, कसरी जाने, टिकट लिने चर्चा चलिरहेको थियो । अघिल्लो हप्ता छोरीले (किण्डरगार्डेन पढ्ने) हामी घरबाट कहिले फर्कने हो ? मेरो स्कुल छुट्नु हुदैँन नि भनेर सोधेपछि मैले एकछिन केही सोच्नै सकिन ।

एकैछिन पछि – एक दुई दिन स्कुल छुट्दा केही हुदैँन भने । घर जाने दिनै निश्चित नहुँदै फर्कने दिन भन्न सक्ने अवस्थामा थिइन म ।  

छोरीको जवाफ थियो – हुदैँन भनेपछि हुदैँन । हामीले कति दिन स्कुल छोड्थ्यौं केही हुदैँन भनेर थप गरे, तर उनी मान्नेवाला थिइनन् । कति होमवर्क हुन्छ, उनले थपिन् ।

मैले भने – दशैँको होमवर्क त बाबाले नगर्ने भन्नुभएको छ भनिदेउ तिम्रो म्याडमलाई ।

अँ कहाँ हुन्छ, त्यस्तो ? सबै साथीहरूले गर्नुहुन्छ । (सानै उमेरमा तपाईँ भन्ने सिप निजी स्कुलले सिकाएका छन् । हामीले त विहे नगर्दासम्म दाईलाइ पनि तँ भनियो, कहिलेकाँही त विहेपछी पनि भाउजुले नसुन्दा तँ आउँथ्यो)।

दशैँमा स्कुलको होमवर्क नगर्ने गाउँमा के के पाइन्छ लेखेर ल्याउने, के के खानेकुरा खाइयो भनेर लेखेर ल्याउने, लेख्न मन नलागे पनि आएर भन्ने । के के गरियो ? कसरी गइयो ? के भयो ? सबैकुरा भन्ने, सबै साथीहरूको सुन्ने तर होमवर्कको कापी बोकेर नजाने भन्नु परो म्याडमलाई  - मैले थपे ।
म्याडमले भनेपछि त हुदैँन नि, जे भन्यो त्यही गर्नुपर्छ । (स्कुलले प्रश्न गर्ने, हुदैँन भन्ने, आफ्नो विचार राख्ने, फरक विचार राख्ने, तर्क गर्ने सिप विकास त हुनै दिएन । म्याडमले भनेपछि सकियो, सरले भनेपछि हुन्न ?) ।

तिम्रो म्याडमलाई मैले भन्छु नि त – मैले थपे ।

पर्दैन – उनको जवाफ थियो ।

कुनै पनि कुरा स्कुलमा सर म्यामडमसँग भन्नु पनि हुदैन ? के मनोविज्ञानले काम गर्छ ? स्कुलले कसरी यस्तो विकास गराउँछ ? लौन कोही मनोविज्ञानवेत्ताले सघाइदिनुस् ।)

तीन महिना अगाडि साउन महिनामा छोरीलाई खोकी लागेको थियो । मैले भने स्कुलमा चिसो पानि नखानु ।

चिसो ल्याएर दिनुहुन्छ अनि के गर्ने त ? - उनको जवाफ थियो ।

मैले चिसो पानी खान्न भन्ने । भोलि विहान पुर्याउन जाँदा  भन्दिन्छु नि त - मैले भने ।

पर्दैन, बरु घरबाटै सानो थर्मसमा तातो पानि लैजान्छु – उनको जवाफ थियो ।

साँझ यतिकैमा विषयान्तर भयो ।

भोलि विहान थर्मसमा तातो पानि नलिई स्कुलै नजाने अड्डी कसिन छोरीले । स्कुलमा गएर भन्दिन्छु भनेर सुखै भएन पानी बोकेरै लगिदिनु पर्यो ।

मेरो दैनिक कार्यालय जाने बाटोमा देशकै नाम चलेको ठूलो स्कुल छ । धेरैले झोलामा पानि बोकेर आएको देखेपछि, एकदिन घर नजिकैको विद्यार्थीलाई सोधे स्कुलमा पानि हुँदैन र ? हुन त हुन्छ, तर त्यहाँ त पानि खानै सकिदैन भनिन् । कक्षा र पानी खाने ठाउँ पनि टाढा छ, भिड हुन्छ, ठुला विद्यार्थीले हामीलाई खानै दिदैनन् । अनि कक्षामा पनि पानि खान मन लाग्छ ।

(साना मन्टेसरी, जहाँ पानि बोकेर लैजानु त पर्दैन तर विद्यार्थीले तातो पानि दिनुस भन्न सक्दैन र भन भन्दा पनि मान्दैना्, अनि जहाँ पानि छ त्यो पनि विद्यार्थीका लागि सहज छैन । कहिलेकाँही सोच्छुु साना विद्यार्थीले किताब कापीका भारी त बोकेकै थिए, यो पानिको भारी बोक्न त नपरे हुन्थ्यो । यो चिन्तन भोलि त्यही ठूलो स्कुल मैरै छोरीले पढ्न स्कुल हुन्छ कि भनेर पनि आउँछ)

अघिल्लो शनिवार छोरीको मन्टेसरी स्कुलले अभिभावक छलफल भनेर बोलाएको थियो । गतवर्ष पनि दशैँ अगाडि यस्तै छलफल थियो । म गएको थिएँ । तर विद्यालयका प्रअसँग फरक मत राखेर वाद प्रतिवाद गर्नु परेकाले यो पटक म गइँन । तर सम्झिए त्यही गतवर्षकै विषय र दशैको होमवर्क । मैले गतवर्ष नै दशैँमा होमवर्क नदिनुस् भनेको थिएँ । मारिया मन्टेसरीको सिद्धान्त भन्दै खोलिएको यो मन्टेसरीमा साना बच्चालाई पढाइ लेखाइ बढी भयो, खेल्ने, उफ्रने भएन भनेर गुनासो गरेको थिएँ ।

यो मन्टेसरी त हो तर त्यो भन्दा बढी मन्टेसरी स्कुल हो । स्कुल पठाएर बच्चालाई नपढाउँ भन्न त मिल्दैन भन्ने विद्यालयका प्रिन्सिपलको कुरा सुनेपछि रिसले आगो भएको म बल्लबल्ल थामिएको थिएँ ।

तीन वर्षमै स्कुल पठाउने चाहना भन्दा पनि बाध्यताले हो भन्ने उनलाई बुझाउनै सकिन मैले । मेरा जस्ता थुप्रैका बाध्यता र थोरैका रहरलाई अवसरको रुपमा सदुपयोग गर्न लगानी गर्नु भएका प्रिन्सिपलसँग धेरै कुरा गर्न चाहिन मैले । स्कुल नपठाउन पनि सकिन, स्कुल फेर्न पनि सकिन, त्यसैले स्कुलले बोलाउँदा सकेसम्म नजाने अवस्थामा छु म अचेल ।

उनको थप कथन थियो – भोलि तपाईँले नै मेरो बच्चाले नाम चलेका स्कुलमा नाम निकाल्नु पर्छ, पढाई पुगेन भन्न आउनुहुन्छ, अहिले नपढाउ भनेर भएन । यहाँ थुप्रै अभिभावक हुनुहुन्छ, जसले पढाइ थोरै भयो भन्नुभएको छ, हाम्रो लक्ष्य त भोलि धेरै विद्यार्थीले ती विद्यालयमा नाम निकालुन् भन्ने हो ।

मैले कुनै प्रतिक्रिया जनाइन ।

मनमनै भने, ए ! अनि त यति जनाले यो स्कुलमा नाम निकाले भनेर बाटामा फ्लेक्स झुण्ड्याउन पाइन्छ नि त !

अरु समयको होमवर्कको प्रसङ्ग पनि उठ्यो । सके होमवर्कै नदिउँ, दिनै परे थोरै दिउँ र कहिलेकाँही बच्चाले घरमा होमवर्क गरेन अथवा अल्छी गर्यो भने होमवर्क नगरी स्कुल आउने वातावरण बनाइदिउँ (कहिलेकाँही होमवर्क नगर्ने तर ९ बजेपछि स्कुल जानेबेला होमवर्क नगरी जानै नमान्ने समस्या छ) ।

हामीले होमवर्क नगरी आयो भनेर सजाय दिएका छैनौ, कहिलेकाँही पठाउँदा हुन्छ तर हामी त बानी पार्न र संस्कार सिकाउन यसो गरिरहेका छौँ । भौतिक सजाय छैन होला । गाली पनि गर्नुहुन्न होला तर बच्चाको दिमागमा त नगरी नआउने अवस्था विकास भयो नि त ? मैले समस्या राखेँ तर विद्यालयले समस्या सुन्ने अवस्था छैन ।

अहिले फेरी बच्चाहरुमा दशैँ होमवर्कले आतंक मच्चाएको छ । दशैंमा गाउँ तिर हिँड्नु पर्ने बच्चाहरु राती सम्म झुल्दै होमवर्क लेख्दै छन् । कसैले झोलामा नै प्याक गरेर गाउँ लानेछन् । साना बच्चाहरुले वास्तवमै गृहकार्य मन पराउँदैनन् । विद्यालयमै पर्याप्त समय दिएर अभ्यास गराउने हो भने घरमा काम नदिए पनि हुन्छ ।

संसारभर गरिएका थुप्रै अनुसन्धानहरुले साना कक्षामा गृहकार्यको ठूलो प्रभाव नभएको देखाउँछन् । बरु यसले विद्यालय, शिक्षक र पढाइप्रति नै नकारात्मक बनाउँछ भन्ने समेत पाइएको छ । कक्षा बढ्दै जादाँ गृहकार्यलाई विस्तारै बढाउदै लगेर प्राथमिक कक्षा सकिएपछि मात्र सबै विषयमा र नियमित रुपमा गृहकार्य दिनु उपयुक्त हुन्छ भन्ने सुझावहरू पढ्न पाइन्छ ।

म धेरै आर्दशवादी भए हुँला, बच्चालाई होमवर्क नदिउँ भन्ने तर धेरै अभिभावकको चाहना बच्चालाई विद्यालयले धेरै होमवर्क देओस भन्ने नै पाइन्छ । विद्यालयले धेरै पढाइदेओस, बच्चा सधैँ पढाइमा अब्बल होस् । ठूला स्कुलमा नाम निकालोस् । अङ्ग्रेजी बोलोस्, ड्याडी, ममी भनोस्, यस नो भनोस् हामी यतिमै रमाइरहेका छौँ ।

पाँच वर्षको बच्चाले कथित राम्रा स्कुलमा नाम निकाल्नु र ठूला बच्चाले डाक्टर, इञ्जिनियरिङमा नाम निकाल्ने एउटै हुन थाल्यो अचेल । ट्युशन सेण्टर, तयारी पुस्तक र बाबु आमाको इज्जत समेत । मन्टेसरीहरुले बच्चामा ठूला स्कुलको भूत चढाइदिइ सकेका छन् । छोरीले त्यस्ता स्कुलको नाम लिन्छिन कहिलेकाँही । मैले विभिन्न बहाना बनाएर ५ कक्षा नपुग्दा सम्म ती स्कुलमा जाने होइन भन्दै छु, तर बच्चा न हो, सर म्याडम नै अन्तिम सत्य हुन्छन् ।

व्यवहार सिकाउने, सिप सिकाउने, आत्मविश्वासी बनाउने भन्ने त हराइ नै सक्यो । दश बाह्र वर्षको बच्चाहरु नजिकैको पसलमा गएर सामान किनेर ल्याउन आँट गर्दैनन्, पानी तताएर, चिया पकाएर खान सक्दैनन् । अङ्गेजी, गणित र विज्ञानका पाठ कण्ठ गर्दैमा वित्छ उनीहरुको सबै सिर्जनात्मकता । केही निजी विद्यालयले थोरै भए पनि सिर्जनात्मकता विकास गराउने प्रयास नगरेका पनि होइनन् तर त्यो अभिभावकलाई सन्तुष्ट पार्ने स्तरमा त होला तर, बच्चाको सिर्जनात्मकता विकास हुने स्तरमा पुगेको छैन ।

सरकार, यसका नियामक निकाय र राज्यका नीति कानुन भन्ने त सबै औपचारिकता मात्र छन् । कुन निजी विद्यालयले के गरीरहेको छ, कति पैसा उठाउँछ, के के सुविधा दिन्छ ? पठनपाठन कसरी गरेको छ हेर्ने, नियमन गर्ने त टाढाकै कुरा भैहाल्यो ।

कुनै सन्दर्भमा मंगोलियाको राजधानी युलानबटारको एउटा निजी विद्यालयमा पुग्ने अवसर मिलेको थियो । दिउँसो साढे १ बजे स्कुल पुग्दा नर्सरी, कक्षा १ र २ का विद्यार्थी भर्खर स्कुल आउँदै थिए । एकथरी विद्यार्थीको पढाइ भैरहेको थियो, अर्काथरी आउँदै थिए । मैले यसो किन गरिएको भनेर सोधेँ । विद्यालयकै एक शिक्षिकाले भने अनुसार – विहान साढे ८ बजे स्कुल शुरु हुन्छ, साना बच्चाहरु त्यती विहानै उठेर आउन पनि सक्दैनन्, उनीहरुको निद्रा पनि पुग्दैन । विहान दिउँसो भन्दा अझ बढी चिसो हुन्छ । साथै ३ बजे ठूला कक्षाका विद्यार्थी घर जान्छन्, अनि यी साना विद्यार्थीलाई खेल्न, उफ्रन, तल माथि गर्न जति पनि खुला हुन्छ र रमाउन पनि पाउँछन् ।

हरेक मुलुकका आ-आफ्नै फरक पद्धति होलान् । मैले अभिभावकहरु आफ्ना बच्चाहरु निजी विद्यालय पठाउँछन् भनेर सोधे ? ती शिक्षिकाले भने अनुसार - सरकारी विद्यालयमा कक्षामा धेरै विद्यार्थी हुन्छन् अनि निजीमा बढीमा २५ जना मात्र राखिन्छ ।

अतिरिक्त क्रियाकलापहरु निजीमा बढी हुन्छन् । निजीमा अतिरिक्त गणित र विज्ञान पढाइन्छ । प्राथमिकता क्रम गर्दा अङ्ग्रेजी पढाउने कारण चौथोमा पर्ने रहेछ । शिक्षकले बढी मेहनत गर्छन् । शिक्षकहरुले सरकारीको तुलनामा बढी तलब पनि पाउँछन् रे !

हामीले हाम्रा बालबालिकालाई खेल्ने ठाउँ ठूलो भएको स्कुल पठाउने दिन पनि आउला नी है !