Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

शिक्षाका उपसचिवले पाए मुकाम, सरुवाको निर्णय एक साता पछि बल्ल सार्वजनिक

सोमबार, ०५ कार्तिक २०७५

काठमाडौं - एक साता अघि गरिएको भनिएको सरुवामा 'भित्र भित्रै चलखेल' भएको खबर सार्वजनिक भए सँगै शिक्षा मन्त्रालयले १ सय ६६ उपसचिवलाई स्थानीय तहमा कामकाज गर्न खटाएको सार्वजनिक गरेको छ ।

दशैं विदा शुरु हुने अघिल्लो दिन गरिएको भनिएको उक्त सरुवा आफ्नालाई राम्रो ठाउँमा पठाउन गोप्य राखिएको भन्दै आलोचना भएको खबर एडुखबरले प्रकाशित गरे लगत्तै शिक्षा मन्त्रालयले कर्मचारीको उक्त लिष्ट सार्वजनिक गरेको हो । शिक्षा मन्त्रालयको उच्च तहबाटै चलखेल गरिएकोले सार्वजनिक गर्न ढिलाई भएको मन्त्रालय श्रोतको दावी उदृत गर्दै खबर प्रकाशित भएको थियो ।  

पढ्नुहोस् उक्त खबर : शिक्षाका कर्मचारीको सरुवा सकस, आफ्नालाई ध्यान दिदाँ 'लिष्ट'मै फेरबदल !

पहिले तयार पारिएको लिष्टमा ३८ जना उपसचिवको नाममा फेरबदल गरिएको उक्त श्रोतको दावी थियो । मन्त्री गिरिराजमणि पोखरेलको सचिवालयका कर्मचारी र शिक्षा सचिव खगराज बराल बसेर फेरबदल गरेको उक्त दावी सहितको खबर प्रति सचिब बरालले 'सत्यको नजिक नभएको खबर' भन्दै 'आपत्ति' जनाएका थिए ।

बरालको उक्त 'आपत्ति' लगत्तै मन्त्रालयको वेभसाईट मार्फत् असोज २९ गतेको निर्णय उल्लेख भएको उक्त लिष्ट सार्वजनिक गरिएको हो ।

पढ्नुहोस् कसको सरुवा कहाँ

लिष्टमा उल्लेख भएको नामावली र मुकाममा पहिलेको तुलनामा ब्यापक फेरबदल गरिएको उक्त श्रोतको दावी यथावत छ ।

'हामीले त पहिलेको लिष्ट पनि मोटामोटि हेरेकै थियौं, तपाईहरुले त बल्ल हेर्नु भयो, यसमा धेरै परिवर्तन छ' लिष्ट सार्वजनिक भए पछि उक्त श्रोतले फेरी सोही दावी गर्दै भन्यो, 'विदाकै विचमा भेटघाट र भनसुन गर्नेहरुको नाममा फेरबदल भएको शंका गरेका छौं, केही दिन पछि उक्त कुराको थप पुष्टि हुँदै जाने नै छ ।’

देशको संरचना परिवर्तन र संविधानले नै विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत गरेको अवस्थामा पनि शिक्षा मन्त्रालयले आफ्ना कर्मचारी खटन पटन गर्न नसक्दा स्थानीय सरकारको काम कारवाहीमा असर पर्दै आएको छ ।  समग्रमा संघीय मन्त्रालयको कार्य सम्पादनमै आलोचना हुँदै आएको छ ।

शिक्षा सेवाका झण्डै साढे दुई सय उपसचिव चालु आर्थिक बर्षको शुरु देखिनै काम विहीन छन् । उनीहरु हाजिर गर्दै फर्कने गरिरहेका छन् । शुरुमा सिनियर र जुनियरको विवादमा अल्झेको शिक्षामा उपसचिवको सरुवा देशभरिका नगरपालिकाका शिक्षा शाखामा उपसचिवहरू खटिने ब्यवस्था सहित सरकारले बाटो खुल्ला गरेपछि मन्त्रालयले सरुवाको निर्णय गरेको हो ।

शिक्षा सेवामा ४ सय ४१ उपसचिव छन् । यी मध्ये १ सय ९२ उपसचिव शिक्षा मन्त्रालय अन्तर्गतका निकायहरूमा छन् भने केही राष्ट्रिय परीक्षा बोर्ड, युवा तथा खेलकुद मन्त्रालय, भाषा आयोगमा खटिएका छन् । प्रदेश तथा शिक्षा मन्त्रालयका निकायहरुमा खटिएर पनि जगेडामा रहेका २ सय ३२ उपसचिवहरू मध्ये १ सय ६६ को सरुवा गरिएको हो । देशभरका २ सय ७६ नगरपालिका मध्ये २५ हजारभन्दा बढी जनसङ्ख्या भएकामा मात्र शिक्षाका उपसचिव खटाउने सरकारको निर्णय छ । यस आधारमा २ सय ४५ नगरपालिकामा उपसचिव खटाउन सकिन्थ्यो । तर केहीको निकट भविष्यमै अवकास हुने भएकोले सबैको सरुवा नगरिएको बरालले बताए ।

'अहिले पठायो फेरी केही समय पछि खाली हुँदा त काममा असर पर्छ नी त्यही भएर त्यस्ता उपसचिवको सरुवा नगरिएको हो' उनले भने ।

बाँकी रहेका स्थानीय तहमा उपसचिवको सरुवा केही समय पछि गर्ने पनि उनले बताए ।

प्रतिक्रिया