Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

जनप्रतिनिधिले नै भत्काइदिए विद्यालय, स्थानीयद्वारा उपमहानगर घेराउ

मंगलबार, ०६ कार्तिक २०७५

काठमाडौं ६ कात्तिक / वडा कार्यालयको भवन जोगाउन भन्दै स्थानीय जनप्रतिनिधिले सामुदायिक विद्यालयको भवन भत्काइदिएपछि स्थानीय आक्रोशित बनेका छन् ।

अन्नपूर्ण पोष्टका अनुसार विरोध स्वरुप जनकपुरधाम उपमहानगरपालिका–२१ का स्थानीयले कार्यालय घेराउ गरेका छन् । २१ नम्बर वडा कुर्थास्थित वडा कार्यालयको भवन जोगाउनको लागि सामुदायिक विद्यालय भवन नै भत्काइिदिएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

नक्सा र मापदण्ड विपरित जबर्जस्ती विद्यालय भवन भत्काएको विरोध गर्दै कुर्थाबाट हजारौंको संख्यामा पुगेका स्थानीयले आइतबार उपमहानगरपालिका कार्यालयका साथै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसमेत घेराउ गरेका थिए ।

२०१७ सालमा स्थापना गरिएको राजर्षी जनक माध्यमिक विद्यालयको भवन सडकभित्र परेको भन्दै उपमहानगरपालिकाका मेयर लालकिशोर साह र वडा अध्यक्ष रामेश्वर महासेठको मिलोमतोमा भत्काइएको स्थानीयले बताएका छन् ।

विद्यालय भवन भत्काएपछि यहाँ अध्ययनरत ६ सय विद्यार्थीको भविष्य अन्योलमा परेको उनीहरुको गुनासो छ । नगर प्रमुख साह र वडा अध्यक्ष महासेठले राजनीतिक प्रतिसोधका कारण डोजर लगाइ सार्वजनिक विद्यालय भवन भत्काएको स्थानीयको दावी छ ।

उपमहानगरपालिका कार्यालयले गत वैशाख महिनामा विद्यालय भवन भत्काउन लगाएपछि विद्यालयका प्रधानाध्यापक वीरेन्द यादवले उच्च अदालत जनकपुरमा मुद्दासमेत दायर गरेका थिए ।

जनकपुर अदालतले भने विद्यालयसँगैको सडकको मध्यविन्दु यकिन गरी दायाँबायाँ दुबैतर्फ बराबर जग्गा पर्नेगरी मात्र बाटो निर्माण गर्न आदेश दिएको थियो । तर, सडकको दायाँ पर्ने विद्यालयको भवनतर्फबाट मात्र सडक विस्तारको काम गरिएको यादवले बताए । सडकमै रहेको वडा कार्यालय भवनलाई केही नगरी जनप्रतिनिधिले विद्यालय भवन भत्काउन लगाएको प्रधानाध्यापक यादवले बताए ।

वडाअध्यक्ष महासेठले भने विद्यालयको भवन सडकमै परेकोले भत्काउनु पर्ने बाध्यता रहेको दाबी गरे । साथै विद्यालयलाई अन्यत्र ऐलानी जग्गामा सार्न सुझाव समेत प्रधानाध्यापकलाई दिएको महासेठले बताए । शिक्षक तथा स्थानीय भने जनप्रतिनिधिको यस्तो सुझाव स्विकार्य नभएको भन्दै विरोध गर्दैआएका छन् ।

अन्नपूर्ण पोष्टमा मनिका झाले लेखेको खबर ।

प्रतिक्रिया