Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

भूकम्पले भत्काएका चार हजार विद्यालय पुनर्निर्माण

मंगलबार, ०६ कार्तिक २०७५

काठमाडौं ६ कात्तिक / भूकम्पले भत्काएका ५० प्रतिशतभन्दा बढी विद्यालय पुनर्निर्माण भएका छन् । भूकम्प प्रभावित ३२ जिल्लामा क्षति पुगेका सात हजार नौ सय २३ मध्ये चार हजार ८९ विद्यालय पुनर्निर्माण भएका हुन् ।

नयाँ पत्रिकाका अनुसार भूकम्पबाट २१ हजार एक सय ६९ कक्षाकोठा पूर्ण रूपमा क्षति भएका थिए । त्यस्तै, १२ हजार पाँच सय २२ कक्षाकोठामा अधिक र १५ हजार नौ सय ९० कक्षाकोठामा आंशिक क्षति भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का निर्देशक इमनारायण श्र्रेष्ठका अनुसार अहिले १६ हजार एक सय ६० कक्षाकोठाको पुनर्निर्माण भइरहेको छ । १४ हजार ६ सय ७१ कक्षाकोठा निर्माणाधीन छन् । दुई हजार ६ सय चार कक्षाकोठा निर्माणका लागि छनोट मात्र भएका छन् ।

त्यस्तै, असोजसम्ममा एक हजार नौ सय ९० विद्यालय निर्माणाधीन छन् । निर्माणका लागि छनोट मात्र भएका विद्यालयको संख्या तीन सय ७७ छ । जिल्लामा कामको प्रगति सन्तोषजनक रहेको निर्देशक श्रेष्ठको भनाइ छ ।

चीनको सहयोगमा निर्माण हुने भनिएका सात विद्यालयको अवस्था पनि खासै भिन्न छैन । जसको निर्माणमा तीन अर्ब लाग्ने अनुमान छ । काठमाडौंको दरबार हाइस्कुल (भानु मावि)को निर्माण सुरु भएको छ । सरकारी निकायबीचको विवादका कारण चीनले निर्माण सुरु गर्न सकेको थिएन । चिनियाँ टोलीले सिन्धुपाल्चोक, रसुवा र दोलखाका दुई–दुईवटा विद्यालय निर्माण गर्दै छ । उपत्यकाबाहिरका विद्यालयको पनि फिजिबिलिटी अध्ययन गरिसकेको जनाएको छ ।

भूकम्पले भत्काएकामध्ये ६ सयभन्दा बढी विद्यालय निर्माण अन्योलमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको ठहर छ । भवन बनाउन जग्गाको अभाव र विद्यार्थी संख्यासमेत अत्यन्तै न्यून भएका कारण निर्माण अन्योलमा परेको इकाइ प्रमुख श्रेष्ठले बताए । उनका अनुसार कतिपय विद्यालयको नाममा जग्गा छैन, कतिपयको जग्गा कम भएकाले भवन बनाउन नपुग्ने अवस्था छ ।

त्यसैगरी कतिपय विद्यालयको जग्गा भए पनि भवन बनाउन उपयुक्त छैन । केही विद्यालय पाखामा भएकाले भवन बनाउन जोखिमपूर्ण छ । केही जोखिमयुक्त बस्ती स्थानान्तरण गर्नुपर्ने भएकाले त्यस्ता ठाउँमा विद्यालय निर्माणसमेत उपयुक्त नभएको श्रेष्ठको भनाइ छ ।

-भूकम्पले भत्काएका विद्यालय : ७,९२३
-निर्माण सम्पन्न भएका विद्यालय : ४,०८९
-निर्माणाधीन विद्यालय : १,९९०
-निर्माणका लागि छनोट मात्र भएका विद्यालय : ३७७
-जग्गा वा विद्यार्थी नभएका कारण निर्माण अन्योल भएका विद्यालय :६०० भन्दा बढी

भारतले जिम्मा लिएको निर्माणको काम शून्य

भारतीय अनुदान सहयोगमा निर्माण हुने भनिएका सात जिल्लाका ७० विद्यालयको निर्माण प्रगति शून्य छ । भारतले गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रसुवा र काभ्रेमा १०–१० वटा विद्यालय बनाउने सम्झौता गरेको थियो । तर, अहिलेसम्म एउटा विद्यालयको पनि निर्माण कार्य सुरु भएको छैन । भारतले विद्यालय ओगट्ने काम मात्रै गरेको शिक्षाका अधिकारीहरू बताउँछन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)बाट भारतीय दूतावासमा डिपिआर पठाएका १३ मध्ये नुवाकोटका पाँच र गोरखाका तीन विद्यालयको टेन्डर प्रकाशनका लागि स्वीकृति प्राप्त भएको छ ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेको खबर ।

प्रतिक्रिया