Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

शिक्षाविद् दाहालको निधन, आधारातमा अन्तेष्टि, सयौं सहभागि

बुधबार, ०७ कार्तिक २०७५

काठमाडौं - शिक्षाविद् डा. भोलाप्रसाद दाहालको निधन भएको दशौं दिनमा अन्तेष्टि गरिएको छ । सर्च फर कमन ग्राउण्ड (सर्च) का नेपाल निर्देशक दाहालको गत असोज २९ गते अमेरिकाको लस एञ्जलसमा निधन भएको थियो । सर्चको बैठकमा भाग लिन अमेरिका गएका दाहाल होटलको कोठामा मृत फेला परेका थिए । त्यस लगत्तै आवश्यक प्रकृया सकेर उनको शव गए राती बल्ल नेपाल ल्याईएको हो । राती साढे १० बजे तिर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हरिसिद्धि स्थित घरमा पुर्याएर आर्यघाट लगि राती एक बजे तिर हिन्दु परम्परा अनुसार उनको अन्तेष्टि गरिएको हो । 

उनको निधनलाई 'न्याचुरल डेथ' उल्लेख गरिएको काजगात सहित शव नेपाल ल्याईएको र थप अनुसन्धान पछि अन्य विस्तृत बिवरण उपलब्ध गराईने त्यहाँको प्रशासनले जनाएको परिवारलाई उदृत गर्दै शिक्षाकर्मी मधु दवाडीले जानकारी दिए । उक्त प्रकृया सकिन झण्डै सात हप्ता लाग्ने जनाईएको पनि उनले बताए । 

आधा रातको समय भए पनि उनको अन्तेष्टिमा शिक्षाकर्मी, उनका विद्यार्थी र आफन्त गरी आर्यघाटमा सयौं जनाको उपस्थिती  थियो । 

काठमाडौँ विश्वविद्यालयबाट शिक्षा शास्त्रमा विद्यावारिधि गरेका दाहाल सार्वजनिक शिक्षा प्रणाली बलियो भए मात्रै लोकतन्त्र सवल हुने र देशको उन्नती हुने मान्यता राख्थे । यस तर्फ आवश्यक नीतिगत पैरवीका लागि उनी निरन्तर कृयाशिल थिए । उनी काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन समेत गर्थे ।  

सन् २०१६ देखि सर्चको नेपाल प्रमुख भएका दाहाल यस अघि काठमाडौं स्थित नर्वेली दूतावासमा सुशासन सल्लाहकार थिए । फिनल्याण्ड दूतावासमा शैक्षिक तथा सामाजिक विकास संयोजक र सेभ द चिल्ड्रेन नर्वेका लागि कार्यक्रम निर्देशकका रूपमा पनि उनले कार्य गरेका थिए । 

नेपालको सशस्त्र द्वन्द्वका बखत विद्यालय र बालबालिकालाई द्धन्द्धबाट अलग राख्नु पर्छ भन्ने अभियानमा उनको उल्लेखनीय सहभागिता थियो । सोही सकृयता  पछि  लागू भएको ‘बालबालिका शान्ति क्षेत्र’ अभियानमा उनको भूमिका विशेष थियो ।

उनको निधन पछि 'शान्तिका अभियन्ता डा. भोलाप्रसाद दाहालको निधन' शिर्षकमा शोक वक्तब्य जारी गर्दै सर्चले दाहालको निधनलाई 'अपूरणीय क्षती' भन्दै उनको कार्यको सकारात्मक परिणामले देशभरमा हजारौं बालबालिकाको जीवनस्तर उकास्न मद्धत पुगेको उल्लेख गरेको छ ।

'काठमाण्डौंका शक्ति केन्द्रमा रहेका देखि दूर ग्रामिण क्षेत्रमा रहेका उहाँको सरहाना गर्ने, हृदय देखि स्मरण, उहाँलाई सम्मान र स्नेह गर्ने सहृदयी मानिसहरू पाउन सकिन्छ' उक्त बक्तब्यमा भनिएको छ, 'स्थानीय सरकारका नयाँ सदस्यहरूलाई सहकार्यात्मक नेतृत्वको अवधारणालाई आत्मसात गर्न सहजकर्ताको भूमिका निर्वाह गर्नुका साथै बहुचर्चित ‘सिंहदरबार’ टेलिभिजन श्रृंखला मार्फत हजारौं मनहरूमा उहाँ आशा जगाउन सफल हुनुभएको छ ।'

नेपालमा कार्यरत अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूको सञ्जाल (एआइएन) को स्टियरिङ कमिटिका सदस्यका रूपमा गैरसरकारी संस्थाहरू तथा सरकार बीचको सम्वादलाई सघाउ पुर्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि सर्चले उल्लेख गरेको छ । 

रामेछापको बिजुलिकोटमा ५१ बर्ष अघि जन्मिएका दाहालका आमा, पत्नी, तीन छोरा, बुहारी र नातिनी छन् ।

प्रतिक्रिया