Edukhabar
विहीबार, १३ बैशाख २०८१
विचार / विमर्श

रटाउँदा ग्रेटसिट त राम्रो आउला तर ...

सोमबार, १२ कार्तिक २०७५

मस्तिष्क सृजनशिल छैन भने शिक्षाका माध्यमबाट राष्ट्रले लिएको लक्ष्य पुरा हुँदैन । पाठ्यक्रमको आधारमा निर्माण भएका पाठ्यपुस्तक पढाएर मात्र सिर्जनशिलता प्राप्त गर्न कठिन छ । 

कतिपय शिक्षक, अभिभावक र विद्यार्थीलाई के गर्यो भने सृजनशिल मस्तिष्क निर्माण हुन्छ भन्ने थाहा छैन । कतिले त थाहा हुँदा हुँदै पनि प्रयोग नगरेको पाईन्छ । यदी प्रयोग नगर्ने हो भने प्रतिभा र रचनाहरुको विकास सम्भव छैन । 

यस आलेखमा विद्यार्थीमा सृजनशिल मस्तिष्क विकास गर्ने उपाय बारे केही आफ्ना अनुभव र केही विश्वस्तरमा यस अघि नै भएका अनुसन्धान अध्ययन पश्चात चर्चाको प्रयास गरिएको छ । 

- आहार (Dite)

“जे खान्छौ त्यही बन्छौ, जस्तै अन्न उस्तै मन, जस्तै पानी उस्तै वाणी“ मानव शरीर र मस्तिष्क निर्माणमा खाद्यान्न र पोषणको मुमिका सर्वाधिक महत्वपुर्ण हुन्छ । पोषणले मस्तिष्कको शक्ति र सृजनशिल क्षमतामा अभिवृद्धि गर्दछ । तर सही पौष्टिक तत्वको छनोट गर्न मात्रा र प्रयोगको तरिकाको ज्ञान र सीपको आवश्यकता पर्दछ । 

मस्तिष्क कोषको निर्माण गर्ने, ध्यान केन्द्रित गर्ने, मानसिक विलक्षण सोचको विकासको लागी सिकाइ र स्मृतिलाई दिगो पार्न ओमेगा (Omega-3), फ्याट्टी एसिट (Fatty acid), भिटामिन इ को आवश्यकता पर्दछ जसको आपुर्ति शुद्ध र ताजा सालमोन माछा, ओखर, अण्डा, आलसको तेल, बदाम, काजु आदिबाट हुन्छ । मस्तिष्कको सुरक्षा स्मरण शक्ति तिव्र पार्ने एन्टि अक्सिडेन्ट र एन्टिइन्फ्यामेन्टरी को कार्य गर्ने खानामा गाजर, लसुन, रातो अंगुर, टमटर होलग्रेन, व्रोकाउली, ब्लूवेरी, काउली, मह अदिको नियमित सेवन गर्नु पर्छ । सेरोटोनिनस स्मृतिको लागि र जेपामाइनस चिन्ता हटाउन कुरकुमिन भन्ने तत्व चाहिन्छ । रेसालु खानाको नियमित सेवनले त्यो प्राप्त हुन्छ । 

शरीर र मस्तिष्कको कोष क्षय हुनबाट जोगाउन असल मानसिक अवस्थाको सिर्जना गर्न सेरफटोनिन, भिटामिन वी सिकाइ र स्मृतिको लागी म्याग्नेसियम, कन्फुयुजन, कमजोरी हटाउन आइरन, स्नायु संकेत गर्ने जिडक र स्नायु सूचना लाई नियन्त्रण गर्न कपर को आवश्यकता पर्दछ । यी सम्पुर्ण तत्वहरुबाट हुने फाईदा लिन अति महत्वपुर्ण मानिने पोषण युक्त तत्व फर्सी वियाको नियमित सेवन गर्नु लाभदायक हुन्छ । मस्तिष्कलाई तृष्ण पार्न, न्यूरोटासुय को कार्य गर्न उच्च टिरोसाइन प्रोटिनको प्राप्त गर्नु पर्छ जसका लागि दुधबाट बनेका परिकार, समुन्द्री खानाको सेवन गर्नुपर्छ । कोषहरुको क्षयबाट बचाउन, स्मरण शक्ति बढाउन, उर्जाको नियमित आपुर्ति गर्न, मैसम अनुसारका शुद्ध फलफुलहरु एभोकार्ड, किवी, सुन्तला, सिमी, स्याउ तथा तिलको प्रयोग गर्नु पर्छ । मुड सुधार गर्न, सचेत र केन्द्रित हुने कार्यमा क्याफिनले ग्रिन टि वा कफीको सेवनले मद्धत गर्छ जुन मस्तिष्कको कार्यलाई सजिलो प्रभावकारी र सृजनशिल बनाउन शुद्ध पानि र शुद्ध अक्सिजनको अतिनै महत्वपुर्ण भूमिका हुन्छ । त्यसैले विद्यार्थीलाई क्याल्सियम र म्याग्निसियम युक्त शुद्ध पानी स्वासप्रस्वासको लागि शुद्ध अक्सिजन युक्त हावाको उपलब्धता गराइदिनु पर्छ । 

- अभ्यास (Exercise)

अभ्यासले मानिसलाई पूर्ण बनाउँछ । शारिरिक व्यायाम तथा कसरतले  शरिरलाई मजबुद बनाउँछ । त्यसको प्रभाव मस्तिष्कमा पनि पर्दछ । मानसिक अभ्यासले मस्तिष्कलाई शक्तिशाली र सिर्जनशिल बनाउँछ । अध्ययनरत विद्यार्थीले आफ्नो स्मृति क्षमता बढाउन सृजनशिलताको अभिवृद्धी गर्न खाद्यान्न र पोषणबाट उर्जा प्राप्त गर्न शारिरीक र मानसिक अभ्यास गर्नु अति वाञ्छनिय हुन्छ ।

विद्यार्थीले समस्या समाधानको सिप विकास गर्न ध्यान केन्द्रित गर्न र सामान्य ज्ञानमा सुधार गर्न चेस, तास, चेकर, तस्विर गेम, बागचाल, बुद्धिचाल अदि खेल्नु आवश्यक हुन्छ । त्यस्तै  पजल, क्रसवोर्ड, सुडुको, भिडियोगेम, रुविक कूवस अदिले मस्तिस्कलाई तुरुन्त क्रियाशिल स्मार्ट राख्छ । 

नयाँ भाषा र साधनको सिकाइले सुचनाको प्रस्तुतिकरण र मस्तिष्कको नयाँ भागको उत्तेजित हुने हुँदा क्षमतामा अभिवृद्धी हुन्छ । प्रत्येक दिन एउट नयाँ शब्द सिक्न दिँदा शब्दकोषमा वृद्धी भई नयाँ अवधारणा बन्न पनि सक्छ । त्यस्तै गरी दैनिक लेखन र पठनले (जस्ताकी कथा, कविता, निवन्ध, उपन्यास वा गैर आख्याना आदिले) स्मृति तथा भाषिक सिप, विचारमा क्रान्ती ल्याई सृजनशिलतामा अभिवृद्धी हुने हुँदा विद्यार्थी स्वप्रेरित हुन्छ । यसको अतिरिक्त सुन्ने बोल्ने, व्यक्त गर्ने क्षमतामा पनि अभिवृद्धि हुन्छ कहिले काँही छोटो समयको लागी दायाँ हात चलाउनेले वायाँ, वायाँ हात चलाउने भए दायाँ हात को प्रयोगले कार्य गर्दा विपरित तिरको मस्तिष्कको अभ्यास हुन्छ । 

गणितीय हिसाव जोड, घटाउ, गुना, भागा क्याल्कुलेटरको प्रयोग विनानै गर्दा मस्तिष्कको प्रयोग हुन गई स्मृतिमा वृद्धी हुन्छ ।

चित्र बनाउने, स्वतन्त्र वहस गर्ने, विद्यालय जाने, नयाँ नयाँ सिप सिक्ने, रुची अनुसारको कार्य गर्ने, नयाँ खेल खेल्ने, नयाँ विचार लिने, स्वतन्त्र विचारको विकास गर्ने, केन्द्रिकृत र विकेन्द्रिकृत विचार गर्ने तथ्य तर्क र प्रमाणको आधारमा निष्कर्ष निकाल्ने, नयाँ प्रयोग गर्ने, प्रयत्न र भुलबाट सिक्ने, दैनिक तालिकालाई परिवर्तन गर्ने, नाच्ने, सिक्ने र शान्त रहने (शरिर, मन, हृदय र मस्तिष्कलाई) ससानो काम गर्दा पनि संयोजन गर्ने, सुन्तुलन निर्माण गरी चारैवटा उर्जालाई एउटै काममा केन्द्रित गर्ने बानीको विकास गर्नु आवश्यक छ । 

मस्तिष्कमा गर्नु पर्ने कार्यको चित्र कोर्ने मेन्टल म्यापिङ्ग (Mental Mapping) गर्ने दृष्यचित्र निर्माण गर्ने, हात, आँखा, मस्तिष्क र हृदयको समन्वय गरी कार्य गर्ने सिपको विकास गर्ने, आदी कामहरुको पुर्व विश्वासका साथ निरन्तर अभ्यास गर्नु पर्छ ।

प्राकृतिक उज्यालो भएको ठाँउमा बसी (वगैचा, कौशी, जंगल आदि) डजिटल डिभाइसलाई हटाएर आफ्नो खास शिर्षकमा मस्तिष्क मन्थन गर्ने, निष्कर्ष विचार खिच्ने बानिको विकास गर्दै जाँदा विस्तारै मस्तिष्कको क्षमता र सिर्जनशिलतामा वृद्धि हुन्छ । तसर्थ सहि लगानी र सहि प्रकृया अवलम्वन गर्ने हो भने सृजनशिल मस्तिष्कको विकास नहुने कुरै छैन ।

एक समय एउटै कार्यमा केन्द्रित गर्नुपर्छ । निरन्तर माइन्डफ्लनेस मेडिटेसनको अभ्यास गर्नु पर्छ । चिन्तामुक्त हुने गर्नुपर्छ । मिठो र गहिरो निद्राले सुत्ने, सकारात्मक सोच राख्ने र पुर्ण आत्मविश्वासका साथ जोस, होस र विवेकका साथ कार्यको अभ्यास गर्ने हो भने विद्यार्थिको मस्तिष्क सिर्जनशील बन्न पुग्छ । तर डराउने, त्रास, कष्ठ गर्ने, नबुझी पढ्ने, लेख्ने गर्नाले कदापी मस्तिष्क सिर्जनशिल हुन सक्दैन । अक्सर विद्यार्थीमा यस्तै दमनात्मक व्यवहार  गरिन्छ तसर्थ विद्यार्थीको सिर्जनशिल क्षमताका ठप्प विर्को नै लागेको पाईन्छ । परिणाममा कामयावी हुन सकेका छैनन् ।

अत: उपर्युक्त  राम्रा र नयाँ निरन्तर मानसिक अभ्यासले विद्यार्थीको मानसिक क्षमताको र सिर्जनशिलतामा वृद्धी गर्ने हुँदा उनीहरुलाई निरन्तर त्यस्ता अभ्यासहरु गराउनुपर्छ ।

- चुनौती (Challenges)

चुनौतीको सामाना गर्न मानिसको मानसिक शक्ति र सिर्जनशिल क्षमता उच्च हुन्छ । पूरै जोस, होस, र विवेकका साथ चुनौतिको डटेर सामना गर्ने वानीले व्यतिलाई सफल बनाउँछ । जसरी विद्युतको करेन्टले विजुलीको वल्व भित्र राखिएको अवरोधलाई पार गर्दा टल्किन्छ र उज्यालो हुन्छ त्यसरी नै चुनौति र ठक्करले वत्ती रुपी मस्तिष्कलाई चम्काइदिन्छ । जसरी ढुङ्गा हजारै पटक ठोकिएर मुल्यवान शालिग्राम बन्छ । जसरी पीपलको रुख चट्टानको कापबाट उम्रेरै भए पनि जीवनलाई प्राणदायिनी अक्सिजन दिन्छ । त्यसरी नै व्यक्ति मुल्यवान र समाजलाई गति दिन चुनौतिको सामानाको साहस गर्नु पर्छ । कठिन कार्य रोज्ने, बाकसबाट बाहिर सोच्ने, दैनिकी तोड्ने, अनौठो कार्य गर्नु मस्तिष्क मन्थन गर्नु नयाँ क्षमता र अनुभवहरुको लागि कार्य गर्नु, शान्त र खुल्ला हुने हो भने मस्तिष्क सिर्जनशिल हुन वेरै लाग्दैन ।

स्वयमलाई विश्वास गर्ने, चुनौतिको सामना गर्ने, आँफैलाई लक्ष्य सम्म निरन्तर धकेल्ने हो भने मात्र उत्तम रुप निर्माण हुन्छ । अरु खास मस्तिष्कको क्षमता विकास गर्न कठिन युद्धको सामना त्यतिवेला सम्म गरी रहने गर्नु पर्छ जबसम्म आफ्नो लक्ष्यमा पुगिन्न । स्वयमलाई चुनौति दिदै गहिराईसम्म पुगेर तत्कालै पौडीन सिक्ने हो भने सम्भव हुन्छ तर त्यसको लागि साहस र हिम्मत हुनुपर्छ । यस्ता अभ्यासहरुले दिमागमा चमत्कारिक प्रभाव पार्दछ । 

यदि भयानक क्यान्सर जस्तो चुनौतिको सामना गर्नु नपरेको भए जगदिश घिमिरेले “अन्तर्मनको यात्रा“ जस्ता कालजयी पुस्तक लेख्ने थिएनन् । शोकलाई शक्तिमा नवदलेको भए जोन किट महान कवि  हुने थिएनन् । त्यस्तै अभाव, संघर्ष र चुनौतिहरुको सामना गर्नु नपरेको भए स्टिव जब्स स्मार्ट फोन वनाउने क्षमता प्राप्त गर्ने थिएनन् । वास्तवमा देवकोटाको सँघर्ष, चुनौतिको सामानाकै कारण कालजयी रचनाहरु सृजना गरी महाकवी भएका हुन् । कमजोर बुद्धि भएका कारण स्कुलबाट निकालिएका अल्बर्ट अइन्स्टाईनले थुप्रै चुनौती र सघर्ष गर्नु परेको जसको परिणाम उनमा अतिरिक्त स्नायुकोष तथा डेन्ड्राडटसको संख्यामा वृद्धी हुन गई अन्तत आफ्नो क्षमता प्रदर्शन गरी संसारकै महान मस्तिष्क भएको महामानव को नामले संसारमा प्रख्यात भए । 

त्यस्तै राइट दाजुभाईले पनि कठिन परिश्रम र असङख्य पटकको असफलबाट मात्रै हावाइजहाजको सफल परिक्षण गरेका थिए । आविष्कारका पनि आविष्कारका रुपमा चिनिने थोमस अल्वा एडिसनले आफ्नो जीवनमा थुप्रै ठक्कर, हण्डर र चुनौतिको सामना गर्नु पर्यो । भनिन्छ विजुलीको चिम वनाउँदा मात्रै उनी ९९९ पटक असफल भए तथापी अन्तत् उनि सफल भए । 

माथिका ज्वलन्त उदाहरणहरुबाट उनलाई हरेश नखाई चुनौतिको सामाना गर्दा सफल हुने र त्यही अनुसार मस्तिष्कको संरचना तयार हुने तथ्य स्पष्ट हुन्छ ।

तसर्थ विद्यार्थीले स्वयम समस्या समाधान गर्ने नयाँ अवसर र सम्भावनाको खोजी गर्ने, संघर्ष गर्ने, हरेश नखाई कार्य गर्ने, स्वयं शरीर र मस्तिष्कको सन्तुलन कायम गर्ने, पूर्व विश्वास र निरन्तर अभ्यासका साथ चुनौतिहरुको सामना गर्ने हो भने जादुमयी तरिकाले मस्तिष्कको उर्जा र सिर्जनशिलतामा अभिवृद्धि हुने कुरा सुनिश्चित छ ।

- कार्य प्रतिको माया (Love of action)

कार्य प्रति आकर्षण र ध्यान शक्ति आवश्यक छ । कार्य प्रतिको लगाव उच्च हुनु पर्छ । कार्यलाई पूजा तथा आरधना गर्न उत्सुक हुनुपर्छ । मन वचन र कर्मले शुद्ध पवित्र भई तन, मन र धन लगाएर काम गर्नु पर्छ । जस्तै लगानी र प्रकृया सही भए मात्र उपयुक्त उत्पादन हुन्छ । त्यस्तै कर्ममा माँया र स्नेह हुनु अनिवार्य छ । कार्यमा माँया भए थकान हँुदैन । अनन्दमन भई कार्य गर्न सकिन्छ ।

मेरीयन डायमण्डको मस्तिष्क सम्बन्धी कार्यमा उत्सुकता शोख र प्रेमले गर्दा अधुनिक स्नायू विज्ञानका प्रर्वतक न्यूरोप्लास्टिसिटी जस्तो नयाँ अवधारणाको वैज्ञानिक प्रमाण पेश गर्न सफल भईन । मस्तिष्क कार्यमा निरन्तर ४० वर्ष सम्म अध्यन खोज र अनुसन्धान गरेकी डायमण्डले कार्य प्रतिको माँयाले गर्दा नै नयाँ मान मस्तिष्कको कार्यप्रणालीको अवधारणाको विकास गर्न सफल भईन । 

विद्यार्थीले गर्ने कार्यहरु जस्तै साहित्य, विज्ञान, कला, दर्शन, अविष्कार, अदि मध्ये के गरी रहेका छन् त्यस कार्य प्रतिको प्रेममा समर्पित भएर लागी पर्ने हो भने त्यसले उनिहरुको मस्तिष्कलाई थप उर्जा प्राप्त भई सिर्जनशिल र क्षमतावान बन्न पुग्छ । 

- स्वतन्त्र सोच र कल्पना (Independent Thinking and Imaginations)  

सोचइबाट तर्कको विकास हुन्छ । तर्र्कको परिक्षण र प्रयोग मिलाउँदा विज्ञान बन्छ जसरी कुनै पनि कार्य पुर्ण रुपले गर्न शरीर मन र मस्तिष्कको सनतुलन आवश्यक हुन्छ त्यसरी नै तर्क र कल्पनामा पनि सन्तुलन निर्माण गर्नुपर्छ । समन्वयको विकास गर्नुपर्छ । यसको खास विधि र प्रकृयाहरु छन् त्यसको अवलम्वन गर्नु पर्छ । 

कल्पना ज्ञान भन्दा धेरै शक्तिशाली हुन्छ भनेर अइन्सटाइनले त्यसै भनेको होईनन् । भनिन्छ उनको विश्वविख्यात शुत्र E=mc2 निरन्तर कल्पनाको मानसिक विम्वबाट आएको हो । ज्ञान पछि परिक्षण गर्दा वास्तविक वन्यो । अइन्सटाईन घण्टौ घण्टा आफ्नो रुची वा सोखको विषयमा कल्पनामा हराउन र निष्कर्षमा निर्णय गर्थे । सोचाई र कल्पनाले मस्तिष्कको कोषमा उर्जा र क्रियाशिलता बढाउँछ, केन्द्रित गर्दछ । 

विद्यार्थीले सोच, कल्पना र नयाँ सम्वन्धको स्थापना गर्ने अभ्यासहरु निरन्तर गर्दै गर्ने व्यवहारको विधि प्रकृयाहरु स्वयम पत्ता लगाइ लक्ष्यको उद्घाटन गर्ने हो भने मस्तिष्कको ढकनी खोलिन्छ र क्षमता असिमित हुन पुग्छ । 

अतः पोषिलो खाना, शुद्ध पिउने पाउने र शुद्ध अक्सिजन युक्त हावाले वालवालिकाको सिर्जनशिल मस्तिष्कको विकासमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा स्वयं विद्यार्थी, अभिभावक र शिक्षक राज्य सवै सचेत भई तत् अनुसार व्यवहारिक प्रयोग गर्नु वान्छनीय हुन्छ । यसरी विद्यार्थीलाई उपर्युक्त मानसिक डाइट सेवन गर्ने, निरन्तर अभ्यास गर्ने, चुनौतिको सामना गर्ने, कार्य प्रति प्रेम गर्ने, स्वतन्त्र सोच र कल्पनाको स्वय विकास गर्ने हो भने उनीहरुका मस्तिष्कलाई थप शक्तिशाली र सिर्जनशिल बन्न पुग्छ । विद्यार्थीलाई घोटाउँदा, रटाउँदा दबाव दिदाँ राम्रा राम्रा ग्रेटसिट र मार्कशिट त आउलान् तर मस्तिष्क थप खोक्रो, परनिर्भर र क्षमताहिन बन्न पुग्छ । परिणाममा यस्तो शिक्षा आत्मघाति बन्न पुग्छ जुन यत्र तत्र सर्वत्र अहिले देख्न पाईन्छ । 

उर्लाबारी २ मंगलबारे स्थित श्री सुनपकुवा माध्यमिक विद्यालयका शिक्षक पाण्डेले केही आफ्ना अनुभव र केही विश्वस्तरमा यस अघि नै भएका अनुसन्धान अध्ययन गरी तयार पारेको सामग्री । 

प्रतिक्रिया