Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

कक्षा ११ नतिजा लापरवाहीको छानविन गर्न समिति, तथ्य आउनेमा शंका

मंगलबार, १३ कार्तिक २०७५

भक्तपुर - कक्षा ११ को नतिजामा लापरवाही भएको गुनासो आएको दुई साता पछि बल्ल राष्ट्रिय परीक्षा बोर्डले छानविन समिति गठन गरेर अनुसन्धान शुरु गरेको छ । बोर्डका सदस्य युवराज पराजुलीको संयोजकत्वमा गत शुक्रबार गठित ५ सदस्यीय उक्त समितिलाई १५ दिने म्याद दिईएको छ । 

मुख्यतया विज्ञान संकाय अन्र्तगत केमेष्ट्रि, फिजिक्स र गणितमा विद्यार्थीले प्राप्त गरेको ग्रेड अपत्यारिलो भन्दै पोखरा स्थित बोर्डको शाखा कार्यालय मातहतका १० जिल्लाका विद्यार्थी अभिभावक र शिक्षकहरुले नतिजामा लापरवाही भएको भन्दै प्रदर्शन समेत गरेका थिए । उनीहरुले छानविनको माग गरेका थिए । 

पढ्नुहोस् : कक्षा ११ को नतिजामा लापरवाहीको शंका, नियन्त्रकको 'रुखो जवाफ' - मलाई हैन अध्यक्षलाई सोध्नुहोस् !

तर, बोर्ड भित्रैबाट बनेको समितिले गरेको छानविनले तथ्य पत्ता लगाउन नसक्ने भन्दै शंका गरिएको छ । उक्त समितिको सदस्य सचिवको जिम्मेवारी उपनियन्त्रक कृष्ण घिमिरेलाई दिईएको छ ।  

'गल्ति गर्ने निकायकै ब्यक्तिहरुबाट हुने छानविनले आफ्नै गल्तिको तथ्य सार्वजनिक गर्ला भनेर पत्याउने आधार देखिदैंन' पोखरा स्थित एक विद्यालयका प्रधानाध्यापकले भने 'लापरवाहीको छानविन गर्न समिति बेनेको थाह पायौंं, उक्त समितिले के कस्तो विधि अपनाउँदो रहेछ हामी ध्यानपूर्वक हेरिरहेका छौं ।' 

तर, समितिलाई पर्ने ब्यवस्थापकीय कार्यमा सघाउनका लागि मात्रै बोर्डका कर्मचारीलाई जिम्मा दिएको अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले दावी गरे । 

'छानविन अघि कापीहरु हेर्नु पर्यो, ती कापी कहाँ छन्, र कहाँ सुरक्षित राख्ने भन्ने कुरा थाह पाउने भनेको कर्मचारीले नै हो' उनले दावी गरे 'त्यसैका लागि जिम्मेवारी तोकिएको हो, समितिको छानविनमा कुनै प्रभाव पर्दैन ।'

रिटोटलिङ्का लागि परेका निवेदनकै प्रकृया अनुसार छानविन समितिले अध्ययन गर्ने र आवश्यक परेमा कापी समेत हेरेर तथ्य पत्ता लगाउने पौडेलले बताए ।

'बोर्डमा सूचीकृत रहेका विषय विज्ञहरुनै उक्त छानविन समितिमा रहेका छन्, त्यसैले आवशयक परेमा कापी नै परीक्षण हुन सक्छ' उनले भने । समितिमा धेरै गुनासो आएका विषयका विज्ञहरुलाई राखिएको जनाए पनि पौडेलले  अरु सदस्यको नाम भने  सार्वजनिक गर्न चाहेनन् । 

उक्त समितिका संयोजक पराजुली पोखरा स्थित एक निजी विद्यालयका सञ्चालक हुन् । उनलाई पूर्व शिक्षा मन्त्री धनिराम पौडेलले बोर्ड सदस्य नियुक्त गरेका थिए । संस्थागत रुपमै विभिन्न ठाउँबाट निवेदन परेको आधारमा समितिले छानविन गर्ने काम शुरु गरेको बताउदै पराजुलीले परीक्षाको विश्वसनीयता कायम राख्न र के भएको हो भन्ने यकिन पत्ता लगाउन आफूहरु लागि सकेको प्रतिकृया दिए । विद्यार्थीको कापी नै पुन परीक्षण गर्ने हो वा रिटोटलिङ्कै प्रकृया अनुसार गर्ने हो भन्ने बारेमा अहिले बताउन नमिल्ने पराजुलीले उल्लेख गरे ।  

'पोखरा मात्रै हैन, बुटवल, विराटनगर जस्ता देशका धेरै ठाउँबाट संस्थागत रुपमै पनि निवेदन आएको छ, अहिले हामी तिनै निवेदनका आधारमा प्रारम्भिक रुपमा हेर्दै छौं' उनले भने  'विद्यार्थीलाई साँच्चै मर्का परेको हो हैन भन्ने कुरा अध्ययन पछि मात्र थाह हुन्छ अहिल्यै सदस्यको नाम, अनुसन्धानको विधि र प्रकृयाका बारेमा भन्न मिल्दैन  ।'

गत बैशाख ८ गते देखि शुरु परीक्षा अन्र्तगत कापी परीक्षणको प्रकृया शुरु हुँदै गर्दा असार ८ गते तत्कालिन नियन्त्रक डम्बर बतासलाई हटाएर बोर्डले कृष्ण प्रसाद शर्मालाई नियन्त्रकको जिम्मेवारी दिएको थियो । परीक्षाफल प्रकाशनका आन्तरिक कार्य जारी रहेका बेला नियन्त्रक परिवर्तन गर्दा नतिजामा समस्या हुन सक्ने भन्दै त्यति बेलै बोर्ड भित्र उठेको आवाज वेवास्ता गर्दै शर्मालाई नियन्त्रक बनाईएको थियो । 

परीक्षाफल चाँडै प्रकाशन गरेर प्रभावकारी कार्य सम्पादन गरेको देखाउने  हतारोमा परीक्षणमा लापरवाही भएको शंका पनि गरिएको छ । परीक्षणलाई अनुगमन गर्न गरिने सम्परीक्षणको कार्यमा समेत हतार गर्दा नतिजामा गुनासो आएको अड्कल काटिएको छ ।

कक्षा ११ को परीक्षाफल गत असोज २० गते सार्वजनिक भएको थियो । 

प्रतिक्रिया