Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

अस्थायी शिक्षकको ध्यान पठनपाठनमा भन्दा अन्तै ! छिटो नतिजाको खाँचो

बुधबार, १४ कार्तिक २०७५

शिक्षक सेवा आयोगले गत असार २९ र ३० गते सञ्चालन गरेको अस्थायी शिक्षकको लिखित परीक्षाको नतिजा दशैं अघि नै सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो । तर, तिहार अघि पनि उक्त नतिजा सार्वजनिक गर्न नसकिने कुरा आयोगका जिम्मेवार अधिकारीहरुलाई उदृत गर्दै खबर सार्वजनिक भएका छन् । 

बर्षौ देखि विभिन्न समस्यामा जेलिएको अस्थायी शिक्षक व्यवस्थापनको सवाल नतिजा प्रकाशनसंगै पटाक्षेप हुने आँकलन गरिएको अवस्थामा आयोगको ढिलासुस्तिले अस्थायी शिक्षक समस्या अझ केही दिन लम्बिने पक्का भएको छ । कुल २२ हजार ७६ शिक्षक पदका लागि गरिएको विज्ञापनको परीक्षामा सहभागी २२ हजार २ सय ३५ अस्थायी शिक्षकहरु आफ्नो भविष्य के हुने भन्ने तनावमा रहेका छन् । यता परीक्षामा सहभागी नभएका कतिपय अस्थायी शिक्षकहरु पनि नतिजा प्रकाशन पश्चात् आफू पदबाट हट्ने निश्चित भएकोले भविष्यको योजना निर्माणमा नै क्रियाशील देखिन्छन् । 

परीक्षामाा सहभागी अस्थायी शिक्षकहरु मध्ये कतिपयलाई भने परीक्षामा असफल भईयो भने पदबाट हट्नु पर्ने बाध्यकारी कानुनी व्यवस्थाले पिरोलेको छ । उनीहरुको ध्यान पठनपाठनमा भन्दा सम्भावित नतिजा तिर नै केन्द्रित हुन पुगेको छ । कतिपय शिक्षकहरु आफ्नो जागिरको टुंगो नभएकोले अन्य बैकल्पिक कामको खोजिमा लाग्न थालिसकेका छन् । सम्भावित नतिजाको डर, त्रास र आसको त्रिवेणीमा अधिकतम शिक्षकहरु आफैमा अन्यौलमा देखिन्छन् । यी सबै अवस्थाको प्रभाव सिधै कक्षा कोठामा परेको छ । सिकाउने जाँगर हराएकाहरुका कारण  विद्यालयको पठनपाठनमा समेत नकारात्मक असर पुगेको देखिन्छ ।

अस्थायी शिक्षकको उत्तर पुस्तिकाको विश्लेषण गर्दै प्रकाशित खबरहरुका अनुसार ठूलो संख्याका अस्थायी शिक्षकहरु असफल हुने आँकलन पनि गरिएको छ । कतिपय शिक्षकहरुले प्रश्नले मागेको उत्तर दिनुको साटो उत्तर पुस्तिकामा आफ्नो बिन्तिपत्र पेश गर्दै उत्तीर्ण गराइदिन अनुनय विनय गरेका खबर पनि सार्वजनिक भईसकेका छन् । 

ठूलो संख्यामा शिक्षकहरु असफल हुँदा विस्थापित शिक्षकहरुलाई नियमानुसार सेवा सुविधा दिँदा पर्ने आर्थिक भारको ब्यवस्थापनका लागि पनि नतिजा प्रकाशन गर्नमा ढिलाई गरिएको हो अड्कल काटिएको छ । 

एकै पटक धेरै शिक्षक विस्थापित भएर विद्यालयमा शिक्षक अभाव हुने भएकोले त्यसको ब्यवस्थापन गर्ने विधि निर्माणका कारण पनि नतिजा प्रकाशनमा ढिलाई गरिएको कुरा सार्वजनिक भएका छन् । 

यस्ता खबरबारे शिक्षक सेवा आयोग मौन रहनुले पनि थप आशंका उब्जिएको छ । परीक्षा जस्तो संवेदनशील बिषयको अनावश्यक चर्चा परिचर्चा अघि आयोगको आफ्नो विश्वसनीयता कायम राख्न यस्ता प्रश्नको औपचारिक उत्तर दिनु आवश्यक छ । 

त्यसो त अस्थायी शिक्षकको परीक्षामा पनि विभिन्न परीक्षा केन्द्रहरुमा अनियमितता भएको स्वयम् सहभागीहरुले समेत बताइसकेका छन् । कतिपय परीक्षा केन्द्रमा आफू अनुकूलका केन्द्राध्यक्ष तथा निरीक्षक राखेर पनि परीक्षालाई पहुँचवालाको स्वार्थ सिद्ध गर्ने  माध्यम बनाइएको गुनासो पनि सार्वजनिक भएका थिए । यस्ता अवाञ्छित गतिविधिले शिक्षक सेवा आयोग थप बद्नाम हुने हुँदा सत्य तथ्यबारे आयोगले धारणा सार्वजािक गर्न जरुरी छ । विगतमा भए गरेका सबै खाले कमीकमजोरीहरुलाई पुर्नमूल्यांकन गर्दै आयोगले आगामी दिनमा आफूलाई विश्वसनीय भरपर्दाे निकायको रुपमा स्थापित गर्न विशेष पहल गर्न आवश्यक देखिन्छ ।

हुन त आफ्नो कार्यतालिका अनुसार आयोगले कुनै पनि काम सम्पन्न गरेको उदाहरण विरलै छ । विगतमा कहिले कार्यसम्पादनमा आफ्नै कमजोरी त कहिले सरकारको हस्तक्षेपका कारण आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउन सकेन । राजनीतिक अस्थिरता तथा राजनीतिक दलको स्वार्थको कारण पनि विगतमा आयोगले स्वतन्त्र ढंगले काम गर्न पाएन । शिक्षक संघ÷संगठनको दवाव र आग्रह पूर्वाग्रहको गोलचक्करमा पनि आयोग लामो समयसम्म काम विहीन अवस्थामा रह्यो । तर, अहिले राजनीतिक स्थिरिता र कानुनी स्पष्टताले आयोगलाई काम गर्न विगतमा जस्तो असजिलो छैन । यस्तो अवस्थामा पनि लाखौं विद्यार्थीको भविष्यसंग गाँसिएको, हजारौ शिक्षकको जिन्दगीसंग जोडिएको नतिजा प्रकाशनमा कुनै पनि बहानामा ढिलाई गर्न हुदैन । यथासक्य छिटो नतिजा प्रकाशन गरी अस्थायी शिक्षकको बर्षाै देखिको समस्यालाई किनारा लाउन शिक्षक सेवा आयोग गम्भिर बन्नैपर्छ । 

ढिलो न्याय दिनु भनेको अन्याय गर्नु नै हो भन्ने सर्वस्वीकार्य  मान्यतालाई आत्मसात् गर्दै अब शिक्षक सेवा आयोग आफ्नो पूर्वनियोजित कार्यतालिका बमोजिम कार्यसम्पन्न गर्न क्रियाशील हुन सके मात्र उस प्रति आम सरोकालाहरुको विश्वास बलियो रहन्छ । सार्वजनिक विद्यालयका विद्यार्थी योग्य शिक्षकबाट पढ्न पाउने वातावरण निर्माण हुन्छ र समग्रमा सार्वजनिक शिक्षा बलियो हुन्छ । 

अस्थायी शिक्षकको लामो समय देखिको समस्या समाधानको अचुक उपाय बनेको उक्त परीक्षाको नतिजा सार्वजनिक गरेर नीयमित रुपमा रिक्त दरवन्दीमा खुला विज्ञापन गरी योग्य शिक्षक छनौटको वातावरण निर्माणमा आयोग कृयाशिल र गम्भिर हुनै पर्छ । यसका लागि परीक्षालाई विश्वसनीय र बस्तुनिष्ठ बनाउन आवश्यक छ । जुन कुराका लागि अस्थायी शिक्षकको नतिजा प्रकाशन पहिलो पाईला हुनेछ । 

[email protected]

 

प्रतिक्रिया