Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षामा सहयोग गर्न कोरिया सकारात्मक

शुक्रबार, १६ कार्तिक २०७५

काठमाडौं- नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा विकासका लागि सहयोग गर्न दक्षिण कोरिया सकारात्मक रहेको नेपालका लागि कोरियाका राजदूत योङ सिक पार्कले बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई भेट्न बिहीबार मन्त्रालय पुगेका राजदूत योङ्ले यस क्षेत्रमा थप सहयोग गर्ने विश्वास व्यक्त गरेका मन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा मन्त्री पोखरेलले कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको बताउँदै विद्यालय तहदेखि उच्च शिक्षासम्मको विकासमा मिलेको सहयोगको स्मरण गरेका थिए । 

दुई देशबीचको सम्बन्ध विशिष्ट प्रकृतिको रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली युवालाई कोरियामा अध्ययन तथा रोजगारीका अवसर प्राप्त हुनु र अफिसियल डेभलपमेन्ट एसिस्टेन्टअन्तर्गत नेपालको बहुआयामिक विकासमा सहयोग पुगेको उल्लेख गरे । हालै झापा र महोत्तरीमा कार्यान्वयन गर्ने गरी विद्यालयको सिकाइ वातावरण सुधार्न र बहु प्राविधिक शिक्षालय स्थापनामा कोरियाली सहयोगमा दुई परियोजनाका लागि कोरिया सरकारसमक्ष प्रस्ताव पेस गरिएको उनले अवगत गराएका थिए । 

मन्त्री पोखरेलले यही कात्तिक २९ गतेदेखि मङ्सिर २ गतेसम्म सियोलमा हुने विश्व सूचना प्रविधि नेतृत्व सम्मेलन’ मा भाग लिन निमन्त्रणा स्वीकार गरेको जानकारी दिएको मन्त्रीका  सञ्चार संयोजक सुनिल खड्काले जानकारी  दिएका छन् । 

 

प्रतिक्रिया