Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

‘माली’ व्यवस्थापनमा विद्यार्थी

बुधबार, २१ कार्तिक २०७५

काठमाडौं २१ कात्तिक / अजय यादव साथी सागर कार्कीसँग मिलेर राति अबेलासम्म माला उन्ने धागो तयार गर्न व्यस्त थिए । ढिला सुते पनि सबेरै उठ्नुपर्ने बाध्यता थियो । मंगलबारको चिसो बिहानीमा उनी भरतपुर–५ को बारीमा शीतले भिजेको सयपत्रीका थुंगा टिप्दै थिए ।

चितवन,रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषिमा स्नातक (बीएससी एजी) पाँचौं सेमेष्टरका विद्यार्थी यादव जस्ता अन्य पाँच जना विद्यार्थी पनि त्यहीं थिए ।

बारीमा सयपत्री ढकमक्क छ । टिपेर माला तयार गर्दै मागेको ठाउँमा पुर्‍याउने टोली पनि छ । खेतमै किन्न आए जोखेर दिने साथी पनि छन् । अघिल्लो वर्ष सय बिरुवा लगाएर उनीहरूले यो कामको सुरुवात गरेका थिए । अहिले ठाउँ फैलिएर चार कट्ठामा पुगेको छ । अर्को वर्ष झनै फैलाउने योजना उनीहरूको छ ।

‘कृषि पढ्दै गरेका हामीले जब तिहारमा करोडौंका माला विदेशबाट आउँछ भन्ने सुन्यौं यो खेती आफंै किन नगर्ने भन्ने सोच बनायौं । अघिल्लो वर्ष सय बोट लगाएर पाँच सय माला बेच्यौं । यो वर्ष चार हजारभन्दा बढी माला बेच्ने लक्ष्य छ,’ यादवले भने ।

भारतमा इन्जिनियर पढेर चार वर्षअघि चितवन आएका सागर कार्की ‘बेटर चितवन’ अभियान चलाउँछन् । अहिले एमबीए पढ्दै गरेका सागरकै टोलीमा छन् अजय यादव । रामपुरमा बिएससी एजी पढ्दै गरेका अजयसहित कृष्ता महत, सुजना पौडेल, पल्लवी श्रेष्ठ, गोकुल कँडेल फूलखेतीमा छन् । बेटर चितवनका सागर कार्कीले नौलो कामलाई नाम दिए ‘माली दाइ’ । अनि जग्गा भाडमा लिएर सयपत्री लगाए । कृषि पढ्ने अन्य पाँचजना साथी अर्थात ‘माली’ ले गरेको कामलाई व्यवस्थापनका विद्यार्थीसमेत रहेका इन्जिनियर सागर कार्कीले प्रवद्र्धन गर्छन् ।

२५ हाजर रुपैयाँ लगानी गरेर विद्यार्थीले फुल खेती सुरु गरेका हुन् । तिहारमा डेढ लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्ने उनीहरूको तयारी छ । ‘यो सयपत्रीको बोटमा अझै तीन महिनासम्म फूल लाग्छ । तिहार सकिए पनि जिल्लाका अन्य कार्यक्रममा बेच्ने योजनामा छौं’ अजयले भने । आउँदो वर्ष फूलका बिरुवाको नर्सरी सुरु गर्ने उनले बताए ।

‘जिल्लामा सरकारी, गैरसरकारी र सहकारीका कार्यक्रममा फूल माला खुवै खपत हुन्छ । बिरुवा पनि किनेर लगाउने चलन सुरु भएको छ । फूल र बिरुवा बाहिरबाट किन ल्याउने’ सागर कार्कीले भने । अहिले गरेको कमाइबाट जग्गाको भाडा तिरेर र अरु खर्च कटाएर बाँकी रहेको रकम आउँदो वर्षका लागि फूल खेती गर्न खर्च गर्ने उनले बताए । यो वर्ष २५ हजारबाट सुरु भएको फुलले दिएको आम्दानीले उनीहरू सन्तुष्ट छन् ।

‘आउँदो वर्ष हामीले सयपत्रीका साथै अन्य फुलहरू पनि लगाउँछौं’ यादवले भने । भरतपुर महानगरपालिकासँग समन्वय गरेको उनले बताए । महानगरले कार्यालय वरपर लगाउने फुल यस वर्ष उनीहरूसँगै किनेर लगेको थियो । कृषि र इन्जिनियर तथा व्यवस्थापन पढेको सौद्धान्तिक ज्ञानले सानो भए पनि फलदायी काम गर्न खोजेको यादव बताउँछन् ।

कान्तिपुरमा रमेशकुमार पौडेलले लखेका छन् ।

प्रतिक्रिया