Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

जहाँ विद्यार्थी त्यहीँ जानकारी

बुधबार, २१ कार्तिक २०७५

काठमाडौं - अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीलाई लक्षित गर्दै देशका विभिन्न पाँच स्थानमा एकै पटक शैक्षिक मेलाको आयोजना गरिदैं छ । काठमाडौं केन्द्रित मेलाले देशका अन्य भागका विद्यार्थी सही जानकारीबाट बञ्चित भएको निष्कर्श साथ कंगारु एजुकेशन फाउण्डेशनले उक्त मेलाको आयोजना गर्न लागेको हो । 

कंगारु एजुकेशन फेयर  : अल नेपाल रोड शो नाम दिईएको उक्त मेला आगामी कात्तिक २९ गते देखि मंसिर ४ गते सम्म देशका विभिन्न ५ शहरमा हुने छ । पहिलो मेला झापाको विर्तामोडमा हुने छ भने कात्तिक ३० र मंसिर १ गते हुने दोश्रो मेला पुतली सडक काठमाडौं स्थित संस्थाकै परिसरमा हुने छ । यस्तै मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरामा मेला गरेर उक्त शो समापन गर्ने संस्थाका प्रमुख कार्यकारी महेशबाबु तिमिल्सिनाले जानकारी दिए । 

विद्यार्थी अभिभावकलाई सही जानकारी दिने भन्दै काठमाडौंमा हुने शैक्षिक मेलाले सबै क्षेत्रका विद्यार्थीलाई समेट्न नसक्ने हुँदा आफूहरु जहाँ विद्यार्थी त्यहीँ जानकारी लिएर पुग्न लागेको तिमिल्सिना बताउँछन् । 

न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभन्नि २४ विश्वविद्यालयका प्रतिनिधिहरु उक्त मेलामा उपस्थित हुने उनले बताए ।    

समग्र शैक्षिक परामर्श र उक्त मेलाका सन्दर्भमा केन्द्रित भएर तिमिल्सिनासँग एडुखबरले गरेको छोटो कुराकानी :

- विदेश जान चाहने विद्यार्थीलाई केन्द्रित गरेर शैक्षिक मेला त भईरहेकै छन्, तपाईहरुले गर्न लागेको मेला के कारणले अरु भन्दा भिन्न छ ? 

हामीले काठमाडौं बाहिर शाखा कार्यालय विस्तार गर्दै गर्दा नारा नै त नभनौं एउटा वाक्याँश प्रयोग गरेका थियौं : खोला धाउँछ की तिर्खा धाउँछ ? 

यो प्रश्न वाचक वाक्याँशको चलन चल्तिको उत्तर खोज्नु भयो भने सामान्यतया तिर्खा लागेको ब्यक्ति नै खोला धाउँछ भन्ने नै हो । तर शैक्षिक परामर्शको सन्दर्भमा हामीले खोलानै तिर्खा लाग्नेहरुका अघिल्तिर जाने एक मिथकका रुपमा अभियान शुरु गरेका थियौं । अर्थात् विदेश जान चाहने विद्यार्थीलाई चाहिने आवश्यक जानकारी लिएर उनीहरु भएकै ठाउँमा पुग्ने । यस पटकको हाम्रो रोड शो पनि यही विषयमा केन्द्रित छ । 

तपाई आफैं भन्नुस् त, काठमाडौंमा हुने मेलामा भाग लिन मन लाग्यो भने पूर्व झापाको विद्यार्थीलाई आउन कति हैरानी हुन्छ ? कति खर्च हुन्छ ? हामीले त्यहाँका विद्यार्थीलाई लक्षित गर्दै कार्यालय शुरु गरेका छौं भने, विदेशका विभिन्न विश्वविद्यालयका प्रतिनिधिलाई उनीहरुकै अघिल्तिर किन नलैजाने ? उनीहरुबाट विद्यार्थीले आवश्यक जानकारी सिधै पाउँछन् । आफ्नै घर अघिल्तिर एउटै छाता मुनि प्रत्यक्ष रुपमा विश्वविद्यालयका प्रतिनिधिसँग भेट्न पाउने कुराको महत्व धेरै छ । 

- यो मेलामा आए पछि विद्यार्थीलाई हुने फाईदा के हो ?  

सबै पेशामा सही र खराब हुन्छन् नै । शैक्षिक परामर्शको क्षेत्रमा पनि त्यस्ता गलत प्रवृत्ति नभएको हैन । कतिपय केसमा त प्रहरीले मुद्धा नै चलाएको खबर त तपाईहरु नै सार्वजनिक गर्नु हुन्छ । यो सबै विद्यार्थी र अभिभावकले सही जानकारी नपाएर नै भएको हो । विदेश जाने भने पछि आँखा चिम्लिएर अघि बढ्ने चलन छ । त्यो भन्दा पहिला कुरा बुझ्नु पर्छ । कुरा बुझ्दा सही र सम्बन्धित ब्यक्ति वा संस्थासँग नै बुझ्नु पर्छ । यसका लागि हामीले विद्यार्थी र अभिभावकलाई उनीहरुकै अघिल्तिर यो सेवा लिएर आएका छौं । 

आफू जान चाहेका देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, उता पुगेपछि हुने पढाई, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी आदी जस्ता चासोका कुरा सम्बन्धित देशका कलेज प्रतिनिधिहरुबाटै सिधै जान्न सक्छन् ।  विद्यार्थी अभिभावकले एउटै छाना मुनि धेरै सेवा पाउनु हुने छ ।  

अर्को कुरा यो मेलामा आउनेहरुलाई हात खाली नजाने पुरस्कार र पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको ब्यवस्था पनि समेटेका छौं । 

- मेलाबाट तपाईहरुले अपेक्षा चाँही के गर्नु भएको छ ? 

शैक्षिक मेला भने पछि कमाई धमाईकै कुरा बुझ्नु भयो होला । त्यो मात्रै हैन । यदी विदेश नै जान चाहने हो भने सही सूचना र जानकारी नपाएर कुनै एक जना नेपाली विद्यार्थी पनि ठगिन नपरोस् भन्ने नै हाम्रो मुख्य अपेक्षा हो । त्यसका लागि सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरु सहित हामी अघि भने जस्तै खोला नै लिएर तिर्खाएकाहरु भए ठाउँमा आउँदै छौं । भने पछि विद्यार्थी अभिभावकले प्यास मेटाउनुहोस् भन्ने नै हाम्रो ध्येय हो । 

प्रतिक्रिया