सिनेमामा शिक्षा : विद्यालयको बर्वादीमा शिक्षकको अकर्मण्यता र राजनीतिक हस्तक्षेपको कथा


शिक्षाका विषयमा कमै सिनेमा बन्छन् हलिउडदेखि कलिउड सम्म नै । कुन के कति भन्ने विषयमा सम्भवतः अध्ययन भएको छैन । यस लेखकलाई थाहा भएका थोरै फिल्म पनि विशेषगरी शिक्षाको विषयवस्तुमा केन्द्रित छन् । उदाहरणका रुपमा भन्ने हो भने हलिउडको फिल्म एभलिनले अमेरिकाबाट बेलायत पढ्न आएकी एउटी केटीको विद्यालयका साँस्कृतिक भोगाइका भिन्नता समेटेको थियो । हलिउड बाहिर इरानी निर्देशक माजिद मजिदीको चिल्ड्रेन अफ हेभेनले विपन्न परिवारका दाजु बहिनीको विद्यालय जाने चाह र तिनीहरुको सङ्घर्ष सटीक रुपमा प्रस्तुत गरेको छ । त्यसो त बलिउडमा धेरै प्रेम प्रसङ्गहरु कलेजबाट नै शुरु हुन्छन् । त्यसका वरिपरि त्यहाँ भएका पद्धति र असङ्गतिहरु केही हदसम्म सम्बोधन हुने गर्दछन् । यस्ता थुप्रै सिनेमाहरु छन् ।

शिक्षाको पद्धतिलाई समेटिएको बलिउडको ‘आरक्षण’ को निकै चर्चा भयो । शिक्षण पद्धतिका खराबी र ‘डिस्लेक्सिया’ समस्या अमीर खान निर्मित ‘तारे जमिन पर’ मा र उच्च शिक्षामा भारतीय मध्यमवर्गले भोग्ने मानसिक र आर्थिक तनाव ‘थ्री इडियट्स’ मा प्रस्तुत छ । इरफान खान अभिनित ‘इङ्गलिश मीडियम’ ले निजी र सरकारी विद्यालयहरु प्रति समाजको बुझाइ गम्भीर रुपमा प्रस्तुत गरेको छ । अमिताभ र रानी अभिनीत फिल्म ‘ब्ल्याक’ ले शिक्षकको भूमिका र विद्यार्थीसँग शिक्षकको सम्बन्ध निकै गहिराइमा पु¥याएको थियो मानवीय सम्बन्ध र सम्वेदनशीलताका हिसाबले शायद ‘तारे जमिन पर’ भन्दा पर ।

नेपाली सिनेमाको कुरा गर्दा एक प्राध्यापक र उसको आदर्श जीवनको सङ्घर्षका बारेमा साहित्यकार डा. ध्रुवचन्द्र गौतमको कथा कट्टेल सरको चोटपटक प्रस्थान बिन्दु बनेको छ । गौतमको कथालाई फिल्म निर्देशक नीर शाहले तीसको दशकमा फिल्म वासुदेवका रुपमा उतारेका थिए ।  

बिनोद चौधरीद्धारा प्रस्तुत सोफी उपाध्याय निर्माता रहेको त्यो चलचित्र व्यावसायिक रुपमा सफल भने रहेन नीर शाह र हरिहर शर्मा जस्ता हस्ती अभिनेताका बाबजूद । अध्यापकको भूमिकालाई नै पचासको मध्य तिर आएको फिल्म दक्षिणाले माथि पु¥यायो, आफ्नो व्यावसायिक सफलता सहित तुलसी घिमिरेको निर्देशन र अभिनयले ।

लेखकले भूल गरेको छ्रैन भने त्यस पछि सिनेमा उद्योग शिक्षाको सिनेमा बनाउन लामो ओथारो बसेको अनुभव हुन्छ । सिनेमा विद्यालय तहमा आइपुगेका पनि थिएनन् । प्रजातन्त्र, लोकतन्त्रले निकै ओथारो दिएछन् शिक्षक केन्द्रित शिक्षा पद्धतिका बारेमा छक्का पञ्जाको तेस्रो क्रम कोरलियो छक्का पञ्जा ३ ! शिक्षा वा सिनेमाका विषयमा चाख राख्नेहरुले लेखकको स्मृति भन्दा पर लैजाउलान् यो विश्लेषणलाई ।  

यो फिल्ममा कसरी शिक्षकको अकर्मण्यता र राजनीतिक हस्तक्षेपले विद्यालय बर्वाद हुन्छ र सुधार प्रक्रिया कसरी शुरु गर्ने भन्ने विषयमा नाटकीय प्रस्तुति रहेको छ । दशैंको पहिलो दिन देखि प्रदर्शन शुरु गरिएको यो चलचित्रले राम्रै कमाइ गरेका खबरहरु सुनिएका छन् । हास्य कलालरहरुको प्रधानता रहेको यो चलचित्रमा हास्य र गम्भीरताको प्रचुर मिश्रण छ । लेखकले लामो समय पछि हलमा सिनेमा हेरेकाले पनि हो कि छायाङ्कन निकै स्तरीय लाग्यो । बहु अभिनेता अभिनेतृ रहेको सिनेमा त्यति पात्र विशेषमा केन्द्रित छैन यद्यपि कथाको प्रवाहलाई मुख्य अभिनेतृको भूमिकाले फरक मोड दिन्छ । एउटी किशोरीको पढाइको चाह र उसले भोगेका बाधाहरुले सिनेमालाई उर्जा दिइरहन्छ ।

राजनीतिसँग कसरि निजी स्कूलहरु जोडिन्छन् भन्ने राम्ररी बुझिन्छ र उनीहरुको दाउपेच र दादागिरी पनि राम्ररी अभिव्यक्त भएको छ । दादागिरीको पूर्णचित्र नदेखेका दर्शकलाई अतिरञ्जित लाग्न सक्छ तर उनीहरुको शक्ति र शक्ति केन्द्रसँगको उठबसले पारेको प्रभाव कम छैन नै । सामुदायिक भनिने सरकारी विद्यालयका शिक्षकको निजी विद्यालयमा संलग्नता देखाउन चाहिँ सिनेमाले भुलेको छ । त्यस अर्थमा शिक्षकको अकर्मण्यताका पाटाहरु शिक्षकको अबोध पक्ष बढि जाहेर गर्छन् । शिक्षकले गर्ने शिक्षकीय राजनीति भन्दा बृहत राजनीतिको दुष्प्रभाव नै विद्यालय ध्वंश गर्ने मूल कारण देखाइएको छ यद्यपि कसरी शिक्षक आफ्नो स्वार्थका लागि एक हुन्छन् भन्ने कुरा कम छर्लङ्ग छैन ।

प्रधान अध्यापकको भूमिकामा पनि समय खर्चेको देख्दा निर्माता ÷निर्देशक÷ अभिनेताहरुले विद्यालय शिक्षाको शासकीय व्यवस्थाको निकै अन्तरकुन्तर चहार्न सकेको देखिन्छ । शिक्षकहरु स्थायी अस्थायी आदि वर्गको कुरा नगरेकाले यो सिनेमा शिक्षा विज्ञ या शिक्षकका सँघ वा सङ्गठनका प्रतिनिधिहरु बीच छलफल नगरीकनै आफ्नै बुझाईमा मात्रै निर्माण भएको शंका उब्जाउँछ । जसले गर्दा कथाको मर्म नपक्डेका अनावश्यक पटकथा समेटिएका छन् ।

यति हुँदा हुँदै पनि नेपाली समाजको पछिल्लो शैक्षिक अस्तव्यस्तताको बारेमा मूलधारका सिनेमाकर्मीहरुले नै बनाएको अनुभूति दिनसक्नु यो सिनेमाको बलियो पक्ष हो । साह्रै नकारात्मक रुपमा नभए पनि शिक्षकका सकारात्मक पक्ष भने देखाइएको छैन । प्रधानाध्यापक नै छोरीको प्रभावले अलि केहि गरौँ भन्ने देखिन्छन् तर उनले आफ्नी छोरी नै निजी स्कूलमा पढाएका हुन्छन् । नायिकाको परिवर्तन गर्ने चाह र त्यसका लागि जुनसुकै मूल्य तिर्ने तत्परताले अझ युवायुवतीलाई पनि प्रेरणा देला ।

सिनेमा जनमानसमा प्रभाव पार्ने महत्वपूर्ण माध्यम हो तर त्यो मनोरञ्जनमा मात्र सीमित रहन सक्छ । शिक्षक र निजी स्कूलवालाहरुलाई यसले सामूहिक रुपमा रुष्ट बनायो होला तर यसले सर्वसाधारणलाई व्यक्तिगत तहमा क्रियाशील हुन पर्याप्त प्रेरित गर्छ कि गर्दैन भन्ने ठूलो प्रश्न छ ।

मनोरञ्जनार्थी दर्शक भए सम्म सिनेमा चल्ने त्यस पछि जस्ताको तस्तै हुने हुन सक्छ ! शैक्षिक अव्यवस्थाको जटिलता भित्र नपसेका दर्शकलाई जो बढी युवा देखिन्छन् मात्र मनोरञ्जन हुन सक्छ । भरखरै प्रख्यात बलिउड चरित्र अभिनेता नसरुद्दीन शाहले सिनेमाले मनोरञ्जन दिने बाहेक परिवर्तन शिक्षा कति दिन्छ पक्का नभए पनि त्यो इतिहासको लागि समकालीन समाजको ऐना हुने बताएका थिए ।

अहिलेको विद्यालय शिक्षाको ऐना हो छक्का पञ्जा ३ जसले विद्यालय शिक्षाको दुरवस्था छक्कापञ्जा नगरी प्रस्तुत गरेको छ । निर्माता समूहले छक्का पञ्जा २ मा समाजको ऐना प्रस्तुत गरेर यस पक्षमा आफ्नो पकड दह्रो बनाइ सकेको हो । शिक्षामा न्यायपूर्ण परिवर्तनका लागि लाग्ने धेरैलाई अवस्थाको चित्रण गर्ने ठूलो काव्यात्मक माध्यम हो छक्का पञ्जा ३ । यो फिल्म परिवर्तनका लागि प्रयोग गर्ने काम परिवर्तनकारीको पोल्टामा आएको छ । सबैलाई थाहा छ मात्र एउटा प्रयत्नले जनमानस फेरिइहाल्ने होइन । यसलाई व्यापक बनाउन शिक्षामा परिवर्तन चाहनेले सिनेकर्मीहरुसँग सहकार्य गर्न सक्ने आवश्यकता र अवसर देखिएको छ ।

तेश्रो विश्व भरि कमसेकम दक्षिण एसियाको ठूलो भागको अवस्था सिनेमामा देखाइएको अवस्थासँग मिल्दो जुल्दो छ । यसलाई हिन्दी र अङ्ग्रेजीमा सबटाइटल बनाएमा यसको योगदान अझ बृहत् हुन सक्नेछ । दीपक दीपाले यसबाट आफ्नो छुट्टै परिचय बनाएका छन् । उनीहरुले यो परिचय अङ्गीकार गरेर अघि बढाए भने त्यो समाजका लागि अझ ठूलो योगदान ठहरिएला । विषय वस्तुका हिसाबले पनि शिक्षाका उर्वर क्षेत्र प्रमाणित हुँदैछ जस्तो बलिउडले देखाउँदैछ । नेपाली सिनेकर्मीहरु यो विषयमा नयाँ गहिराईमा पुग्ने अवसर छ । यसले शिक्षा विषयकै गैर व्यावसायिक उत्पादकहरुलाई त नयाँ कोसेढुङ्गा राखिदिएको छ ।

भट्टराई सार्वजनिक शिक्षाका क्षेत्रमा सकृय शिक्षाकर्मी हुन्, उनी गैह्र सरकारी संस्था शिक्षा नीति तथा अभ्यास केन्द्र सँग आवद्ध छन् ।