Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

विद्यालय खुलेको ६ दशक, खर्च जुटाउन देउसीको भर !

आइतबार, २५ कार्तिक २०७५

म्याग्दी - सार्वजनिक शिक्षाको गुणस्तर सुधारका कुरा गरेर राज्य संयन्त्र थाक्दैन !

राजनीतिक दलका घोषणा पत्रमा शिक्षामा लगानी बृद्धिको कुरा जोड तोडले उठाईन्छ ! 

तर आर्थिक श्रोतको अभाव टार्न सामुदायिक विद्यालयहरु अनेक उपाय खोजि गर्न बाध्य छन् । 

मङ्गला गाउँपालिका–१ कुहुमा रहेको ५८ बर्ष अघि स्थापित दीपशिखा माविले यस पटकको तिहारलाई त्यस्तै उपाय खोजिको मौका बनायो र संकलन गर्यो ४ लाख ५३ हजार ७ सय ६५ रुपैंया । तिहारका अवसरमा खेलिएको देउसी-भैलोबाट संकलित उक्त रकम निजी श्रोतबाट राखिएका शिक्षक कर्मचारीलाई तलब खुवाउन र विद्यालयको भवन बनाउन खर्च गरिने प्रधानाध्यापक नन्दबहादुर खत्री बताउँछन् । 

'संस्कृति पनि जोगिने केही श्रोतको जोगाड पनि हुने भनेर हामीले ४ दिन देउसी-भैलो खेल्यौं' उनले भने 'विद्यालयमा भएको सुधार देखेर अभिभावकहरुले हामीलाई राम्रै सहयोग गर्नु भयो ।'

२०१७ सालमा खुलेको उक्त विद्यालयमा शिक्षक कर्मचारी गरेर २१ जना छन् । जस मध्ये ३ जना नीजि श्रोतमा राखिएको छ । १८ जनाका लागि त सरकारले तलब दिन्छ बाँकीका लागि रकमको जोहो कसरी गर्ने ? विद्यालयमा आवश्यक अन्य शैक्षिक सामग्रीका लागि आवश्यक रकम कमसरी जुटाउने ?   

यही प्रश्नको उत्तर बन्यो यस बर्षको देउसी-भैलो । 

शिक्षक विद्यार्थी जुटेर संकलन भएको उक्त रकम मध्ये केही रकम विद्यालयले निर्माण गर्दै गरेको भवनमा खर्च गर्ने र बाँकी रकमले निजी श्रोतका शिक्षक कर्मचारीलाई तलबको ब्यवस्था गर्ने खत्रीको योजना छ । 

त्यसो त विद्यालयको ४ कोठे भवन बनाउन गाउँपालिकाले दुई आर्थिक बर्षमा गरेर ३५ लाख रुपैंया उपलब्ध गराएको थियो । त्यत्तिले मात्रै विद्यालयलाई आवश्यक कोठा नपुग्ने भए पछि विद्यालयले थप दुई कोठा बनाउन लागेको खत्री बताउँछन् । 

विद्यालय सुधारका लागि शिक्षक विद्यार्थी जुट्नु राम्रो काम भएको पालिकाका अध्यक्ष सत प्रसाद रोका बताउँछन् । 

'उहाँहरु विद्यालय सुधार गर्न कस्सिनु भएको छ' उनले भने 'सुधारका लागि हामी पनि सघाउँदै छौं ।' 

प्रारम्भिक बाल कक्षा देखि कक्षा १२ सम्म सञ्चालित विद्यालयमा २ सय ८८ विद्यार्थी रहेको विद्यालयको रेकर्डमा उल्लेख छ ।  यी मध्ये कक्षा ११ मा २० र १२ मा २१ जना पढ्छन् । 

सात वटा मावि तहका गरी पालिका भरीमा ४० वटा सामुदायिक विद्यालय छन् । कक्षा ८ सम्म सञ्चालित ४ वटा र बाँकी कक्षा ५ सम्म सञ्चालित विद्यालय छन् । पालिका भरीमा ३ वटा मात्रै निजी विद्यालय छन् । ती मध्ये एउटामा मात्रै माध्यमिक तह सम्मको पढाई हुन्छ । 

 

प्रतिक्रिया