Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
खबर/फिचर

दिन नतोकि परीक्षाको मिति स्थगित, ग्रेडवृद्धिको मापदण्डमा परिवर्तन

आइतबार, २५ कार्तिक २०७५

भक्तपुर  - कक्षा ११ को नतिजामा लापरवाहीको शंका भएको भन्दै तिव्र विरोध जारी रहेकै बेला राष्ट्रिय परीक्षा बोर्डले पहिले तोकेको ग्रेडवृद्धि परीक्षाको मिति स्थगित गरेर मापदण्डमा परिवर्तन गरेको छ । गएको असोज २० गते परीक्षाफल प्रकाशित गर्दै बोर्डले ग्रेडवृद्धि परीक्षाको मिति मंसिर ८ गतेलाई तोकेको थियो । तर, स्थगित परीक्षा कहिले हुने यकिन नगरिकन आईतबार बोर्डले सूचना सार्वजनिक गर्दै उक्त परीक्षा स्थगित भएको जनाएको छ । परीक्षा पुषमा हुने उल्लेख गरिए पनि दिन तोकिएको छैन । 

बोर्डले तय गरेको नयाँ मापदण्डका अनुसार नतिजामा सी, डी प्लस, डी वा ई ग्रेड प्राप्त गरेका विषयहरु मध्ये विद्यार्थीले आफूले ग्रेडवृद्धि गर्न चाहेका २ विषयमा ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने ब्यवस्था गरिएको छ । 

यस अघि नतिजा सार्वजनिक भएको दिनमा बोर्डले जारी गरेको ३ बुँदे मापदण्डमा भने अन्य सबै विषयमा सी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्र अनुपस्थित वा डी प्लस प्राप्त गरेका परीक्षार्थीहरुले अनुपस्थित वा डी प्लस प्राप्त गरेको विषयमा ग्रेडवृद्धि र पुरक परीक्षामा सहभागी हुन सक्ने ब्यवस्था गरिएको थियो । 

अन्य सबै विषयमा डी प्लस वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्र अनुपस्थित वा डी वा ई ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले डी वा ई ग्रेड प्राप्त गरेको वा अनुपस्थित रहेको कुनै एक विषयमा ग्रेडवृद्धि पुरक परीक्षामा सहभागी हुन सक्ने ब्यवस्था तय गरिएको थियो । 

अन्य सबै विषयमा डी प्लस वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक प्रयोगात्मक विषयमा अनुपस्थित वा डी वा ई ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने बोर्डले जनाएको थियो । 

तर उक्त मापदण्डमा परिवर्तन गर्दै बोर्डले नयाँ ब्यवस्था गरेको हो । 

कतिपय कलेजहरुले विद्यार्थीको ग्रेडको मापदण्डमा परिवर्तन गरेपछि बोर्डले पनि सोही अनुसार परिवर्तन गर्ने निर्णय गरेको अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल बताउँछन् । 

'सी प्लस र सी सम्मका विद्यार्थीलाई पनि ग्रेडवृद्धिको मौकाबाट किन छुटाउने भनेर विद्यार्थीकै हितका लागि यो निर्णय गरेका हौं' पौडेलले भने 'कक्षा ११ को नतिजा ग्रेडिङ्मा निकालेको पहिलो पटक हो यसमा सुधार आवश्यक छ भने विद्यार्थीलाई केन्द्रमा राखेर सुधार गर्नु पर्छ भन्ने बोर्डको मान्यता हो त्यही अनुसार गरिएको हो ।'

मापदण्डमा परिवर्तन गर्दा उक्त समूहका विद्यार्थी कति हुन्छन्, यकिन गर्न केही समय लाग्ने भएकोले तत्काल परीक्षाको मिति भने नतोकिएको उनले बताए ।

'पहिले तोकिएको समयमा परीक्षा नगर्ने भन्ने सूचना विद्यार्थी अभिभावकलाई तत्काल दिन जरुरी थियो त्यो गर्यौं' उनले भने, 'अब सबै डाटा संकलन गरेर यकिन गरेपछि चाँडै नै मिति तोक्छौं ।' 

तर परीक्षाफल प्रकाशन गर्दा लापरवाही भएको भन्दै भएको तिब्र विरोधलाई थामथुम पार्न यो तरिका अपनाईएको बोर्ड श्रोतको तर्क छ । बोर्डका सदस्य युवराज पराजुलीको संयोजकत्वमा कात्तिक ९ गते गठित ५ सदस्यीय समितिलाई दिएको १५ दिने म्याद सकिनु अघि नै बोर्डले नयाँ जुक्ति निकालेको हो । 

उक्त समितिले गरेको प्रारम्भिक अनुसन्धानले परीक्षाफल प्रकाशित गर्दा लापरवाही भएको छनक पाए पछि ग्रेडवृद्धि परीक्षा मार्फत् उक्त त्रुटि सच्याउन सकिने सुझाव दिएको उक्त श्रोतले जनाएको छ । बीचमा तिहार र शनिवारको विदा कटाएर समितिले ११ दिन विताएको छ । कार्य दिनका आधारमा हो भने उक्त समितिको म्याद बिहीबार सकिन्छ । 

नतिजामा लापरवाही भएको भन्दै प्रदर्शननै भए पछि बाध्य भएर बोर्डले छानविन समिति बनाएको थियो, समितिले पनि परीक्षाफल अघि गर्नु पर्ने सम्परीक्षणको काममा ध्यान नदिदाँ त्रुटि भएको फेला पारे पछि ग्रेडवृद्धिको दायरालाई फराकिलो पार्दै बोर्डले विद्यार्थीलाई पुन परीक्षा दिने गरी बाटो खुला गर्ने निर्णय गरेको हो ।

'परीक्षाफलमा चित्त नबुझ्ने विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने गरी पहिलेको ब्यवस्थामा संशोधन गरिएको कुरा सुचना सार्वजनिक भए पछि थाह पायौं' उक्त श्रोतले एडुखबरसँग भन्यो । 

सम्बन्धित खबर पढ्नुहोस् : 

कक्षा ११ को नतिजामा लापरवाहीको शंका, नियन्त्रकको 'रुखो जवाफ' - मलाई हैन अध्यक्षलाई सोध्नुहोस् !

कक्षा ११ नतिजा लापरवाहीको छानविन गर्न समिति, तथ्य आउनेमा शंका 

प्रतिक्रिया