Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

त्रिविमा बेथिति

सोमबार, २६ कार्तिक २०७५

काठमाडौं २६ कात्तिक / त्रिभुवन विश्वविद्यालयमा चरम आर्थिक अनियमितता र बेथिति भएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले त्रिविमा बेथिति भएको खुलासा गरेको हो।

विश्वविविद्यालयका वरिष्ठ शिक्षकहरूले कक्षा कोठामा निकै कम जाने गरेको, समयमा लेखा परीक्षण नभएको, पेश्की रकम फस्र्यौटमा ध्यान नदिएको, सम्पत्ति (जिन्सी) खातालाई व्यवस्थित रुपमा नराखिएको देखिएको छ।

त्रिविका शिक्षकले स्नातक, स्नात्तकोत्तर तहमा सातामा १२ देखि १५ वटा कक्षा लिनुपर्ने व्यवस्था छ । तर कतिपयले सातामा तीन, चार वटा मात्र कक्षा लिने गरेका, अधिकांश शिक्षकले अन्य संस्थामा अध्यापन गर्न अनुमति लिइ विद्यार्थीको पढाईमा वाधा पु-याएको राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको विस्तृत अध्यन प्रतिबेदनमा जनाइएको छ।

विश्वविद्यालयमा कार्यरत सात हजार नौ सय २० शिक्षक मध्ये एक हजार चारसय १० शिक्षकले अन्य निकाय अध्यापन गराउन अनुमति लिएको प्रतिवेदनमा जनाइएको छ। त्रिविका शिक्षकले आफू कार्यरत क्याम्पसको पठनपाठनमा रुचि नदेखाई निजी स्रोतवाट सञ्चालित शैक्षिक कार्यक्रमहरुका अतिरिक्त कक्षामा बढी सहभागी हुने गरेको प्रतिवेदनमा जनाइएको छ।

सतर्कता केन्द्रका कर्मचारीहरुले त्रिवि विज्ञान संकाय केन्द्रीय विभाग, इन्जिनियरिंग अध्ययन संस्थान पुलचोक क्याम्पस, त्रिचन्द्र क्याम्पस र अमृत क्याम्पसमा गई अध्ययन गरेका थिए। अध्ययनपछि तयार प्रतिवेदनमा विश्विद्यालयमा कार्यरत शिक्षकले सातामा स्नातक तहलाई २४ कक्षा र स्नात्तोकत्तर तहलाई २१ कक्षा पढाउनुपर्ने प्रावधानलाई घटाएर १५ र १२ कक्षामा सिमित गरेका थिए। त्यस्तै सेमेस्टर प्रणलीमा १२ र ९ कक्षामा सिमित गरेका थिए । शिक्षकको कार्यभार घटाउँदै जाने र अस्थायी तथा करारमा शिक्षक नियुक्ति गर्दै जाने प्रवृत्ति देखिएकोे प्रतिवेदनमा उल्लेख छ।

क्याम्पसको खर्चमा विद्यार्थीलाई मोबाइल

क्याम्पसले विद्यार्थीलाई विभिन्न कार्यक्रमको बहानामा अनावश्यक रुपमा आर्थिक सहायता दिने गरेको पनि सतर्कता केन्द्रले तयार पारेको प्रतिवेदनमा जनाइएको छ । जसबाट क्याम्पसलाई लाखौंको व्ययभार हुने गरेको जनाइएको छ । २०७४ जेठ १० मा अमृत साइन्स क्याम्पसको छात्रावासमा विद्यार्थीबीच झगडा हुँदा विद्यार्थी वामदेव गौतमको मोवाइल फुट्यो । उनलाई मोबाइलबापतको दश हजार रकम क्याम्पस प्रसाशसनले उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ । क्याम्पसले संघसंगठनलाई पटक–पटक विभिन्न कार्यक्रमका लागि दुई लाख ५८ हजार आर्थिक सहायता गरेको प्रतिवेदनमा जनाइएको छ । यसैगरी खेलकुदका लागि आवश्यक सामग्रीको माग फारम र स्टोर दाखिला समेत नगरी खेलकुद प्रतियोगितामा नाममा ३५ हजार भुक्तानी दिइएको प्रतिवेदनमा जनाइएको छ।

विश्वविद्यालयमा रहेको अनुगमन निर्देशनालयबाट समेत प्रभावकारी रूपमा काम हुन नसकेको प्रतिवेदनमा जनाइएको छ । अधिकांश क्याम्पस भवनको भौतिक अवस्था जीर्ण भएको, ल्याव तथा कक्षा कोठाको अभाव भएको, प्रयोगात्मक, भौतिक सामग्री समयानुकूल नभएको, सरसफाईको अवस्था अत्यन्त कमजोर रहेको प्रतिवेदनमा जनाइएका छ । हरेक वर्ष कम्तीमा एक पटक प्रमुख वा अन्य कर्मचारी वा प्राविधिकद्वारा जिन्सी सामानको निरीक्षण गरी वा गर्न लगाई लिखित प्रतिवेदन राख्नु पर्ने व्यवस्थालाई उल्लंघन गरी टेबुल, कुर्सी, सोफा, कम्प्युटर, ल्यपटप, दराज, फोटोकपी मेसिन, शैक्षीक उपकरण, गाडी आदी जस्ता सामानको निरीक्षण नगरिएको पाइएको छ।

२० वर्षदेखिको राजीनामा स्वीकृत भएन

विगत २०/२५ वर्ष अगाडी राजीनामा दिई जागिर छाडिसकेका शिक्षकको राजिनामा स्वीकृत नभएको प्रतिवेदनमा जनाइएको छ । पुलचोक क्याम्पसका विभिन्न पदका ३६ शिक्षकले २०४९ सालमा दिएको राजिनामा हालसम्म स्वीकृत नभएको प्रतिवेदनमा जनाइएको छ।

त्रिविका शिक्षक कर्मचारीले तोकिएको म्यादभित्र पेश्की फस्र्यौट नगरेमा म्याद नाघेको मितिले वार्षिक १२ प्रतिशतका दरले ब्याज तिर्नुपर्ने व्यवस्था भए पनि सो नियम उल्लंघन भएको पाइएको छ । सो अनुसार त्रिविले तीन करोड ९४ लाख ४५ हजार पेश्की फस्र्यौट गर्न बाँकी रहेको प्रतिवेदनमा जनाइएको छ । व्यक्तिगत पेश्की विवरणमा पेश्की लिएको मिति, पेश्की फस्र्यौट गर्नुपर्ने मिति तथा फस्र्यौट हुन नसकेको कारण स्पष्ट खुलाउनु पर्नेमा सो नखुलाइएको पाइएको प्रतिवेदनमा जनाइएको छ।

साथै, त्रिविलाई कर्मचारी भर्ती केन्द्रका रुपमा लिइएको प्रतिवेदनले औंल्याएको छ । त्रिविमा लामो समयदेखि राजीनामा दिएका शिक्षकहरुको राजीनामा स्वीकृत नगरी दरबन्दी रोकिराखिएको, विश्वविद्यालय सेवा आयोगले रिक्त दरबन्दीमा समयमै पदपूर्ति नगरी राजनितिक दवाव तथा विश्वविद्यालयका पदाधिकारीहरुले आफू निकटका मान्छेलाई करार तथा आंशिक शिक्षकमा नियुक्ती गरिँदा विश्वविद्यालयलाई अनावश्यक आर्थिक भार थपिएको प्रतिवेदनमा जनाइएको छ।

अस्थायी वा करारमा नियुक्त भएको शिक्षक, कर्मचारीले नियुक्ति पाएलगतै हुने सेवा आयोगको परीक्षामा सफल नभएमा म्याद थप गर्न नसकिने कानुनी प्रावधान विपरीतका त्यस्ता शिक्षक कर्मचारीलाई निरन्तरता दिइएको प्रतिवेदनमा जनाइएको छ । दरबन्दी रिक्त भएमा पदपूर्तिका लागि बढीमा एक महिनाभित्र सेवा आयोगलाई सूचना दिनुपर्नेमा त्यस्तो सूचना नदिई त्रिचन्द्र क्याम्पसमा शिक्षण सहायक एक सय ३९ जना र ११ जना लामो समयदेखि करारमा कार्यरत रहेको जनाइएको छ।

सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले कन्द्रले गरेको विस्तृत अध्यनमा त्रिभुवन विश्वविद्यालयमा चरम आर्थिक अनियमितता र बेथिति देखिएको बताए । उनले भने, ‘कारबाहीका लागि हामीले अख्यिार र प्रधानमन्त्री कार्यालयलाई प्रतिवेदन बुझाएका छौं।’

नागरिकमा भुवन शर्माले लेखेका छन् ।  

प्रतिक्रिया