Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

आन्दोलनमा उत्रिए मेडिकल विद्यार्थी

सोमबार, २६ कार्तिक २०७५

काठमाडौं २६ कात्तिक / धरानकी मुस्कान श्रेष्ठले यसपालि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट एमबीबीएसको परीक्षा दिइन् । एक सय पूर्णाङ्कमा ७३ अंक ल्याएपछि रोजेको मेडिकल कलेजमा भर्ना पाइनेमा उनी ढुक्क थिइन् ।

आईओएमले गत कात्तिक ८ गते गरेको परामर्शमार्फत उनले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान रोजिन् । कलेजमा भर्ना सिट खाली नभएपछि उनले दोस्रो परामर्शमा सहभागी भएर अर्को कलेज रोज्ने निर्णय गरिन् । अहिले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा ४ सिट खाली छ । तर उनले भर्ना पाएकी छैनन् । उनी भन्छिन्, ‘मैलेभन्दा धेरै कम अंक ल्याएको विद्यार्थीले त्यही कलेजमा भर्ना पाइसकेको छ, मैले किन नपाउने ?’

आईओएमबाटै एमबीबीएस परीक्षा दिएका अविनाशकुमार महतोको पनि उस्तै पीडा छ । एक सय पूर्णाङ्कमा ७७ अंक प्राप्त गरेका उनले पनि एमबीबीएस अध्ययन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान नै रोजेका थिए । उनी पहिलो चरणको परामर्शमा सहभागी हुँदा रोजेको कलेजमा सिट पूरा भइसकेको थियो । दोस्रो चरणको परामर्शमा आफूभन्दा कम अंक ल्याएको विद्यार्थीले भर्ना पाएपछि उनी निराश छन् । उनी भन्छन्, ‘मिहिनेतलाई प्राथमिकतामा नराखी जसलाई मन लाग्यो उसलाई भर्ना लिने भए परीक्षा किन लिएको, हाम्रो मिहिनेत र पैसा मात्रै बर्बाद भयो, अन्याय पनि भयो ।’

आईओएमले एमबीबीएस भर्नामा विभेद र अन्याय गरेको विद्यार्थीको आरोप छ । आईओएमले त्रुटिपूर्ण भर्ना प्रक्रियाको विरोध गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । आइतबार बिहानैदेखि विद्यार्थी समूहले महाराजगन्ज चिकित्सा क्याम्पस परिसरमा आन्दोलन गरे । क्याम्पस गेटमा ताला लगाए । सुरक्षाकर्मी र विद्यार्थीबीच केहीबेर भनाभन भयो । बिहानभरि क्याम्पस परिसर तनावमय भएको थियो ।

यसबारे बिहानै विद्यार्थी र आईओएम प्रशासनबीच भएको वार्ता पनि निष्कर्षविहीन भएको छ । भर्ना प्रक्रिया न्यायपूर्ण हुनुपर्ने विद्यार्थी समूहको माग छ । माग पूरा नभएसम्म आन्दोलनमा बस्ने उनीहरूको अडान छ । वार्तामा पनि प्रशासनले विद्यार्थीको कुरा सुन्न अस्वीकार गरेको उनीहरूको भनाइ छ । क्याम्पस परिसरमा नाराजुलुस गरे बाँकी भएको सिट पनि विदेशी विद्यार्थीलाई दिने धम्की दिएको उनीहरूले बताए ।

पहिलो चरणको परामर्शबाट कलेज छनोट गरेका केही परीक्षार्थीले भर्ना नगरेपछि अहिले त्रिविअन्तर्गतबाट देशभर ८ मेडिकल कलेजमा ४७ सिट रिक्त छन् । नियमअनुसार बढी अंक ल्याउनेलाई दोस्रो चरणको परामर्शबाट रिक्त सिटमा भर्ना गर्नुपर्छ । अधिकांश विद्यार्थीको काठमाडौं उपत्यकाका मेडिकल कलेजमा पढ्ने रहर छ । यहाँका कलेजमा नियमित पढाइ हुने र अभ्यास गर्ने अस्पतालमा बिरामीको चाप बढी हुने हुँदा यहाँका कलेजमा विद्यार्थीको बढी मोह हुने गरेको छ ।

विद्यार्थी भर्ना प्रक्रियामा त्रुटि भएको आईओएमले स्विकारेको छ । आईओएमका डिन डा. जगदीश अग्रवाल भन्छन्, ‘केही त्रुटि भएको हो, तर विद्यार्थी भर्ना फिर्ता हुन सक्दैन, अर्को वर्ष सुधार गरौंला ।’
नियमअनुसार बढी अंक ल्याउनेले रोजेको मेडिकल कलेजमा भर्ना नपाएको उनीहरूको आरोप छ । अन्यायपूर्ण भएको विद्यार्थी भर्ना फिर्ता नलिए आफूहरू अदालती प्रक्रियामा जाने विद्यार्थी समूहले बताएका छन् ।

कान्तिपुरमा फातिमा बानुले लेखेको खबर । 

प्रतिक्रिया