लोकसेवा पास गरेर जागिर खाए जस्तो मात्र हैन स्रोत व्यक्तिको जिम्मेवारी


नेपालमा स्रोत केन्द्र र स्रोत व्यक्तिको अवधारणा वि.सं. २०३८ को ग्रामीण विकासका निम्ति शिक्षा (सेती परियोजना) कार्यक्रमबाट शुरुवात भएको हो । प्राथमिक शिक्षा विकास परियोजना, आधारभूत तथा प्राथमिक शिक्षा परीयोजना प्रथम हुदै दोस्रोसम्म आई पुग्दा देशका तात्कालिन ७५ ओटै जिल्लामा स्रोतकेन्द्रको स्थापना भएको थियो ।
 
स्रोत व्यक्ति नियुक्तिका फरक फरक मोडालिटीहरु प्रयोगमा आएको देखिन्छ । स्रोत व्यक्तिको रुपमा काम गर्न कहिले खुल्ला अर्थात नयाँ मान्छेहरु भर्ना गरे, कतै स्रोत व्यक्तिको रूपमा शिक्षा सेवाका अधिकृतहरुलाई नै काम गराए भने कतै स्रोत व्यक्तिको रुपमा काम गर्न शिक्षकहरूलाई काजमा ल्याएर विद्यालयमा सट्टा शिक्षकलाई खटाइयो । वि.सं. २०६३ माघमा तत्कालिन राजाको अध्यक्षतामा गठन भएको शाही सरकारले स्रोत व्यक्तिको व्यवस्था नै हटाउने काम पनि भयो । तर, स्रोत व्यक्तिहरूको प्रभावकारी भूमिकाको अभावमा विद्यालय शिक्षाको विकासमा पर्न सक्ने असर देखेर स्रोत व्यक्तिहरूलाई पुनरबहाली गर्न सरकार बाध्य भयो ।  
 
विद्यालय शिक्षाको विकासमा स्रोत व्यक्तिको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक भएकै कारण शैक्षणिक सुपेरिवेक्षणका लागि शिक्षण पेशामा अनुभवी शिक्षकहरूबाट नै सक्षम स्रोत व्यक्ति छनौट गर्ने गरी बि.सं.२०६८ सालमा स्रोत व्यक्ति छनौट निर्दशिका र पाठ्यक्रम नै निर्माण गरी माध्यमिक तहका शिक्षकहरू बिच प्रतिष्पर्धा गराइ (लिखित परीक्षा, अन्तर्वार्ता र प्रस्तावना समेतको मूल्याङ्कन गरी) उत्कृष्ट शिक्षकलाई मात्र स्रोत व्यक्तिको रूपमा काजमा करार नियुक्ति दिईयो । श्रोतब्यक्ति हुनु अघि कार्यरत विद्यालयमा माध्यमिक तहको तृतीय श्रेणीको सेवा सुविधा दिने सर्त सहित खुल्ला प्रतिष्पर्धाबाट करारमा सट्टा शिक्षक नियुक्ति गरियो । अबका स्रोत व्यक्ति भनेका मात्र स्नातक गरेका होइनन् , स्नातक पश्चात एक वर्षे वि.एड. र अध्यापन अनुमति प्रमाणपत्र प्राप्त गरी शिक्षक सेवा आयोगको परीक्षा पास गरी शिक्षण अनुभव प्राप्त गरी स्रोतव्यक्ति छनौट परीक्षा समितिको परीक्षामा उत्कृष्ट बनेर नियुक्ति पाएका हुन् । 
 
शिक्षाको विकासमा एक सक्षम र योग्य स्रोत व्यक्तिको अनिवार्यतालाई आत्मसाथ गर्दै राज्यले स्रोत व्यक्तिको आवश्यक दक्षता वृद्धिका लागि साढे तीन दशक लगानी गरेको मात्र छैन ३६० डिग्रीको अध्ययन र अनुसन्धानबाट राज्यले स्रोत व्यक्ति छनौटका लागि वैज्ञानिक पद्धतिको विकास समेत गरेको हो । स्नातक उत्तीर्ण गरी लोकसेवा आयोग पास गरे मात्र पनि पुग्ने अन्य सेवाको जागिर जस्तो मात्र स्रोत व्यक्तिको जिम्मेवारी होइन भन्ने कुरा राज्यले नबुझेकै हो भने स्रोत व्यक्ति नियुक्ति व्यवस्था सम्बन्धमा एकचोटी राम्रोसँग अध्ययन गर्न सबैमा हार्दिक अनुरोध छ ।
 
स्रोत केन्द्रको अवधारणा नेपालमा मात्र पक्कै होइन, नेपालमा स्रोत केन्द्रले गर्ने काम गर्ने गरी शैक्षिक व्यवस्थापनमा सुपेरिवेक्षण र शिक्षण सिकाइका क्रममा आउने समस्या समाधानका लागि विद्यालयको सबैभन्दा नजिकको इकाईका रूपमा अन्य देशमा पनि फरक फरक नाममा यसको अस्तित्वमा रहेको पाइन्छ । जस्तै : Clusters, zones, networks ,redesescolares (Venezuela, Peru), or Nucleo (Bolivia) आदि । 
 
स्रोत व्यक्तिको मुख्य काम शिक्षकलाई पेडागोजिकल (शैक्षणिक क्रियाकलापमा) सहयोग प्रदान गर्नु हो । तर नेपालमा शिक्षा नीतिले स्रोत व्यक्तिलाई शिक्षाका कर्मचारीको मातहत बस्न बाध्य (स्रोत व्यक्तिको कार्य सम्पादन मूल्याङ्कन समान वा उ भन्दा तल्लो तहको विद्यालय निरिक्षकले गर्ने) बनाउनाले विद्यालय निरिक्षकको काममा सघाउनै पर्ने र विद्यालय निरिक्षकले लाए अह्राएको काम गर्नै पर्ने हुँदा र माथिल्ला निकायको आदेश तथा निर्देशनमा स्रोत व्यक्तिले पेडागोजिकल सहयोग गर्ने भन्दा पनि बढि परिमाणमा विभिन्न तालिम सञ्चालनका लागि शिक्षक तथा विद्यालयलाई खबर गर्ने, तालिम तथा कार्यक्रम हल र कार्यक्रमको सम्पूर्ण व्यवस्था मिलाइदिनु पर्ने, पटक पटक विद्यालयका तथ्याङ्क सङ्कलन गरि दिनुपर्ने, प्रधानाध्यापकहरूको बैठक सञ्चालन गर्नु पर्ने, स्रोत केन्द्र तथा जिल्ला स्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नु पर्ने, रिक्त दरबन्दीमा अस्थायी तथा करार शिक्षक नियुक्तिका काममा सघाउनु पर्ने, विद्यालयको सामाजिक परीक्षणको व्यवस्था मिलाईदिनु पर्ने, विद्यालय व्यवस्थापन समिति गठनका लागि सम्पूर्ण व्यवस्था गरिदिनु पर्ने, विद्यालयमा केहि गड्बड् हुने बितिकै वा उजुरी पर्ने बितिकै स्थलगत निरिक्षण गरी प्रतिवेदन पेश गर्नुपर्ने, शिक्षाका परीयोजनाका विभिन्न क्रियाकलाप (गोष्ठी, सभा, सेमिनार) सञ्चालनका लागि सहभागीहरूलाई खबर गर्ने देखि सम्पूर्ण व्यवस्था मिलाइदिनु पर्ने आदि हलकारा देखि व्यवस्थापकसम्मको प्रशासनिक कार्य तर्फ बढि केन्द्रित रहन बाध्य बनायो । अर्थात तोकिएको भूमिका भन्दा फरक काममा बढि लगाइयो । यसरी फरक भूमिका समेत निर्वाह गर्दा अधिकांश स्रोत व्यक्तिहरु आफ्नो वास्तविक भूमिकाबाट विचलित हुन पुगेको आरोप खेप्न बाध्य भए ।
 
एडु खबरमा २०७४ जेष्ठ १६ गते मंगलबार प्रकाशित “संघियतामा स्रोत व्यक्ति व्यवस्थापन” शीर्षकको लेखको प्रतिक्रिया दिने क्रममा ईन्द्र पाण्डेले लेख्नु भएको विचार यस्तो छ,
 
“उन्नाइसौं शताब्दीमा बुहारीलाई सासुले जसरी सताएका थिए, ठिक त्यसरी नै आजसम्म स्रोतव्यक्तिलाई सताइयो । घरायसी काम पनि गर्नुपर्ने, सासुको गोडा पनी मिच्नुपर्ने, छिमेकीको मेलापातमा गएर ज्याला गरेरै भए पनि सासुको भोक टार्नु पर्ने । पछि रीस उठेका बेलामा छिमेकीकै बात लगाएर घरबाट निकाल्न खोज्ने । अहिले एक्काइसौं शताब्दी हो है ! हामी बुहार्तन सहन सक्छौ तर समय सापेक्ष सासू बन्ने साहस सम्बन्धित निकायले पनि गर्नुपर्ने हुन्छ । स्कुलमा गएर सोधपुछ गरे हुन्छ कसले सहयोग गरेका छन् र कुन कुन पदका व्यक्ति कति पटक आउने र सहयोग गर्ने गर्छन् भनेर । जीवनमा एक पटक सामान्य ज्ञान घोकेर प्रशासन चलाउनेहरुले स्रोत ब्यक्तिले गरिरहेका काम गर्न सक्ने वा नसक्ने भनेर आफै संग नढाटी सोधे हुन्छ ।"
 
“स्रोतव्यक्ति”को काम गराई प्रति स्रोत व्यक्ति बाहेक अरूलाई चित्त नबुझ्नु स्वभाविक हो । किनकि हामी यति मानसिक रोगी बनिसक्यौं कि आफूले गर्नु पर्ने काम एकातिर छाडेर अरूले गरेका कामको कमजोरी खोतल्दै बस्छौं या चर्चा गर्दै हिड्छौं । स्रोत व्यक्तिसँग असन्तुष्ट महानुभावसँग मेरा यति प्रश्नको उत्तर खोज्न आग्रह गर्दछु ।
 
१. देश द्वन्दमा जकडिएको अवस्थामा (१२ वर्ष) जिल्ला शिक्षाका कार्यक्रम विद्यालय सम्म पुर्याउने र कार्यान्वयन गराउने काम कस्ले गर्यो  ? त्यहाँ स्रोत व्यक्ति थिए कि शिक्षाका कर्मचारी ?
 
२. हाल सम्म पनि विद्यालयको तथ्याङ्क व्यवस्थापन IEMIS भर्ने भराउने र शिक्षा विभाग पुर्याउने कार्य कसले गर्दै आइरहेको छ ?
 
३. शिक्षक किताब खाना पठाउने शिक्षकको तलवी भर्पाइ कसले तयार पारिदिन्छ ?
 
४. शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन फाराममा अङ्क मात्र दिन बाँकी रहने गरी सबै रूजु गरेर अभिलेख ठीक पारिदिने काम कसले गर्छ ?
 
५. तात्कालिन शिक्षा विभाग तथा जिल्ला शिक्षा कार्यालयका सूचना तथा निर्देशन विद्यालयसम्म पुर्याउने काम कसले गर्दै आइरहेको छ ?
 
६. तात्कालिन शिक्षा विभाग तथा जिल्ला शिक्षा कार्यालयलाई आवश्यक विद्यालयका विवरण संकलन कसले गर्दै आइरहेको छ ?
 
७. शिक्षकहरूको तालिमका लागि सूचना सम्प्रेषण, तालिम हल देखि सम्पूर्ण व्यवस्थापन गर्ने काम कसले गर्छ ? 
 
८. गैह्र सरकारी संघ संस्था देखि सरकारसम्मका शैक्षिक कार्यक्रमहरू (भेला, बैठक, गोष्ठी आदि) का लागि शिक्षक, अभिभावक, विद्यार्थी सहभागी गराउन सूचना सबैमा पुर्याउने काम कसले गर्दै आइरहेको छ ?
 
९. देशमा संघीयता घोषणा भए पछि स्थानीय पालिकामा शिक्षाका कर्मचारी नगएको अवस्थामा शिक्षकको तलव निकासा देखि विद्यालयका सम्पूर्ण व्यवस्थापन कसले गर्यो ?
 
१०. शिक्षाका कर्मचारी आफूभन्दा जुनियर प्रशासनका कर्मचारीको मातहत काम गर्दिन भनेर १ वर्ष हल्लिएर राज्यको सुविधा हजम पारे । तर स्रोत व्यक्तिहरूले आफू भन्दा जुनियर शिक्षाका कर्मचारी मातहतमा पनि वर्षौ राज्यको सेवा गरे । आज स्रोत व्यक्तिले प्रशासनिक काम गर्यो भन्ने अवस्था कसरी आयो ?
 
११. आज सम्म विद्यालयमा कक्षा अवलोकन, नमुना कक्षा शिक्षण र शिक्षक सहयोगी कार्यक्रमका साथै विद्यालय प्रशासन, अभिभावक र स्थानीय समाजसेवी तथा सरोकारवालाहरूसँग समन्वय गर्ने कार्य कसले गरेको छ ? 
 
सायद स्रोत व्यक्तिको उपस्थिति निम्न क्षेत्रमा कम भएको हुन सक्छ, जस्तै : 
 
१. शैक्षिक विकासका नाममा दातृ राष्ट्रहरूको निमन्त्रणाका नाममा होस् या राष्ट्रका बालबालिकाको शिक्षाको बजेटबाट हरेक वर्ष विदेश भ्रमण गर्ने नेपालको शिक्षाको गुणस्तर उकासी रहेका व्यक्तिको सूचीमा स्रोत व्यक्तिको नाम नभेटिन सक्छ ।
 
२. संस्थागत विद्यालयका निर्णय पुस्तकमा छात्रवृत्ति, शुल्क प्रस्ताव, कक्षा थपका लागि प्रस्ताव, स्थानान्तरणका लागि प्रस्ताव, नाम परिवर्तनका लागि प्रस्ताव आदि सम्बन्धमा हुने बैठकहरूको निर्णयमा स्रोत व्यक्तिको हस्ताक्षर नहुन सक्छ । 
 
३. तत्कालिन नेपाल सरकार शिक्षा विभागका विशेष अनुगमन, शसर्त अनुदानका कार्यक्रम अनुगमन, शिक्षक सेवा आयोगका परीक्षा, एसइइ लगायत अन्य परीक्षा अनुगमन आदि कार्यमा स्रोत व्यक्तिको नाम नहुन सक्छ । 
 
४. गैह्र सरकारी संस्थाका विभिन्न तारे होटलमा हुने कार्यक्रम आदिका अभिलेखमा स्रोत व्यक्तिको उपस्थिति सायद नहुन सक्छ । 
 
५. ठूलठूला भनिने शिक्षण संस्थाहरूले गर्ने कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि वा अतिथिको रूपमा सहभागिता हुनेको सूचीमा स्रोत व्यक्ति नहुन सक्छ ।
 
त्यसैले यी स्रोतव्यक्ति नभए पनि वर्तमान शिक्षाको व्यवस्थापनमा कुनै असर पर्दैन र जसरी पनि चल्छ भन्ने संघिय सरकारको सोच हो भने मेरो भन्नु केही छैन । यदि त्यसो होइन भने अब बन्ने संघीय, प्रदेश र स्थानीय शिक्षा नियमावलीमा स्रोत व्यक्ति र स्रोतकेन्द्र भन्ने शब्दावलीले स्थान पायो भने नेपालमा संघिय व्यवस्था संस्थागत गर्न शिक्षा क्षेत्रको तर्फबाट टेवा नै मिल्नेछ ।
 
यतिका जिम्मेवारी बहन गर्ने स्रोत व्यक्ति र स्रोत केन्द्रको खारेजीका लागि शिक्षा क्षेत्रकै व्यक्तिहरूबाट किन आवाज उठ्छ त ? यसको कारण पनि खोज्न आवश्यक छ । नेपोलियन बोनापार्टको  “१० जना बोल्ने मानिसले १० हजार जना चुप बस्नेको भन्दा बढि हल्ला गर्छ” भन्ने भनाइ जस्तै हो । यसका फाइदा र बेफाइदा दुवै छन् । सकारात्मक व्यक्ति १० जनाको हल्लाको पछि लाग्दा समाजमा सकारात्मक परिवर्तन आउँछ । तर नकारात्मक व्यक्ति १० जनाको हल्लाको पछाडि समाज दगुर्यो भने समाज दुर्घटनामा पर्छ । स्रोत केन्द्रको खारेजी सम्बन्धमा पनि ती १० जना नकारात्मक हल्लाबाजहरू चिन्न सकिएन भने शिक्षा व्यवस्थापनमा दुर्घटना निम्तिन सक्छ ।  ती १० जना नकारात्मक हल्लाबाजहरू को को होलान् त ? भन्ने सन्दर्भमा सामाजिक सञ्जालको प्रोफाइल अध्ययन गर्दा यस्तो फेला पर्यो :
 
१. स्रोत व्यक्तिको नियमित सुपेरिवेक्षणले विद्यालयमा ठग्न नपाएका शिक्षकहरू
 
२. स्रोतव्यक्तिले नियमित काम गरि दिनाले अनियमितता गर्न नपाएका तथा जिल्लाबाटै विस्थापित भएका पूर्व जिल्ला शिक्षा अधिकारीहरू जो हाल मन्त्रालयका विभिन्न जिम्मेवार पद सम्हालेर बस्नु भएको छ । 
 
३. शिक्षण सिकाइ तथा विद्यालयका शैक्षणिक समस्या समाधानका लागि कार्यालयमा स्रोत व्यक्तिको खोजी हुँदा हामीलाई वास्ता नगर्नुको कारण त स्रोत व्यक्ति पो रहेछ भनि ठान्ने शिक्षाका कर्मचारी तथा विद्यालय निरिक्षकहरू
 
४. स्थानीय निकायमा हाजिर हुने क्रममा स्थानीय निकायका कर्मचारीले हाजिर गर्न नदिंदा वा फर्काइ दिंदा यहि स्रोत व्यक्तिले स्थानीय निकायको शैक्षिक व्यवस्थापनका सम्पूर्ण काम गरिदिनाले हाम्रो आवश्यकता ठानेन र हाजिर गर्न दिएन त्यसैले फर्काएका हुन भनि ठान्ने शिक्षाका कर्मचारीहरू 
 
५. स्रोत व्यक्ति पदका लागि पटक पटक परीक्षा दिंदा पनि नाम निकाल्न नसकेर विद्यालयमै बस्न वाध्य शिक्षकहरू, शिक्षाका पेशागत संघ संगठनका नेताहरू, प्रधानाध्यापकहरू
 
६. नियमित कार्यालयमा पनि नबस्ने, नियमित विद्यालयमा पनि नपढाउने स्रोत व्यक्ति भनेका त हल्लिएर जागिर खाने जात रहेछ भनि ठान्ने समुदायका अगुवा तथा नेताहरु
 
७. शिक्षकको सरूवा, बढुवा तथा नियुक्तिमा कुनै अनिवार्य तथा प्रमुख भूमिका हुदैन भनि थाहा नभएका तर स्रोत व्यक्तिको कारण मेरो सरूवा भएन, मेरो बढुवा भएन, पहिलो पटक मेरो नियुक्ति भएन भनि ठान्ने शिक्षकहरू
 
८. नेपाल सरकारका तात्कालिन शिक्षा विभाग तथा जिल्ला शिक्षा कार्यालयका कार्यक्रम कार्यन्वयनका लागि ताकेता गर्ने कार्य गर्दा स्रोत व्यक्तिले हुकुम चलायो भनि ठान्ने प्रधानाध्यापकहरू
 
९. सिकाइ उपलब्धि वृद्धिका लागि शिक्षक सुधार योजना निर्माण, पाठ्यक्रममा आधारित शैक्षणिक सामाग्रीको निर्माण तथा निरन्तर मूल्याङ्कन अभिलेखका लागि घचघच्याउँदा शान्तिसँग जागिर खान दिएन भनि ठान्ने शिक्षकहरू
 
१०. सुपेरिवेक्षण र निरिक्षण गर्न विद्यालय आइरहने, यसो गर उसो गर भन्ने तर त्यहि स्रोत व्यक्ति सामु आफ्नो स्थायीत्व र न्यून पारिश्रमिकका सम्बन्धमा पटक पटक गुनासो राख्दा पनि कहिल्यै सुनुवाइ नहुनाले हाम्रो मागको वास्ता नगर्ने यहि स्रोत व्यक्ति पो रहेछ भनि ठान्ने विद्यालयका कर्मचारीहरू र बालविकास केन्द्रका सहजकर्ताहरू
 
वास्तवमै यी १० जनाको आवाज आज स्रोतव्यक्ति मेरा सहयोगी हुन् र स्रोतव्यक्तिले मेरा काममा सघाएछन् भनि ठान्ने स्रोतकेन्द्र र स्रोतव्यक्ति प्रति सकारात्मक १० हजार भित्र पर्ने शिक्षा क्षेत्र बुझेका नेताहरू, सचिव, जनप्रतिनिधिहरू, सहसचिवहरू, उपसचिवहरू, शिक्षक संघ संगठनका नेताहरू, विद्यालय निरिक्षकहरू, प्रधानाध्यापकहरू, शिक्षकहरू, विद्यालयका कर्नचारीहरू, बालविकास केन्द्रका सहजकर्ताहरू तथा शिक्षाका सरोकारवाला संघ संस्थाहरूको आवाज भन्दा पनि बुलन्द सुनिएको अवस्था हो । 
 
तसर्थ स्रोत केन्द्र र स्रोत व्यक्तिको बारेमा निर्णयमा पुग्न अगाडि अबको शिक्षा ऐन र नियम बनाउने विद्वत शिक्षाविद्हरूले स्रोत केन्द्र र स्रोत व्यक्तिको आवश्यकतालाई नजिकबाट बुझ्न र आग्रह पुर्वाग्रहमा पुनर्विचार गर्न अनुरोध छ ।
 
महर्जन ललितपुरको पाटन अगुवा स्रोत केन्द्रका स्रोत व्यक्ति हुन् ।