विद्यालय तहमा नयाँ पाठ्यक्रमको बहस : ज्ञान अर्थतन्त्रका लागि गणित


माध्यमिक तहको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम चालु शैक्षिक सत्रबाटै लागू गर्ने तयारीमा रहेको सरकार चौतर्फी विरोध र आलोचना भए पछि पछि हट्यो । उक्त आलोचनाको केन्द्रमा भने गणित विषय रह्यो । गणितलाई अनिवार्य नगरी इच्छाधिन गरिएकोमा यसका सरोकारवालाहरुबाट भएको विरोधले सबैको ध्यान तान्यो । 

गणित विद्यालयतहको पाठ्यक्रमको अभिन्न अंग हो । नेपालमा पनि कक्षा १० सम्मको पाठ्यक्रममा यसलाई अनिवार्य विषयकै रुपमा समावेश गरिएको छ । सरकारले कक्षा ११ र १२ लाई पनि विद्यालय तहमा ल्याए पछि भाषा, गणित, विज्ञान प्रविधि जस्ता विद्यालय तहको पाठ्यक्रमका आधारभूत तत्वहरु अनिवार्य नै रहनु पर्दछ भन्ने मान्यताका पछाडी गणितको महत्व, उच्च शिक्षामा यसको आवश्यकता प्रमुख हो । विद्यालय तहको पाठ्यक्रममा पढाई (Reading), लेखाई (Writing)  र गणित (Arithmetic) प्रमुख तत्व मानिन्छ । यसको अलावा अरु विषयहरु समावेश हुँदै जान्छन् । यस अर्थमा विद्यालय तहमा गणित अनिवार्य रुपमा रहने कुरामा कुनै तर्क गरिरहनु पर्दैन । पाठ्यक्रमको यो मान्यता भन्दा माथि उठ्ने हो भने गणित अनिवार्य रहनु पर्ने धेरै कारणहरु छन् ।

प्रसिद्ध दार्शनिक प्लेटोले आफ्नो एकेडेमीको मूख्य प्रवेशद्धारमानै लेखेका थिए “जियोमेष्ट्रिलाई बेवास्ता गर्नेहरुलाई मेरो छाना मुनी प्रवेश निषेध छ” । 

प्राचीन समयमा गणित र जियोमेट्री परिपुरक थिए । गणितलाई प्राचिन समयका विद्वानहरुले कति महत्व दिन्थे भन्ने बुझ्न यो उक्ति नै काफी छ । प्राचीन समयमा मात्र हैन आज विश्वमा भएका वैज्ञानिक अनुसन्धान तथा अन्वेषणहरु गणितको जगमा मात्र सम्भव भएका छन् । आज हाम्रो समाज झन् भन्दा  झन् प्रविधिमा आधारित बन्दै गईरहेको छ । एउट रोचक तथ्याङ्क के छ भने आज संसारका ४ मिलियन मानिसहरु  मोवाईल फोनको प्रयोग गर्छन् भने ३.५ मिलियन मानिसले मात्र टुथव्रसको प्रयोग गर्दछन् । प्रविधिको यो विस्तार संगै आज  STEM (Science, Technology, Engineering and Mathematics) धेरै मानिसको पेशा व्यवसाय (Career)  बन्दैछ । आज यो क्षेत्रको विस्तार संगै STEM  Education को विस्तार पनि तिव्र रुपमा भई रहेको छ । यो तथ्यलाई ध्यान दिदै आज विश्वका विकसित तथा विकासिल मूलुकहरुले STEM  Education  मा जोड दिई रहेका छन् र आफ्ना पाठ्यक्रमहरुलाई सोही अनुरुप परिमार्जन गरिरहेका छन् ।  

तिव्र आर्थिक विकास गरिरहेका मूलुकहरु चीन, जापान, दक्षिण कोरिया, रसिया, स्विडेन, फिनल्याण्ड, सिंगापुर आदि जस्ता मुलुकहरुले आफ्नो पाठ्यक्रममा STEM  Education मा जोड दिएका छन् भने वेलायत, अष्ट्रेलिया जस्ता मुलुकहरुमा अनिवार्य गणितको बहस तिव्र छ । 

आज कुनै पनि देशको विकास, आर्थिक वृद्धि भविष्यमा कस्तो हँुदैछ  भन्ने कुराको एउटा सुचकको रुपमा त्यो देशमा STEM  Education अन्तर्गत भर्ना हुने विद्यार्थीको प्रतिशतलाई लिन थालिएको छ । आज चीनमा ४१% विद्यार्थी उच्च शिक्षामा STEM  Education मा जान्छन, अमेरिकामा यो प्रतिशत ३६ छ भने हाम्रो देशमा २०७४ सालको तथ्याङ्कलाई हेर्ने हो भने यो संख्या १४% को हाराहारीमा मात्र छ । The world Economic Forum का अनुसार सन् २०१६ मा चीनमा ७.७ मिलियन, भारतामा २.६ मिलियन र अमेरिकामा ५६८,००० जना क्त्भ्ः ग्राजुएट्सहरु उत्पादन भएका छन् । यसको रिर्पोटका अनुसार चीन संसारमा सबै भन्दा धेरै STEM ग्राजुएट्सहरु  उत्पादन गर्ने देश हो र त्यस पछि क्रमशः भारत र अमेरिका छन् । 

आज संसारमा STEM  Education को विकास र विस्तार तिब्र वनेको छ । संसारका प्राय सवै देशहरुमा यस अन्र्गतका विषयहरुमा अध्ययन गर्ने विद्यार्थीको संख्याको ग्राफ बढ्दो छ । हाम्रो देशमा पनि यस प्रति आकर्षण बढिरहेकै छ । संसारको यो प्रवाहलाई ध्यान दिने हो भने STEM  Education को आधारशिला गणित पाठ्यक्रमका समावेश गर्नु पर्छ की पर्दैन ? उत्तर आफै आउँछ ।  

सन् १९६९ मा अमेरिकाका  Peter Drucker  को The Age of Discontinuty  नामक पुस्तक प्रकाशित भयो । यस पुस्तकले त्यस बेला खुबै चर्चा पायो । यसको चर्चाको पछाडी यस पुस्तकमा अर्थतन्त्रको नयाँ आयम ज्ञान अर्थतन्त्र (Knowledge Economy)  को बारेमा चर्चा गरिएको थियो । उत्पादन र उपभोग (Production and Consumption) बौद्धिक पुँजी (Intellectual Capital) मा आधारित हुने अर्थतन्त्रलाई नै उनले ज्ञान अर्थतन्त्र (Knowledge Economy) भनेका थिए । सरल भाषामा बुझ्ने हो भने ज्ञान र सुचना र प्रविधिमा आधारित हुने अर्थतन्त्रलाई नै ज्ञान अर्थतन्त्र भनेर बुझ्दा हुन्छ । 

आज हामी विश्व अर्थतन्त्रमा त्यो ठाउँमा छौ जहाँ सुचना तथा संचार प्रविधिहरुमा आधारित ज्ञान र सिकाईहरु अर्थतन्त्र र सामाजिक विकासका सवै प्रक्रियाहरुका इञ्जिन बन्न पुगेका छन् । आधुनिक अर्थतन्त्रको विकास तथा विस्तार, उत्पादन तथा व्यवस्थापनको नयाँ तरिकाहरुसंग सम्बन्धित ज्ञानको विस्तारमा निर्भर भएको छ । कृषि, पर्यटन, उद्योग, व्यपार आदि अर्थतन्त्रको बोलवाला रहेको त्यस समयमा उनले अबको २१ औ शताब्दिको अर्थतन्त्र ज्ञानमा आधारित अर्थतन्त्र (Knowledge Economy) हुने भविष्यवाणी गरेका थिए । यसले धेरैलाई अचम्मित बनायो । तर Peter Drucker को यो भविष्यवाणीको पुष्टि हुन धेरै समय नै लागेन । सन् १९७५ मा विलगेट्स र पाउल एलेनले बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टको स्थापना गरि त्यसको व्यापारको कारण विलगेट्स संसारको धनी व्यक्तिहरुको सूचिमा १९८७ मा नै समावेश हुन पुगे । सन् १९९५ देखि २०१७ सम्म लगातार यो सूचिको शिर्ष स्थानमा रहे । सन् २०१७ को डिसेम्बरबाट उनलाई अर्को बहुराष्ट्रिय ई–कर्मस कम्पनी एमेजोनका मालिक जेफ वेजोसले पछि पारे । आज फेसबुक, युटूव जस्ता प्राविधि कम्पनीहरु पनि ज्ञान अर्थतन्त्रकै उपज हुन । आज विश्वका सबै प्रकारका अर्थतन्त्रहरु ज्ञान अर्थतन्त्रमा आधारित बन्दै छन् । कृषि, पर्यटन, श्रम लगायत सबै उद्योगहरुको उत्पादन तथा बजारिकरणमा प्रविधिको प्रयोग प्रचुर मात्रामा हुने गरेको छ । त्यसैले आज ज्ञान अर्थतन्त्र, अन्य सवै अर्थतन्त्रहरुको मियो (Pivot) बन्न पुगेको छ । 

गणित विज्ञानको भाषा हो । गणित बिना विज्ञानले आफ्नो कुरा बोल्न सक्दैन । जहाँ विज्ञान बोल्दैन त्यहाँ प्रविधिको विकास र यसको परिणाममुखी प्रयोग असम्भव छ । जहाँ प्रविधिको विकास र प्रयोग हुन्न त्यहाँ ज्ञान अर्थतन्त्र हुन्न । आजको युगमा ज्ञान अर्थतन्त्रको विकास बिना अन्य अर्थतन्त्रहरु कामयावी बन्न सक्दैन । ज्ञान अर्थतन्त्रको प्रमुख आधारशिला विज्ञान र प्रविधि हो र त्यसको जग गणित हो । आज संसारका तिव्र विकास गरिरहेका र गर्न लागेका देशहरुले STEM Education लाई प्राथमिकता दिने कारण पनि यही हो । 

विश्व परिवेशको यो काल खण्डमा उभिएका हामी, हाम्रो पाठ्यक्रमलाई कस्तो बनाउँदैछौ र कस्ता जनशक्तिहरु उत्पादन गर्दै छौ ? पर्याप्त बहसको खाँचो छ । २१ औं शताब्दिलाई विज्ञान र प्रविधिको युग भन्दै गर्दा सोही अनुरुप अनुकुलन (Adaptation) हुन सक्ने जनशक्ति उत्पादन गर्नु र सोही अनुसारको विषय वस्तुहरु पाठ्यक्रममा समेट्नुको साटो हटाउँदै जाने हो भने हामिले जोन एडम्स ले भनेझै “मैले युद्ध र राजनीति पढ्नै पर्छ जसले गर्दा मेरो छोराले भोली गणित र दर्शन पढ्न पाउँछ” लाई चरिर्थात गरिरहेका छौ । 

अधिकारी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् ।