Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

सामुदायिक विद्यालयलाई 'माईक्रो बस', कमाई रकम शिक्षक तलबलाई

विहीबार, २९ कार्तिक २०७५

डोटी - पुर्वीचौकी गाउँपालिका–४ सानागाउँ स्थित सरस्वती माध्यामिक विद्यालयलाई सोही पालिकाको जोशीगाउँ स्थायी घर भएका भक्तराज जोशीले माईक्रो बस प्रदान गरेका छन् । आफ्नो जन्म ठाउँमा रहेको विद्यालयलाई राम्रो बनाउन सहयोग स्वरुप उक्त बस हस्तान्तरण गरेको जोशीले बताए । 

बुधबार आयोजित एक कार्यक्रममा उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललिजंग कुँवरलाई टाटा कम्पनीको ‘विङ्गर एसी’ बसको साँचो र कागजात हस्तान्तरण गरेका हुन् । ४ बर्ष अघि ३१ लाख रुपैंयामा जोशीले किनेको उक्त बस सुदुरपश्चिम यातायातमा दर्ता गरेर धनगढी नेपालगञ्ज रुटमा चल्दै आएको थियो । 

सहयोग स्वरुप प्राप्त बस कसरी सञ्चालन गर्ने भन्ने बारेमा निर्णय भईनसके पनि कुनै ब्यक्तिलाई भाडामा दिएर विद्यालयको श्रोत बलियो बनाउने बारेमा योजना निर्माण गरेको प्रधानाध्यापक भुवनसिंह कुँवरले बताए । 

'विद्यालय वरीपरी बाटो राम्रो भए पनि हाम्रो क्षेत्रमा अधिकाँश कच्चि सडक भएकाले विद्यार्थी ओसार पसारमा प्रयोग गर्न सक्ने अवस्था छैन, बरु त्यसलाई भाडामा लगाउने की भन्ने योजना बनाएका छौं' उनले भने, 'निजी श्रोतमा रहेका शिक्षकलाई आवश्यक तलब खुवाउन र विद्यालयको अतिरिक्त कृयाकलापमा सहयोग पुर्याउने गरी उक्त बसको कमाई खर्च गर्ने बारेमा आन्तरिक सर सल्लाह भईरहेको छ ।' 

२०३९ सालमा स्थापना भएको उक्त विद्यालयमा यही शैक्षिक सत्रबाट सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अन्र्तगत सिटिईभिटिको सम्बन्धनमा सिभिल ओभरसीयरको डिप्लोमा कक्षा पनि शुरु भएको छ । 

साढे ४ सय विद्यार्थी रहेको उक्त विद्यालयमा रहेका १९ जना शिक्षक मध्ये प्राविधिक तर्फका ४ जना निजी श्रोतमा, मावि  तहमा ५ जना स्थायी दरबन्दीमा र १ राहत, निमाविमा २ जना स्थायी दरबन्दी र १ राहत, प्राविमा ३ राहत र १ निजी श्रोत तथा कक्षा ११–१२ का लागि २ जना शिक्षक अनुदान कोटामा छन् । ती मध्ये निजी श्रोतमा रहेका ५ जना शिक्षकको तलबमा बसको कमाईले सघाउ पुग्ने कुँवरले आशा गरे । 

'सरकारबाट प्राप्त हुने प्रति विद्यार्थी अनुदान, गाउँपालिकाले दिने अनुदान र अन्य सरसहयोगबाटै निजी श्रोतका शिक्षकको तलब ब्यवस्थापन गर्दै आएका छौं' उनले भने 'अब यो बसको कमाई भए पछि विद्यालयको दिगो आम्दानी हुने अपेक्षा गरिएको छ ।'

बस भाडामा दिनका लागि टेण्डर आह्वान गर्ने र प्रशासनमा बुझ्ने कार्य तत्कालै शुरु गर्ने तयारीमा रहेको उनले बताए । 

हाल धनगढीमा बस्दै आएका जोशी मानवीय सेवामा अनेकौं प्रयास नामक गैह्र सरकारी संस्थाका अध्यक्ष हुन् । उक्त संस्थाले सुदुर पश्चिम प्रदेश सहित विभिन्न १२ जिल्लामा राहत, उद्धार तथा आम्दानी बृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

'जिविकोपार्जनका लागि म कम्प्युटर ईन्स्टिच्युट मार्फत् कम्प्युटर कक्षा र नेपालीलाई अँग्रेजी र अँग्रेजीलाई नेपाली भाषामा उल्था गर्ने काम पनि गर्छु' जोशीले भने, 'समाज विकासका लागि सक्दो सहयोग गरौं भन्ने भावनाबाट मैले यो काम गरेको हुँ, विद्यालयलाई सहयोग गर्नु भनेको समाज विकासमा थप टेवा दिनु हो भन्ने मेरो धारणा बन्यो ।'

फोटो : चक्र कुँवर

प्रतिक्रिया