Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
अन्तैवाट

उधारोमा पढाउँछन् शिक्षक

शुक्रबार, ३० कार्तिक २०७५

काठमाडौं ३० कात्तिक / पञ्चभयार माध्यमिक विद्यालय, नलगाड जाजरकोटका शिक्षक इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन् । कहिले तलब पाइने हो भन्ने पनि उनलाई यकिन छैन । विज्ञानका शिक्षक इन्द्र भन्छन्, ‘उधारोमा पढाइरहेका छौँ । तलब पाउने ठेगान छैन ।’

नयाँ पत्रिकाका अनुसार उनीसँगै नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माविका अर्का शिक्षक रवीन्द्र खत्रीले पनि तलब नपाएको एक वर्ष भयो । ‘एक वर्षअघि निजी स्रोतमा राखिएको थियो, अहिलेसम्म तलब पाएको छैन,’ शिक्षक रवीन्द्र भन्छन्, ‘उधारो हो, कहिले तलब आउँछ थाहा छैन, पढाइरहेका छौँ ।’

पञ्चभयारमा पर्याप्त शिक्षक दरबन्दी छैन । सरकारले शिक्षक दरबन्दी नदिएपछि निजी स्रोतबाट शिक्षकहरू राखिएको छ । दुई वर्षदेखि अध्यापन गराइरहेका शिक्षक इन्द्रले भने, ‘कतैबाट पैसा आयो भने पाइन्छ, नत्र केही पाइँदैन ।’

अंग्रेजी विषय पढाउने शिक्षिका मीना बुढा खत्रीले सात महिनादेखि तलब नपाएको बताइन् । तलब नपाएपछि उनले त विद्यालय व्यवस्थापन समितिलाई गुहारेकी थिइन् । तर, विद्यालय व्यवस्थापन समितिको बैठकमै बोलाएर ‘कतैबाट व्यवस्था गरेर तलब दिन्छौँ’ भन्ने जवाफ आएको उनले बताइन् । व्यवस्थापन समितिले पनि ‘उधारोमा पढाउनुस्, तलब पछि मिलिहाल्ला’ भन्ने गरेको छ ।

विद्यालयका प्रधानाध्यापक हुमप्रकाश सिंह आवश्यकताअनुसार शिक्षक दरबन्दी नभएकाले समस्या बताएको बताए । ‘आर्थिक स्रोत पनि छैन, यताउताबाट नआउँदा समस्या हुने गरेको छ,’ प्रधानाध्यापक सिंहले भने, ‘आर्थिक स्रोत जुट्दा तलब खुवाउने गरी पठनपाठन गर्न लगाएका छौँ ।’

जाजरकोटका अधिकांश विद्यालयमा आवश्यकताअनुसार शिक्षक दरबन्दी छैन । ती विद्यालयले निजी स्रोतका शिक्षक राखेका छन् । उनीहरूलाई सामुदायिक वन उपभोक्ता समितिले गर्ने आर्थिक सहयोगबाट तलब खुवाउने गरिएको जनाएको छ । केही विद्यालयले विद्यालय भर्ना शुल्क, चन्दा संकलनबाट पनि शिक्षकलाई तलब खुवाउँदै आएका छन् । त्यस्तै, विद्यालयको भौतिक निर्माणमा जनश्रमदान गरेर शिक्षकको तलबका लागि रकम बचाउने गरेका छन् ।

पञ्चभयार माविसँगै नलगाड नगरपालिकाभित्रका अन्य विद्यालयमा पनि यस्तै समस्यामा छन्, शिक्षक । नलगाडकै सूर्यकिरण प्राविमा पढाइरहेका शिक्षकहरू गोपाल केसी, हिमकुमारी खत्री र लालबहादुर खत्रीले पनि सात महिनादेखि तलब नपाएको बताए । आर्थिक स्रोत जुट्दा तलब पाउने विश्वासमा पढाइरहेको उनीहरूको भनाइ छ ।

त्यस्तै, बारेकोट गाउँपालिकास्थित लेकबेँसी प्रावि, धासाइना प्रावि र सरस्वती प्राविका शिक्षकहरूले पनि उधारोमै अध्यापन गराइरहेको बताए । केहीले डेढ वर्षदेखि तलब नपाएको गुनासो गरेका छन् ।

नलगाड नगरपालिका मेयर टेकबहादुर रावलले आवश्यकताअनुसार दरबन्दी नहुँदा समस्या भएको बताए । नगरपालिकाको आन्तरिक स्रोतले सबै विद्यालयका निजी स्रोतका शिक्षकलाई तलब खुवाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

नयाँ पत्रिकामा हेमन्त केसीले लेखेका छन् । 

प्रतिक्रिया