Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विदेशमा शिक्षा

अल नेपाल रोड शो : तीन हजार धेरै विद्यार्थी, अभिभावक सहभागी

मंगलबार, ०४ मंसिर २०७५

पोखरा - तीन हजार १ सय विद्यार्थी अभिभावकको प्रत्यक्ष सहभागीताका साथ कंगारु एजुकेशन फेयर अल नेपाल रोड शो सम्पन्न भएको छ । विदेश जाने विद्यार्थीलाई आवश्यक परामर्श र जानकारी दिन देशका मुख्य पाँच शहरमा भएको उक्त शैक्षिक मेलाबाट विद्यार्थीले आफू जान चाहेको देशको शैक्षिक प्रणाली, विद्यार्थीले प्राप्त गर्ने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पुर्ण जानकारी प्राप्त गरेका आयोजक संस्था कंगारु एजुकेशन फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताए ।  

'सही सूचना र जानकारीको अभावका कारण नेपाली विद्यार्थीले भोग्नु पर्ने हैरानीको अन्त्य गर्न जहाँ विद्यार्थी त्यहीँ जानकारी लिएर हामीले देशका मुख्य शहर केन्द्रित मेला आयोजना गरेका थियौं' तिमल्सिनाले भने, 'विद्यार्थी तथा अभिभावकको सहभागिता र प्रतिकृयाले हाम्रो उद्धेश्यमा हामी सफल भएका छौं ।'

कात्तिक २९ गते झापाको बिर्तामोडबाट शुरु भएको मेला कात्तिक ३० र मंसिर १ गते कंगारुको केन्द्रीय कार्यालय काठमाडौं, मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते  पोखरा स्थित कंगारुको कार्यालय परिसरमा  भएको थियो । मेलामा सहभागी विद्यार्थीलाई विदेश जाँदा गर्नु पर्ने आवश्यक प्रकृयामा विशेष छुटको ब्यबस्था गरेको कंगारुका निर्देशकसुष्मिता पराजुलीले जानकारी दिईन् ।

मेलामा सहभागी विद्यार्थी र अभिभावकहरुले कलेज छनौट देखि आवश्यक कागजात निर्माण र भर्ना प्रकृया एवं भिजाका सम्बन्धमा पनि जानकारी लिएका छन् । मेलामा आइ.डी.पी तथा नेपाल एस.वी.आई बैंकको पनि सहभागिता रहेकाले विद्यार्थी तथा अभिभावकहरुले अङ्गेजी भाषा परीक्षा आइलटिएस तथा शैक्षिक कर्जा लगायतका बारेमा समेत जानकारी लिएको फाउण्डेशन पोखराका एसोसियट निर्देशक बविता पराजुलीले जानकारी दिईन् ।

उक्त मेलामा सहभागि विद्यार्थी अभिभावकले न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभन्नि २४ कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुबाट परामर्श लिएका छन् ।

प्रतिक्रिया