Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

शिक्षक र शिक्षाका कर्मचारी परेनन् 'इन्ट्याग्रीटी आइडलमा'

मंगलबार, ०४ मंसिर २०७५

काठमाडौं - विगत पाँच बर्ष देखि हुँदै आएको इन्ट्याग्रीटी आइडलको अन्तिम पाँचको सूचीमा यस बर्ष शिक्षक र शिक्षाका कर्मचारी पर्न असफल भएका छन् । सक्षम, ईमान्दार र कर्तव्यनिष्ठ राष्ट्र सेवक कर्मचारीलाई प्रेरणा प्रदान गर्दै सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक बर्ष उक्त उपाधि प्रदान गर्दै आएको छ । तर सबै भन्दा ठूलो संरचना भएको शिक्षा मन्त्रालयका कर्मचारी र झण्डै डेढ लाख हाराहारीमा रहेका शिक्षक उक्त सूचीको अन्तिम पाँचमा पर्न असफल भएका छन् ।

मंगलबार सार्वजनिक अन्तिम पाँचको उक्त सूचीमा तरकारी बाली विकास केन्द्र, खुमलटार, ललितपुरका वरिष्ठ बागबानी विकास अधिकृत अरुण काफ्ले, टीकापुर नगरपालिका कैलालीमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव महेन्द्र प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ्ग र वीरेन्द्रनगर नगरस्वास्थ्य कार्यालय, सुर्खेतका सिनियर अ.न.मी. सिता कुमारी शर्मा परेका छन् ।

आईडलको छनौट गर्न गठित विज्ञ समूहले निर्धारण गरेको मापदण्डका २ सय भन्दा ज्याद सूचकका आधारमा अन्तिम पाँचको नाम सार्वजनिक गरिएको आयोजक संस्थाका प्रमुख नारायण अधिकारीले जानकारी दिए ।

'यस अघि परे पनि यस बर्ष शिक्षक तथा शिक्षाका कर्मचारी अन्तिम पाँचमा परेनन्' अधिकारीले भने, 'आउन त शिक्षक कर्मचारीका आवेदन पनि आएकै थिए तर शिक्षक र शिक्षाका कर्मचारी अन्तिम पाँचमा नपर्नु भन्नुको मतलव विज्ञ समुहले तय गरेका मापदण्डमा उनीहरु नपरेको भन्ने त प्रष्टै भयो ।'

नागरिक प्रति सरकारी कर्मचारीलाई जवाफदेही बनाउने उद्धेश्यले सन् २०१४ देखि हुँदै आएको उक्त कार्यक्रममा यस अघि शिक्षक र शिक्षाका कर्मचारी पनि अन्तिम पाँचमा पर्दै आएका थिए ।

पढ्नुहोस् विगत बर्षका समाचार :

शिक्षकलाई इन्ट्याग्रीटी आइडलको सम्मान

कविताबाट गणित पढाउने शिक्षक उत्कृष्ट पाँचमा

हेडसर भए आइडल

इन्ट्याग्रीटी आइडल नेपाल–२०१५ शिक्षाका दीपक श्रेष्ठलाई

यस वर्ष १ जनवरी २०१८ बाट चार महिनाका लागि मनोनयन खुला गरिएको थियो । जस अन्र्तगत ७२ जिल्लाबाट १ हजार ६२ वटा मनोनयन प्राप्त भएका थिए । अनलाईन, सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यम तथा युवा स्वयं सेवक परिचालन गरेर मनोनयन आव्हान गरिएको संस्थाले जनाएको छ । तय भएका पूर्व निर्धारित मापदण्डलाई आधार बनाएर विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक समितिले उत्कृष्ट पाँचको छनोट गरेका अधिकारीले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भुतपूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजकत्वमा  अधिकार सम्पन्न संघीय प्रशासनिक पुन संरचना सहजिकरण समितिका अध्यक्ष एवं प्रशासनविद् काशि राज दाहाल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र नेपाल सरकारका पूर्र्व सचिव जीवनप्रभा लामा रहेको समितिले मनोनयमा परेका मध्ये उत्कृष्ट पाँच जनाको नाम चयन गरेको हो । अब अन्तिम पाँच मध्ये एसएमएस र वेबसाईटबाट प्राप्त मतका आधारमा इन्टेग्रीटी आइडल २०१८ को छनोट हुने छ । भोटिङका पाँच जनालाई बेग्ला बेग्लै भोटिङ कोड निर्धारण गरिएको छ । मंगलबार साँझ साढे ६ बजेबाट शुरु भोटिङ मंसिर १७ गते सोमबार राति १२ बजे सम्म खुल्ला रहने आयोजक संस्थाले जनाएको छ ।

'देशमा भएको राजनितिक, सामाजिक र संरचनागत परिवर्तनलाई दिगो र परिणममुखी बनाउन त्यस संरचनामा काम गर्ने व्यक्तिको महत्वपुर्ण भुमिका रहने भएकोले निष्ठावान व्यक्तिको खोज गरी उनिहरूले अंवलम्बन गरेका मुल्य र मान्यतालाई संस्थागत गर्न कार्यक्रम शुरु गरेका हौं' अधिकारीले भने, 'यस्ता ब्यक्ति अरुका लागि उदाहरण र दिगो परीवर्तनको मानक बन्न सक्छन् भन्ने विश्वास साथ नेपालबाट यो अभियान शुरु गरिएको हो ।'

यो अभियान अहिले संसारका विभिन्न आठ मूलुकले अबलम्बन गरेको अधिकारीले बताए ।

प्रतिक्रिया