Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

विद्यालय बन्दै गरेर जुलुश निकाल्ने शिक्षकको तयारी पछि वार्ता समिति गठन

मंगलबार, ११ मंसिर २०७५

काठमाडौं - विद्यालयमा हुने पठन पाठन बन्दै  गरेर जुलुस निकाल्ने तयारी गरेका शिक्षकसँग वार्ता गर्न शिक्षा मन्त्रालयले टोली बनाएको छ । विद्यालय बन्दै गरेर जुलुश निकाल्ने गरी नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनको दिन आउन तीन दिन बाँकी छँदा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा टोली बनाएका हुन् । देशको समग्र शैक्षिक विकास तथा पेशागत माग सहित गत जेठ १७ गतेबाट महासंघले शुरु गरेको आन्दोलन अन्र्तगत तेश्रो चरणमा यही १४ गते विद्यालय बन्द गरेर धर्ना र जुलुश गर्ने महासंघले घोषणा गरेको थियो । 

विज्ञान सम्बन्धि अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिन जाने दिन मन्त्री पोखरेलले हतार हतार उक्त टोली बनाएका हुन् । १४ गते सम्म हुने उक्त सम्मेलनमा भाग लिन पोखरेल मंगलबार अष्ट्रियाको भियाना तर्फ हिँडेका छन् । उता जानु अघि गठित टोलीमा मन्त्रालयका सहसचिवहरु बैकुण्ठ अर्याल, बाबुराम पौडेल, सुर्यप्रसाद गौतम र कृष्णप्रसाद काप्री सदस्य छन् । 

सरकारले यस अघि पनि महासंघसँग थुपै्र पटक सहमती गरेर कार्यान्वयन नगरेको ईतिहास रहेकाले कार्यान्वयनमा प्रष्टता विना टोलीको औचित्य पुष्टि नहुने महासंघका अध्यक्ष बाबुराम थापा बताउँछन् ।

'हामीसँग वार्ता गर्न टोली गठन गरेको निर्णय प्राप्त भएको छ, तर मुख्य कुरा यस्ता टोली यस अघि पनि बनेकै हुन् अहिले कसरी अघि बढ्छ एक चरण छलफल नगरी भन्न सकिने भएन' उनले भने, 'हाम्रा माग शिक्षा मन्त्रालयसँग मात्रै भन्दा पनि राज्य सँग हो, वार्तामा अर्थ, संघीय जस्ता मन्त्रालयका प्रतिनिधिको सहभागिताको पनि खाँचो छ, एक पटक बसेर छलफल गरेपछि मात्रै हाम्रो थप कुरा बताउँला ।'

मंसिर १४ गते महासंघले काठमाडौं, भक्तपुर र ललितपुरका सबै विद्यालयमा पठन पाठन बन्द गरी सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई जुलुश र विरोध सभामा उपस्थित हुन सर्कुलर गरेको छ । प्रदेश ३ का उपत्यका बाहेकका सबै जिल्लाबाट कम्तीमा २ सय शिक्षक तथा विद्यालय कर्मचारी उपस्थित गराउने उसको योजना छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश का प्रत्येक जिल्लाबाट १ सय ५० शिक्षक तथा विद्यालय कर्मचारी उपस्थित गरी संघीय राजधानीमा प्रदर्शन गर्ने महासंघको तयारी छ । 

महासंघले विभिन्न २६ बुँदे माग राखेर आन्दोलन गर्दै आएको छ । 

प्रतिक्रिया