Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

सुनसान कक्षा कोठा, जिम्मेवारीबाट च्युत शिक्षक !

शुक्रबार, १४ मंसिर २०७५

काठमाडौं - कुनै चार्डवार्ड हैन, कुनै सार्वजनिक विदा पनि छैन !

तर, शुक्रबार उपत्यकाका सामुदायिक विद्यालयको पठन पाठन बन्द भयो !

उपत्यकाका केही विद्यालयमा पुग्दा भेटिएका चौकिदारहरु मध्ये कसैले सर मिस विद्यार्थी सहित पिकनिक मनाउन गएको बताए भने कसैले किन विद्यालय बन्द भएको आफूलाई थाह नभएको बताए । 

विहान १० बजे एडुखबर प्रतिनिधि पुग्दा ललितपुर सानेपा स्थित टीका विद्याश्रम सुनसान थियो । आफूलाई विद्यालयको चौकिदार बताउने कृष्णबहादुर सिलवालले को हो ? किन आएको ? भन्दै केरकार गरे । हामी पुग्दा उनी कपडा धोईरहेका थिए । 

कक्षा कोठाहरु सुनसान थिए । 

'सर मिसहरु पिकनिक खान जानु भएको छ, तपाईलाई किन चासो पर्यो ?' उनले भने, 'विद्यार्थीहरु पनि संगै गएका छन् भयो अब ?' 

यस्तै ललितपुरकै त्रिपद्म विद्याश्रममा पनि कक्षाकोठा सुनसान थियो । प्राचार्य टीकाराम तिम्सीनाको कार्यकक्ष अघिल्तिरको नेम प्लेटमा ब्यस्त लेखिएको थियो । 

तर उनी कार्यकक्षमा थिएनन् । आफूलाई विद्यालयको कर्मचारी बताउने एक महिलाले भनिन् - 'सर खाना खान जानु भएको छ ।'

विद्यालय बन्द गर्नाको कारणबारे आफूलाई थाह नभएको उनको भनाई थियो ।

ललितपुरकै मदन स्मारक माध्यमिक विद्यालयको ढोकामा ताल्चा मारिएको थियो । विद्यालयको मुल गेटकै छेउमा जोडिएको छाप्रोको ढोकामा उभिएकी एक महिला हामीलाई देखे पछि  'स्कुल बन्द छ' भन्दै हतार हतार छाप्रो भित्र पसिन् । 

काठमाडौंको कंकालिनी माध्यमिक विद्यालयका प्राचार्य विष्णु पनेरुले अधिकारका लागि विद्यालय बन्द गरेरै सबै शिक्षक सहित आफूहरु सडक संघर्षमा उत्रिएको भन्दै 'गौरव' ब्यक्त गरे । 

कक्षा कोठा सुनसान पारेर शिक्षकहरु सडकमा उत्रिए पछि उपत्यकाका तीनै  जिल्लाका ६ सय १६ सामुदायिक विद्यालयका २ लाख धेरै विद्यार्थीको पढ्न पाउने हक खोसिएको छ । नेपाल शिक्षक महासंघले आन्दोलनमा आउन 'उर्दी' गरे पछि विद्यालय बन्द गरेरै शिक्षकहरु सडकमा उत्रिएका हुन् । 

पढ्नुहोस् : शिक्षकको प्रदर्शनमा रोक, सरकार विरुद्ध कटाक्ष

अधिकार स्थापित गर्ने भन्दै शक्ति प्रदर्शन गर्न महासंघले देशैभरीबाट शिक्षकलाई काठमाडौंमा उतारेसँगै झण्डै ७० लाख बढी विद्यार्थीको पढ्न पाउने हक खोसिएको हो ।  

पढाउनु पर्ने शिक्षक नै कक्षा कोठा सुनसान पारेर हिँड्नुलाई शिक्षाविद् केदारभक्त माथेमा शिक्षकहरु आफ्नो 'जिम्मेवारीबाट च्युत' भएको रुपमा बुझ्नु पर्ने बताउँछन् । 

'विद्यार्थी पढाउने कामबाटै उनीहरु शिक्षक भएका हुन्, तर पढाउनै छाडेर हिँडेपछि कसरी शिक्षक भन्ने ?' प्रश्न गर्दै उनले भने 'आफ्नो अधिकारको कुरा गर्नेले कुनै दोषै नभएका विद्यार्थी माथि अन्याय गर्न सुहाउँछ ?'

शिक्षकलाई राजनीतिक दलले गर्ने संरक्षण र उनीहरुको दलगत आवद्धता नरोके सम्म सामुदायिक विद्यालयको सुधार नहुने उनको निष्कर्ष छ । सार्वजनिक शिक्षाको आरोलो यात्रामा शिक्षकका यस्ता हर्कतले झन् मलजल गरेको भन्दै उनले चिन्ता ब्यक्त गरे । 

शिक्षक महासंघको मागका बारेमा छलफल गर्न भन्दै शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा मन्त्रालयले गत मंगलबार वार्ता टोली बनाएको छ । 

पढ्नुहोस् : विद्यालय बन्दै गरेर जुलुश निकाल्ने शिक्षकको तयारी पछि वार्ता समिति गठन

उक्त वार्ता टोलीसँग छलफल हुँदा हुँदै पनि विद्यालय नै बन्द गरेर आन्दोलन गर्नुलाई शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ प्रसाद अर्याल 'दु:खदायि कदम' भन्छन् । 

'वार्ता टोली बने पछि केही चरण अनौपचारिक कुराकानी भए, यो क्रम जारी नै छ'  उनले भने 'छलफल भईरहेकै अवस्थामा विद्यालयको पठन पाठन नै बन्द गरेर आन्दोलनमा उत्रिनु राम्रो भएन ।' 

तर, सरकारले यस अघि पनि महासंघसँग थुपै्र पटक सहमती गरेर कार्यान्वयन नगरेको ईतिहास रहेकाले कार्यान्वयनमा प्रष्टता विना उक्त वार्ता टोलीको औचित्य  नहुने महासंघका अध्यक्ष बाबुराम थापा बताउँछन् ।

'हामी विद्यार्थीको पठन पाठन प्रति संवेदनशील हुँदा हुँदै पनि राज्यले हाम्रा मागमा वास्ता नगरे पछि बाध्य भएर यस्तो कदम उठाउनु परेको हो, हिजो भनेर आज विद्यालय बन्द गरिएको हैन, हाम्रा माग पुरा गराउन हामीले गत असोज १६ गते नै यो आन्दोलनको घोषणा गरेका हौं' थापाले भने, 'तर सरकारले सुनेन र हामी बाध्य भयौं, आजको विद्यालय बन्दको सोध भर्ना २९ गते शनिबार पठन पाठन गरेर गर्ने छौं ।'

देशको समग्र शैक्षिक विकास तथा पेशागत माग सहित गत जेठ १७ गतेबाट शुरु आन्दोलनको तेश्रो चरण अन्र्तगत महासंघले शुक्रबार विद्यालय नै बन्द गरेर प्रदर्शन गरेको हो । महासंघले विभिन्न २६ बुँदे माग राखेर आन्दोलन गर्दै आएको छ । संविधानले विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत गरेसँगै महासंघ विरोधमा उत्रिएको हो । 

स्थानीय सरकारमा रहेका प्रतिनिधिले आफ्ना गाउँ ठाउँका समस्या र अवस्था बुझ्ने भएकोले विद्यालय शिक्षा स्थानीय सरकारकै ब्यवस्थापनमा प्रभावकारी हुने सार्वजनिक शिक्षाका पक्षधरहरुको तर्क छ । स्थानीय सरकारले आफ्ना क्षेत्रका सार्वजनिक विद्यालय सुधार गर्न र पठन पाठनमा ध्यान नदिने शिक्षकहरुलाई 'कडिकडाउ' गर्न थाले पछि उनीहरु आन्दोलनमा उत्रिएको उनीहरुको आरोप छ । 

प्रतिक्रिया