Edukhabar
मंगलबार, ११ बैशाख २०८१
विचार / विमर्श

अस्थायी शिक्षक नतिजाको असर : फेल भएको मानसिकता बोकेर कसले देखाउला जाँगर !

सोमबार, १७ मंसिर २०७५

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षाको नतिजा प्रकाशन प्रारम्भ गरे सँगै केही प्रश्न उब्जिएका छन् । 

त्यो भन्दा पहिले यसको पृष्ठभूमीका कुरा गारैं । 

आयोगले यहि मंसिर १० गतेबाट निम्न माध्यमिक तहको विज्ञान, गणित तथा गणित विषयको नतिजाबाट स्थायी शिक्षकको परीक्षाको नतिजा सार्वजनिक गर्ने कार्य सुरु गरेको छ । आयोगले क्रमशः सबै विषय र तहको नतिजा बाहिर सार्वजनिक गर्ने क्रम जारी नै छ । 

२०४९ साल श्रावण २० गतेभन्दा अगाडिको नियुक्ति, त्यसैगरी मिति २०६१ साल मंसिर २१ भन्दा अगाडि र सोदेखि मिति २०७२ साल असोज ३ गतेसम्म नियुक्ति भएकाहरुको तीन वर्गमा बाँडेर आयोगले अस्थायी शिक्षकको विज्ञापन गरेको थियो । लामो समयदेखि अस्थायी शिक्षक पेशागत स्थायित्वको माग लिएर आन्दोलनरत रहेकै सन्दर्भमा परीक्षाको मिति तोक्दै सार्ने, स्थगित गर्ने काम पनि बारम्बार भएका हुन् । अदालत पनि नपुगेको होइन । दलका नेतृत्व देखि सरकारका उच्चपदस्थ व्यक्तित्वसम्म अनेकौं पटक डेलिगेशन गएर हार गुहार मागेको तथ्य छर्लङ् छ । 

सरकारी अंगबाट यो विषयलाई हल्का तबरले लिने हेप्दै पेल्दै जानेक्रम भएकै हो । सेवा प्रवेशमै परीक्षा लिएर स्थायी शिक्षक मात्र कक्षा कोठामा प्रवेश गराउनु पथ्र्यो, तर त्यता ध्यान कसैको गएन वा गम्भीर भएनन् । अहिले शिक्षण पेशामा तीस वर्ष सेवा गरेका शिक्षकलाई फेल भइस् भनियो । कमजोर, असक्षम, अयोग्य हो भने तत्कालै विदा गर्नु पथ्र्यो । अयोग्य र असक्षमले पढाएका विद्यार्थीचाहिँ योग्य र सक्षम बन्दै तिनै शिक्षकको परीक्षा लिने ठाउँमा पुगे र आज फेल  भएको नतिजा प्रकाशन गरे । यो शिक्षा क्षेत्रको एक विडम्बना नै हो । ऐतिहासिक कमजोरी स्वीकार्नै पर्छ । असक्षमले पढाएकोचाहिँ सक्षम र योग्य बन्ने ऊ स्वयम् अयोग्य सावित गर्ने अवस्था साँच्चै गम्भीर बनेको छ । 

उक्त परीक्षामा सहभागी नहुने र अनुत्तीर्ण हुनेलाई गोल्डेन ह्याण्डसेकको प्याकेज भनिएको छ । प्रदान गरिने रकमको मापदण्ड पनि बाहिर आएको छ । आखिर यी अस्थायी शिक्षक घर पठाउँदा ठूलो बजेट त जरुरी पर्छ नै, सँगै ती रिक्त स्थानमा नयाँ स्थायी शिक्षक आउन स्वभाविक समय पनि लाग्छ । फेल हुनेलाई निराशा, अल्छीपन, बेवास्ता र भविष्यको चिन्ताले बीचको समयको शैक्षिक गतिविधि प्रभावित बन्छ नै । 

नतिजा प्रकाशन प्रारम्भ भयो । सकिँदा महिना जान्छ । अनुत्तीर्णको ठाउँमा खुल्लाबाट स्थायी आउन लगातार काम हुँदा पनि छ महिना भन्दा बढि समय लाग्न सक्छ । अस्थायी सबै विषय र तहको नतिजा पश्चात् अन्तरर्वार्ता सकेर मात्र आयोगले खुल्लाको काम गर्न सक्छ । यसरी बीचको अवधि कार्यरत अस्थायी (जो २०४९ अघि र २०६१ अघिका विज्ञापनमा अनुत्तीर्ण भएका संख्या धेरै पाइन्छ) बाट कक्षाको शिक्षण सिकाइ क्रियाकलापमा पर्ने नकारात्मक प्रभावबारे आयोग गम्भीर बन्न नसकेको तथ्य स्पष्ट छ । केहि ढिलो गरेर भए पनि यो नतिजा अस्थायी र खुल्लाको एकैसाथ भएको भए एक महिनामा स्थायी सेटिङ हुन सम्भव थियो । तर त्यो अहिले अर्थ छैन । अनुत्तीर्ण शिक्षक घोषणा हुनु अघि सास छउञ्जेल आस थियो । तर त्यो सम्भव नभए पछि अब फेल भएको मानसिकता बोकेर कुन शिक्षकले जाँगर देखाउन तयार होलान् ? अनि शैक्षिक स्तर उच्च आउने सपना पूरा होला ?

कतिपय त यो नतिजा पश्चात् बिदा लिने वा अन्य बहानामा विद्यालय नजाने पनि हुन्छन् । चोकमा, टोलमा, गाउँमा, होटलमा फलानो त फेल भएछ नि भनेर गफ गर्दै त्यस्ता फेल हुनेले के सिकाउला भनेर समय बर्बाद गर्नेहरु हाम्रो समाजमा धेरै छन् । हिजो सम्म तिनैले पढाएको प्रशंशा गर्नेहरु आजबाट कुरा काट्ने र तिरस्कारको दृष्टिले हेर्नेमा रुपान्तरित भएका छन् । यो पीडा र मर्का बुझ्ने अंग वा व्यक्ति यहाँ भएको भए आज शिक्षक र शिक्षाले यो दुरावस्था भोग्न, देख्न पर्ने थिएन । गलत शिक्षा प्रणालीको परिणाम नेपाली शिक्षक र नेपालको शिक्षाले बेहोरिरहेको पृष्ठभूमिमा एकपटक थोरै हलचल यो नतिजाबाट हुन्छ नै । 

अनुत्तीर्ण शिक्षकलाई तपाईं बुझ्नोस् परिस्थिति यो छ, भनेर सम्झाउने प्रयत्न गर्ने हो भने म अनुत्तीर्ण शिक्षकलाई अब के आधारमा कक्षा कोठामा पढाउने त, म घरै बस्छु, मैले पाउने भनेको, सुविधा उपलब्ध हुनुप¥यो भन्दा त्यसको उपलब्धता गराउने अंग स्पष्ट छैन । नतिजा थाहा पाए, फेल भए, म अब पढाउन आउँदिन भन्दा सम्बन्धित शिक्षकले त बाटो पाउँछ, तर स्कूल र विद्यार्थीको अवस्थाबारे शिक्षा मन्त्रालयले र शिक्षक सेवा आयोगले तत्काल विकल्प सोच्नु पर्दैन ? यो वर्तमानको गम्भीर समस्या हो । उक्त दरबन्दीको रकम अनुदान निरन्तर दिएर स्थायी शिक्षक आउनुअघि व्यवस्थापनको जिम्मा स्कूललाई दिएर मात्र नतिजा प्रकाशन गरेको भए अलि व्यवहारिक बन्न सक्थ्यो । यी सबै समस्याको उत्पादन सरकारले नै गरेकाले समाधान पनि त्यहिँबाट हुनुपर्छ भन्नेमा विमति नहोला । प्रतिस्पर्धा गराउने, सबै स्थायी गराएरमात्र कक्षामा पठाउने सवालमा अन्यथा छैन । तर, वर्षौंसम्म जकडिएको अस्थायी शिक्षक समस्या हल गर्ने नाममा उत्पन्न शैक्षिक अस्तव्यस्तता अर्को समस्या हो नै । 

उत्तीर्ण नभएकाले क्रमशः विकल्प रोज्दै व्यक्तिगत जीवन बिताउने अन्य उपाय सोचिसकेको हुनु पर्दछ । तर, विद्यालयले त अस्थायी शिक्षक फेल भएर पर्ने असरबारे कुनै योजना बनाएर बसेको छैन । एउटै स्कूलमा कतै दुई चार जना नै फेल भएका छन्, जसको असर हिजो आज सुरु भइसकेको छ । विद्यालयस्तरको शिक्षामा सरकार आलोच्य रहेको स्थितिमा यो अर्को ईंट्टा थपिएको छ । हामी स्तरीय शिक्षा चाहन्छौं । प्रभावकारी कक्षा शिक्षण चाहन्छौं । सँगै विद्यार्थीको बहुआयामिक विकासको अपेक्षासमेत हामीले विद्यालयबाट गरेका छौं । तर सोका लागि आवश्यक शिक्षकसहितको अन्य वातावरण निर्माण गर्नलाई ज्यादा कम ध्यान गएको छ । शिक्षक सेवा आयोग यो शीर्षकमा गम्भीर बन्न जरुरी थियो । 

पुरानो अस्थायी शिक्षकलाई विषयगत माथिल्लो स्तरको प्रश्नभन्दा पनि शिक्षण विधिसँग सम्बन्धित प्रश्न बढी सोध्नुपथ्र्यो, जसले गर्दा शिक्षण क्रियाकलाप केन्द्रित प्रश्नले पुराना शिक्षकलाई समेट्न सक्थ्यो । यस्ता विषयगत प्रश्नहरु अर्थात् निमावि तहका शिक्षकलाई बीएससीका किताबबाट प्रश्न सोध्दा फ्रेस उम्मेदवारलाई त सहज बन्छ नै तर पुरानाको हकमा उपउक्त थिएन । यसको अर्थ विषयगत ज्ञानको प्रश्नै नसोध्ने भन्ने होइन र्। शिक्षण क्रियाकलापमा शिक्षण विधिले धेरै महत्व राख्दछ । अर्कोतर्फ शिक्षक सेवा आयोगले पछिल्लो विज्ञापनमा समेत आधारभूत तहका लागि प्राथमिक स्तर र निमावि स्तर गरेर क्रमशः एसएलसी वा एसईई र कक्षा १२ उत्तीर्ण अनि माध्यमिक तहका लागि स्नातक उत्तीर्ण भनेर शैक्षिक योग्यता किटानी गरेको सन्दर्भले त झनै अन्यौल र रहस्यपूर्ण आयोगको क्रियाकलाप सावित हुन्छ नै । यस्तो विरोधाभाष परीक्षा शैली अनि पछिल्लो निर्णय भन्दै स्नातकोत्तर उत्तीर्णमात्र माध्यमिक शिक्षक बन्न सक्ने, स्नातक तह नभई आधारभूत तहको शिक्षक नहुने र प्राथमिक तहका लागि कक्षा १२ उत्तीर्ण हुनैपर्ने भन्ने रटान बाहिर ज्यादा आएको सन्दर्भ यो पृष्ठभूमिमा बिर्सन मिल्दैन । 

बढी वा उपल्लो शैक्षिक योग्यता, सक्षम शिक्षक सबैको चाहना हो र हुनुपर्छ । यसको मतलब हालका शिक्षक अयोग्य र असक्षम भन्न मिल्दैन । एकाध उदाहरणले समग्रको प्रतिनिधित्व हुनै सक्दैन । यद्यपि राम्रो वा नराम्रो, सकारात्मक वा नकारात्मक दुबै पक्षलाई यथार्थको कसीबाट सावित गर्नैपर्छ । जसले केही समय लिए पनि नतिजामा विश्वसनीयता प्रदान गरोस् । तीन घण्टाको लिखित परीक्षा नै एउटा शिक्षकको आम क्षमताको वास्तविक मूल्यांकन गर्न पर्याप्त कदापि हुँदैन ।

यो मूल्यांकन, जसलाई पेपर पेन्सिल टेष्ट विद्यार्थीको हकमा समेत पूर्ण सफल नभएको बारम्बार बाहिर आएको छ । यसरी परीक्षा प्रणाली, प्रश्नको क्षेत्र, परीक्षण विधि, नतिजा प्रकाशनसम्मको अवस्था आलोचनारहित बन्नुपर्छ । विशुद्ध हुनुपर्छ । विश्वसनीयताको सुनिश्चितता गरिनु पर्दछ । अस्थायी शिक्षक हाल पढाइरहेका विद्यालयमा शैक्षिक क्रियाकलापमा दैनन्दिन संलग्न भएकाहरुको नतिजामा गम्भीर बन्न जरुरी छ, जसको कारणले नतिजा पश्चात् विद्यालयको पठनपाठन क्रियाकलाप कुनै पनि अवस्थामा प्रभावित नहोस् भन्नेतर्फ सम्बन्धित आयोग, शिक्षा मन्त्रालय एवम् सरोकार वर्ग सजग हुनैपर्छ । विद्यार्थीको भविष्य प्रति अर्थात् सिक्ने, पढ्ने अधिकारमा कहिँ कतैबाट खेलवाड नहोस् भन्नेमा जिम्मेवार पक्षले जिम्मेवारीपन कायम गर्न जरुरी पर्दछ । 

प्रतिक्रिया