Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

उठबस गराउँदा विद्यार्थी बेहोस

बुधबार, १९ मंसिर २०७५

काठमाडौं १९ मंसिर / ललितपुर, प्युटारस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएनन् । मंगलबार आए तर असहज मान्दै । कारण खोतल्दा थाहा भयो– गणित शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलाई १८० पटक उठबस गर्न लगाएछन् ।

१५० पल्टसम्म उठबस गरेका दर्शन त्यसपछि बेहोस भए । यो थाहा पाएलगत्तै प्रधानाध्यापक ठाकुर लामा दौडँदै पुगे । कसैले दर्शनलाई हम्किन थाले, कसैले पानी छम्किए । झन्डै आधा घण्टापछि उनको होस फिर्‍यो । हाफ छुट्टीमा दर्शनलाई नजिकैको स्वास्थ्यचौकी लगियो ।

 विद्यालयले घटना गुपचुप राख्न खोज्यो । अभिभावकलाई जानकारी नै गराएन । होमवर्क नगरेकामा सजाय पाएकाले दर्शनले घरमा पनि केही भन्ने आँट गरेनन् । बाबु टुकनाथले भोलिपल्ट छोराको साथीबाट यसबारे थाहा पाएका थिए ।

टुकनाथका अनुसार घरमा बिहे भएकाले छोरा दुई दिन बिदा बसेर १३ गते विद्यालय गएका थिए । त्यसैले उनलाई गृहकार्यबारे थाहा थिएन । तर शिक्षक शाहले गृहकार्य खोइ भन्दै कान समातेर उठबस गर्न लगाए । टुकनाथले भने, ‘१५० पटक गरेपछि बेहोस भएको उसका साथीले बताए ।’ कान्तिपुरसँग सम्पर्कमा आएका दर्शनका सहपाठीका अनुसार उनी कालोनीलो भई ढलेका थिए ।
विद्यालयले घटना सामान्य भएको दाबी गरेको छ । ‘कमजोर विद्यार्थी थिए । उठाउँदा ढलेछन् । कुरा बुझ्नुस न त्यही हो कुरा,’ प्रधानाध्यापक लामाले भने । उनले विद्यार्थीलाई उठबस नगराइएको, सामान्य रूपमा उभ्याउँदा नै बेहोस भएको दाबी गरे ।

विद्यालय रहेको वाग्मती गाउँपालिका–४ का वडाध्यक्ष नारायण घलेले उक्त घटनाबारे शिक्षक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसँग जानकारी मागिएको बताए । उनका अनुसार शिक्षक शाहले सजाय दिनु गल्ती भएको स्विकार्दै सुध्रिन तयार रहेको बताएका छन् । ‘शिक्षक सम्बद्ध परिवारसँग माफी माग्न र विद्यार्थीको उपचार खर्च बेहोर्न तयार छन्,’ उनले भने, ‘आइन्दा यस्तो काम दोहोरिनु हुँदैन ।’

घटनापछि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र अभिभावकले सर्वपक्षीय सहमति गरेका छन् । टुकनाथका अनुसार सोमबार मात्रै विद्यालयमा सबै पक्ष बसेर सहमतिको कागज गरिएको हो । उपचारमा लागेको ५ हजार खर्च शिक्षकले बेहोर्ने, आगामी दिनमा शिक्षकले सजाय नदिने र अभिभावकले विद्यार्थीलाई नियमित विद्यालय पठाउने गरी सहमतिको कागज भएको प्रधानाध्यापक लामाले बताए ।

विज्ञहरूका अनुसार सात/आठ कक्षामा पढ्ने विद्यार्थीको मांसपेशी बलियो भइनसक्ने हुनाले उनीहरूलाई शारीरिक व्यायामका नाममा धेरै उठबस गराउनु हुँदैन । ‘आठ कक्षामा पढ्ने विद्यार्थीका निम्ति औसतमा २० पटकभन्दा धेरै उठबस गराउनु घातक हुन सक्छ,’ खेलकुद प्रशिक्षक दीपक श्रेष्ठले भने, ‘व्यायाम गराउँदा पनि शरीरको क्षमताले धान्नेभन्दा धेरै पटक उठबस गराए शारीरिक विकासमा असर पर्छ ।’

कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन् । 

प्रतिक्रिया