Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

पालिकाका सबै विद्यालय सेनिटरी प्याडयुक्त

बुधबार, १९ मंसिर २०७५

पोखरा - पोखरा महानगरपालिका भित्र रहेका सबै विद्यालयलाई सेनिटरी प्याडयुक्त बनाईने भएको छ । महिनावारीकै कारण छात्राहरु विद्यालय नजाने र गए पनि उचित वातावरण र आवश्यक सेनिटरी प्याडको अभावले असहज हुने क्रमलाई रोक्न महानगरले यो अभियान शुरु गरेको हो । 

महिनावारीकै कारण छात्राहरुलाई परेको मनोवैज्ञानिक असर कम गर्न उक्त अभियान शुरु गरेको महानगरका प्रवक्ता एवं वडा ५ का अध्यक्ष धनबहादुर नेपालीले बताए । 

'खास ठूलो कुरा त हैन यस्तै साना काम नभएर धेरै समस्या भएको पायौं त्यसैले यो अभियान वडा नम्बर ५ का आठ विद्यालयबाट शुरु गरिएको हो' उनले भने, 'सुधारका लागि सानो प्रयास काफि हुने रहेछ , हामीले त्यही गरेका हौं ।' 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा वडा शिक्षा समितिको आयोजना तथा वडा कार्यालयको सहयोग र सामाजिक जागरणका लागि नारी अभियानको पहलमा वडा नं ५ का २ वटा सामुदायिक र ६ वटा निजी गरी सबै विद्यालयमा प्याड उपलब्ध गराईएको छ । 

आफ्ना क्षेत्रका सबै शैक्षिक संस्थाका शौचालयमा सेनिटरी प्याड बक्स राख्ने उनले बताए । यसका लागि वडाले ३० हजार रुपैंया रकम विनियोजन गरेको छ । यसलाई महानगरका सबै विद्यालयमा पुर्याउने लक्ष्य र योजना साथ काम भईरहेको नेपालीले बताए । पोखरा महानगर भित्र २ सय ७ सामुदायिक र १ सय ८८ निजी विद्यालय छन् ।  

प्रतिक्रिया