Edukhabar
विहीबार, १३ बैशाख २०८१
विचार / विमर्श

जहाँ विद्यार्थी छैनन् त्यहीँका शिक्षकको प्रमोशन !

शुक्रबार, २१ मंसिर २०७५

सामुदायिक विद्यालयको विश्वास जगाउनु छ भने पहिलो चरणमा हामी शिक्षकका छोरा छोरी हाम्रै विद्यालयमा राख्नु पर्ने रहेछ । यसो नगर्दासम्म अभिभावकले हामीलाई विश्वास गर्दो रहेनछ । यो हाम्रो अनुभव हो । 

हिजो हाम्रो स्थिती हरेक बर्ष ७०–८० जनाका दरले विद्यार्थी घट्दै गएको अवस्था थियो । २ सय ५० विद्यार्थी पुगेको अवस्थाबाट बल्ल हाम्रो चेतना खुल्यो । अब हामीले हाम्रा सन्तान यहीँ पढाउँ भने पछि बर्षै पिच्छे विद्यार्थी संख्या बढ्दो छ । अहिले हाम्रो विद्यालयमा ३५ सय धेरै विद्यार्थी छन् । गत बर्ष एसईई परीक्षा दिने विद्यार्थी २ सय ४५ थिए । यस पालि २ सय ४३ जनाले दिदैं छन् । हामीसँग प्री प्राईमरीमा ३ सय २८ जना विद्यार्थी छन् । 

दोश्रो चरणमा शैक्षिक क्षेत्रमा काम गर्ने उच्च अधिकारीका सन्तान पनि सामुदायिक विद्यालयमै राख्नु पर्छ । यसले अझै बल पुग्छ । किन भने हामी सार्वजनिक शिक्षाको बहस गर्छौ, भाग लिन्छौं तर हाम्रा छोरा छोरी निजीमा राख्छौं । अनी जनताका छोरा छोरीको पढाई बिग्रियो भने उहाँहरुलाई छुँदैन । आफ्ना छोरा छोरी जहाँ पढ्छन् अभिभावकलाई त्यसको चिन्ता हुँदो रहेछ । त्यसैले नेपाल सरकारका मानो खाने सबैले आफ्ना छोरा छोरी सामुदायिक विद्यालयमा भर्ना गर्ने हो भने सामुदायिक विद्यालयको चिन्ता आफैं सल्टेर जान्छ । 

कतिपय अवस्थामा विद्यालयमा विद्यार्थी संख्या घट्दो छ शिक्षकको प्रमोशन भएको भयै छ ! विद्यालयमा विद्यार्थी छैन, उसले पढाउनै पर्दैन तर शिक्षक फस्र्ट क्लासमा छ ! हरेक बर्ष शैक्षिक योग्यता बढाउन सरकारी मानो खाएर पढ्न पाएको छ । विद्यार्थी भएका विद्यालयका शिक्षकलाई कार्यालय धाउने पनि फुर्सद छैन, योग्यता बढाउन पढ्ने पनि फुर्सद छैन । जोत्ने गोरु जत्तिकै जोतिएका छन् । उसको प्रमोशन छैन,  नजोतिनेहरु सरकारी मनो खाँदै दिनभरी पढेर शैक्षिक योग्यताका आधारमा प्रमोशन हुँदै छन् । 

त्यसैले नतिजाको आधारमा प्रमोशन हुने प्रणाली भयो भने राम्रो हुन्छ । शिक्षा आयोगले यस तर्फ ध्यान दिनु जरुरी छ । 

यस्तै अर्को सवाल बाल शिक्षाका स्वयंसेवकको हो । अहिले सम्मको योग्यताका आधारमा कति जना आठ कक्षा पास मात्रै पनि छन् । नयाँ नियम ल्याउँदा निश्चित समय अवधि तोकेर उहाँहरुलाई पढेर आफ्नो शैक्षिक योग्यता बढाउने अवधि र अवसर दिनु पर्छ । हचुवाका भरमा आठ कक्षाका आउट, दश कक्षाका आउट भनियो भने अन्याय हुन्छ । 

शिक्षक दरबन्दीको मिलानको हकमा पनि केही कुरा छन् । एउटा घटना सुनाउँछु – दरबन्दीका बारेमा जिल्ला शिक्षा कार्यालयमा छलफल चल्दै थियो । एक जना हेडसर आएर मेरो विद्यालयको दरबन्दीका बारेमा यहाँ छलफल गर्नु पर्दैन, म सिधै मन्त्रालयबाट ल्याउँछु, मलाई हतार छ म हिँडे भनेर चेतावनी साथ हिँड्नु भयो । अरु साथीहरुले भने – उहाँको त मन्त्रालयमा सिधै पहुँच रैछ र ल्याउनु हुन्छ हाम्रो के गर्ने ? शिक्षा मन्त्री चित्रलेखा यादव हुनुहुन्थ्यो । 

मैले यो घटना किन भनिरहेको भने यहाँ शिक्षक दरबन्दी मिलिरहेको छैन ।  शुन्य दरबन्दीले सतप्रतिशत एसईई नतिजा ल्याएको छ । तर एकातिर शिक्षक अर्कातिर विद्यार्थी थुप्रिएको छ । यसलाई हरेक बर्षको शुरुमा नै गत बर्षको बार्षिक परीक्षाको नतिजाको आधारमा विद्यार्थी संख्या अनुसार शिक्षक दरबन्दी मिलानको स्पष्ट ब्यवस्था हुनु जरुरी छ । विद्यार्थीको नतिजा हेर्ने, कसैले भन्नै नपर्ने गरी शिक्षक दरबन्दी ब्यवस्थापन गर्ने नीति अख्तियारी गर्नु आवश्यक छ ।  

प्रजापति भक्तपुर स्थित बागिश्वरी माविका सह प्राचार्य हुन् । प्रस्तुत आलेख बदलिदोँ समयमा शिक्षक व्यवस्थापनका बारेमा एडुखबर डट कम र शिक्षा नीति तथा अभ्यास केन्द्रले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनीद्धारा व्यक्त विचारको मुख्य अँश हो ।  

उक्त कार्यक्रमको खबर पढ्नुहोस् : शिक्षकको ग्रेड थप्न अभिभावक र विद्यार्थीको मतको प्रस्ताव, अस्थायी नराख्न सुझाव

प्रतिक्रिया