खाली खुट्टा विद्यालय जान्छन् चेपाङ


काठमाडौं २२ मंसिर / यसै महिनाको गत १० गते सोमबार चितवनको इच्छाकामना गाउँपालिका–२ कल्याणटारस्थित जनप्रिय माध्यमिक विद्यालयको प्रांगणमा सोही विद्यालय र आसपासका पाँचवटा विद्यालयका विद्यार्थी भेला भएका थिए। भोटेगाउँ, भुलभुले, सरस्वती, वरल्याङ र सिद्धकाली गरी पाँचवटा आधारभूत विद्यालयका विद्यार्थी आएका थिए त्यहाँ। नारायणगढस्थित हंस बहुउद्देश्यीय सहकारी संस्थाको महिला उपसमितिले स्विटर र स्टेसनरी सामग्री वितरण गर्ने भनेकाले ती विद्यार्थी भेला भएका थिए। सहयोगदाता मध्याह्नतिर विद्यालयको प्रवेश गर्दा स्कुलका विद्यार्थी आइसकेका थिए। प्रधानाध्यापक तथा शिक्षकको पनि उपस्थिति भइसकेको थियो।

जाडोयाम सुरु भइसकेपछि चिसो छल्न भनेर पन्जा, टोपी, जुत्ता, मोजालगायत अन्य न्याना र बाक्ला कपडा लगाउने गरिन्छ। तर जाडो बढिसकेको भए पनि त्यहाँ भेला भएका सबैजसो विद्यार्थीका न हातमा पन्जा थिए न टाउकोमा टोपी। उनीहरूका खुट्टामा जुत्ता र मोजा पनि थिएनन्। उपस्थित छात्रहरूले अनिवार्य स्कुले पोसाक सर्ट र पाइन्ट तथा छात्रारूले सर्ट र स्कर्ट मात्र लगाएका थिए। केही छात्राले सुरुवाल पनि लगाएका थिए। चौरमा लामबद्ध भएर उभिएका केही विद्यार्थीका खुट्टा खाली थिए। केही विद्यार्थी चप्पलमा आएका थिए। तीमध्ये केही छात्रछात्राका चप्पलका तुना डोरीले जोडिएका थिए।

खाली खुट्टा विद्यालय आइपुगेका सबैजसो विद्यार्थी चेपाङ समुदायका थिए। इच्छाकामना–२ को भोटेगाउँमा चेपाङ समुदायको मात्र बसोबास छ। गाउँका चेपाङ बालबालिकाका लागि शिशुदेखि कक्षा ३ सम्म पढाइ हुने भोटेगाउँ आधारभूत विद्यालय स्थापना गरिएको छ। गाउँमा त्यो विद्यालय खोलिएको ३० वर्ष पुगिसक्यो। सोही विद्यालयमा पढ्ने कक्षा १ की विद्यार्थी सञ्जु चेपाङ खाली खुट्टामा थिइन्। उनी घरदेखि दुई घन्टा पैदल दूरीको स्कुलमा खाली खुट्टा आइपुगेकी थिइन्। चप्पलबारे सोध्दा उनले लजाउँदै सानो स्वरमा आफूसँग चप्पल नभएको जानकारी दिइन्। सञ्जुसँगै आएका र उनीभन्दा साना तथा ठूला कक्षामा पढ्ने अरू केही विद्यार्थीका खुट्टा पनि खाली नै थिए।

सञ्जु चेपाङ नै नाम गरेकी मैटेसकी अर्की आठ वर्षकी भेटिइन्। उनलाई पनि चप्पलबारे सोधियो। कक्षा २ मा पढ्ने उनी पैसा नभएरै बुवाआमाले चप्पल नकिनिदिएको बताउँछिन्। ‘चप्पल नलगाई हिँड्दा खुट्टा दुख्दैन र ?’ भनी सोध्दा उनले टाउको हल्लाएर ‘दुख्छ नि !’ भन्ने संकेत गरिन्। वरल्याङ आधारभूत विद्यालय कक्षा ३ मा पढ्दै गरेकी छात्रा मनीषा चेपाङका पनि खुट्टामा चप्पल थिएनन्। कक्षा ३ मा जानेबित्तिकै किनेको चप्पल फाटेपछि अर्को किन्न नसकिएको उनले बताइन्। घरपरिवारको अवस्थाबारे चासो राख्दा उनले केही जवाफ दिइनन्। खाली खुट्टा आइपुगेका सबै विद्यार्थीले भीडभाडका कारण लजाएर आफ्ना कुरा खुलाएर राख्न सकेनन्।

भोटेगाउँ विद्यालयकी सहयोगी कार्यकर्ता गीता सुवेदी विद्यालयमा पढ्ने सबै विद्यार्थी लजालु स्वभावको भएको बताउँछिन्। उनका अनुसार ती विद्यार्थी स्कुलमा पनि खुलेर आफ्ना कुरा भन्दैनन्। ‘हामी सधैं भेट हुनेले सोध्दा त केही बताउँदैनन्,’ उनी भन्छिन्, ‘नयाँ मानिससँग त झन् लाज मानेर केही बोल्ने सक्दैनन्।’ उक्त स्कुलमा अहिले ४० जना विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक निमबहादुर बुढाथोकीले जानकारी दिए। स्कुल आउने आधाजसो विद्यार्थी सधैं खाली खुट्टामा हुने गरेको उनी बताउँछन्।

चेपाङ समुदायको मात्र बसोबास गाउँमा बैठक राखेर बालबालिकाको सरसफाइमा ध्यान दिन आग्रह गरिए पनि अभिभावकले त्यसबारे चासो राख्ने नगरेको प्रध्यानाध्यापक बुढाथोकीको अनुभव छ। ‘यस्तै हो दुःखीको बच्चा, पैसा छैन मात्र भन्छन्,’ उनले भने, ‘ज्याला–मजदुरी गरेर कमाएको पैसा घरमा खाद्यान्न जुटाउन र मादक पदार्थ खानमा प्रयोग गर्छन्।’ पहाडी ठाउँ, उकालो–ओरालो र धुलौटे बाटोले गर्दा बालबालिकाका हातखुट्टा फुटेका छन्।

आर्थिक अवस्था कमजोर भएकै कारण कतिपय बालबालिका चप्पल नलगाई विद्यालय आउने गरेको वरल्याङ स्कुलकी प्रधानाध्यापक कमला भण्डारी बताउँछिन्। केही अभिभावकले भने बालबालिकालाई ध्यानै नदिने गरेको उनले देखेकी छन्। ‘लगाउनुपर्छ भन्ने थाहा भए पनि कोही अभिभावकको चप्पल लगाउन दिन सक्ने अवस्था नै छैन,’ उनी भन्छिन्, ‘केही अभिभावक भने जेसुकै होस् भनेर छाडिदिन्छन्, सन्तानको उचित हेरचाह गर्दैनन्।’

चेपाङ र गुरुङ समुदायका बालबालिका त्यस स्कुलमा छन्। केही चेपाङ विद्यार्थी कहिलेकाहीँ र केही भने सधैं खाली खुट्टा विद्यालय आउने गरेको उनले बताइन्। स्कुलमा दिने गरेको खाजाले मात्र आधारभूत तहसम्म विद्यार्थी टिकाइराखेको प्रधानाध्यापकहरू बताउँछन्। आधारभूत तहपछि भने धेरै विद्यार्थीले स्कुल छाड्छन्। आर्थिक अभावमा बाँचेका ती बालबालिका अलि ठूला हुनासाथ कामको खोजीमा अन्यन्त्र जाने गरेको भण्डारी बताउँछिन्।

नागरिकमा सविता श्रेष्ठले लेखेकी छन् ।