Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

कक्षाकोठामा चिसो बढेपछि खुला चौरमै पठनपाठन

शनिबार, २२ मंसिर २०७५

काठमाडौं २२ मंसिर / मध्ये हिउँदसँगै हुम्ला सर्केगार्ड आसपास कर्णाली नदी छेउछाउका विद्यालयहरू खुला चौरमा पठनपाठन गर्न बाध्य छन् । कक्षा कोठामा चिसोको कारण पढाउन र पढ्न नसकिने भएपछि यसरी खुला चौरमा पढाइ गर्न थालिएको छ ।

विद्यालयको सिरानमा अग्लो डाँडा भएको कारण दिउँसो १.०० बजे नै घाम छेकिने भएका कारण दिन ढल्केपछि चौरमा पनि घाम लाग्दैन । त्यस्तो बेला त चौर पनि दाउरा बालेर पठनपाठन चलाउनु परेको बताइएको छ ।

विद्यालयसँंगै जोडिएको खाली जग्गामा पठन पाठन हुन थालेको विद्यालयमा अध्ययनरत कक्षा ८ का छात्र बालकृष्ण फडेराले बताए । कर्णाली नदीको छेउमै रहेको बिद्यालयमा सात वटा भवन भए पनि घाम नलाग्ने भएको कारण सबै कक्षाका विद्यार्थीहरूले खाली जग्गामा पठनपाठन गर्नु परेको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिले नै घाम लागेका बेला खुला चौरमा पठनपाठन गरिने बताएको छ । खुला चौरमा पठनपाठन गर्दा धुलोले भने सताउने गरेको शिक्षकहरूले बताएका छन् ।

बालबालिका र शिक्षकहरूलाई खुला जमिनमा भुँइको चिसो पनि लाग्ने गर्छ । कतिपयले ढुङ्गा राखेर बस्ने गर्छन् तर त्यसरी सबैका लागि ढुङ्गा पाउनु असहज भएको अभिभावक कुलबहादुर महताराले बताउनुभयो । यो विद्यार्थी र शिक्षकको बाध्यता भएको र खाली जग्गामा पढ्नाले पढाइमा समेत असर पारेको उहाँले बताउनुभयो । कक्षा ९ मा अध्ययन गर्ने छोरालाई रुघा लागेर उपचारै गर्न खर्च गर्नु परेको महताराले बताउनुभयो ।

चिसो पढेपछि कात्तिक महिनाबाट कक्षा कोठामा पठन पाठन गर्न छोडिएको सर्केगार्ड गाउँपालिक २ लालि गुराँस मावि लिप्नेका प्रधानाध्यापक काली महताराले बताउनुभयो । कक्षा ६ देखि १० सम्म पठनपाठन हुने विद्यालयमा १० बजे देखि ३ बजेसम्म पढनपाठन भइरहेको भए पनि खुला ठाउँ भएको कारण एउटा कक्षाले अर्को कक्षाको पढाइमा बाधा पर्ने गरेको छ । तर विद्यालयसँग विकल्प छैन्, उहाँले बताउनुभयो । सबै कक्षामा गरी १३५ जना विद्यार्थी छन् ।

विद्यालयमा माध्यामिक तहमा शिक्षकको दरबन्दी पनि छैन । एक जना राहत शिक्षकका भरमा मावि चलिरहेको विद्यालयले जनाएको छ । विद्यालयसँंग भवन धेरै भए पनि कुनै पनि भवनका कक्षा कोठामा घाम छिर्दैन । दिउँसो १.०० बजे पछि घाम नलाग्ने भएका कारण विद्यार्थी र शिक्षकहरूले दाउरा जोहो गरेर बाल्दै पठनपाठन गरिरहनु परेको प्रधानाध्यापक महताराले बताउनुभयो ।

आउँदो वार्षिक परीक्षा पनि खुला चौरमैै सञ्चालन गर्ने विद्यालयले योजना बनाएको छ । विद्यालयको सिरानमा अग्लो डाँडा भएको कारण हिउँदाका दिनमा विद्यालयमा दिनभर घाम लाग्दैन । । घाम नहुँदा दाउरा बालेर भए पनि पढाउनु परेको शिक्षकहरुको भनाइ छ । हुम्ला जिल्लाका कर्णाली नदी छेउछाउका छवटा जति विद्यालयमा हिउँद लागेपछि उस्तै समस्या रहेको छ ।

गोरखापत्रबाट

प्रतिक्रिया